जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ४५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ४५ जना पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  कार्तिक १६, २०७७

मोरङ, केराबारी गाउँपालिका(६ बस्ने भुपेन्द्र भट्टराईको घरमा तास खेलिरहेको अवस्थामा ५ जनालाई ८ लाख ८९ हजार २ सय ५० रुपैयाँ र १३ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा केराबारी गाउँपालिका-६ बस्ने ६० वर्षीय भुपेन्द्र भट्टराई, ४३ वर्षीय बोधराज मगर, सुनसरी धरान उपमहानगरपालिका - १५ बस्ने ३६ वर्षीय अरूण केसी, ३८ वर्षीय शैलेस भुजेल र सोही उपमहानगरपालिका - ६ बस्ने ३६ वर्षीय हरि खत्री रहेका छन् ।

भुपेन्द्रको घरमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

भक्तपुर, भक्तपुर नगरपालिका -१० कमलबिनायक बस्ने माधव सुवालको घरमा तास खेलिरहेको अवस्थामा माधव लगायत लगायत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

माधवको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९० हजार ५ सय रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो ।

काठमाडौं, काठमाडौं महानगरपालिका - १५ बिजेश्वरीमा तास खेलिरहेको अवस्थामासोही ठाउँ चमति बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका - ७ घर भएका २२ वर्षीय विक्रम लामा समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५३ हजार ५ सय रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

ललितपुर, महालक्ष्मी नगरपालिका(७ चागाथलीस्थित शंखर बस्नेतको घरमा कौडा खेलिरहेको अवस्थामा भक्तपुर सूर्यविनायक नगरपालिका - २ बस्ने ४९ वर्षीय सुरेश पौडेल लगायत १८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त घरमा कौडा खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ११ लाख ५४ हजारौ ५ सय ७५ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।