सरकारी चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प पार्ने

सरकारी चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प पार्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २२, २०७५

काठमाडौं । कर्मचारी समायोजनका विषयमा असहमति जनाउँदै सरकारी चिकित्सक आन्दोलित बनेका छन् । समायोजनप्रति असन्तुष्टि जनाउँदै आन्दोलित बनेका सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता र सरकारले गरेको सहमतिविपरीत कर्मचारी समायोजनको सूची प्रकाशित भएको भन्दै सरकारी चिकित्सकहरु आन्दोलित बनेका हुन् । सरकारी चिकित्सक संघ (गोदान)ले समायोजनप्रति असन्तुष्टि जनाउँदै बुधबार आकस्मिक बैठक डाकेको थियो । बैठकले आजबाट आकस्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको थियो । 

संघले गरेको यो आन्दोलनमा नेपाल चिकित्सक संघले पनि समर्थन जनाएको छ । संघले बारा पर्साको हावाहुरी प्रभावित क्षेत्रमा भने सेवा पूर्ववत् रूपमा प्रदान गर्ने विज्ञप्तीमार्फत् जानकारी दिएको छ । 

संघले डाक्टरको दरबन्दी संघअन्तर्गत राख्दै आवश्यकताअनुसार प्रदेश र स्थानीय तहमा खटाउन लगायतका माग राख्दै आएको छ । माग पूरा नगरे सबै डाक्टरले सामूहिक राजीनामा दिने चेतावनी समेत दिएका छन् ।