सडकसँगैको पर्खाल जीर्ण, सवारी चालक जोखिममा

सडकसँगैको पर्खाल जीर्ण, सवारी चालक जोखिममा

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक १६, २०७७

काठमाडाैं । उत्तरवाहिनीबाट दक्षिणढोकासम्मको पर्खालमुनि सडक छ । जहाँबाट दैनिक मोटरसाइकल, साइकललगायत साना सवारी र स्थानीयवासी ओहोरदोहोर गर्छन् । यस क्षेत्रको पर्खाल भने कतै भत्किएको छ भने कतै जीर्ण छ । भत्किएका केही स्थानमा काँडे तार लगाए पनि धेरै स्थानमा खुला छ । खुला स्थानबाट जनावर निस्किएर अन्नबाली खाने, नष्ट गर्ने गरिरहेका छन् ।
     
गोकर्णबाट जोरपाटी निस्कने सडक विस्तार भइरहेकाले धेरैजसो साना सवारी गोकर्णेश्वर मन्दिरबाट माकालबारी निस्कने सानो सडकबाट हिँड्छन् । विस्तार भइरहेको सडक वर्षामा हिलो र हिउँदमा धुलो हुने भएकाले वैकल्पिक सडक रोज्नु परेको मोटरसाइकलमा यात्रा गरिरहनुभएका दिलेन्द्र रायमाझी बताउनुहुन्छ । पर्खालभित्रतिर राजनिकुञ्जमा पक्की सडक छ । वैकल्पिक रुपमा उपयोग गर्ने गरी राज निकुञ्जभित्रको सडक खुलाउन गोकर्णेश्वर नगरपालिकाले पटकपटक माग गर्दै आएको छ ।

जीर्ण हुँदा साना सवारी जोखिममा परेको, भत्किएको स्थानबाट राज निकुञ्जका वन्यजन्तु आई खेतबारीमा लगाएको बाली नष्ट गर्ने गरेको यस क्षेत्रका कृषकको गुनासो छ । नेपाल ट्रष्टको कार्यालयमा यससम्बन्धी गुनासा धेरै पटक गरिएको वडाध्यक्ष श्रेष्ठले सुनाउनुभयो । वर्षौंदेखि जीर्ण बनेको पर्खाल बनाउन कार्यालयको ध्यान नगएको स्थानीयवासी गुनासो गर्छन् । जीर्ण पर्खाल भत्किएकाले दाउरा, रूखलगायत चोर्न राज निकुञ्ज छिर्न पनि सहज भएको छ । नेपाल ट्रष्टको कार्यालयको एकाइ कार्यालय दक्षिणढोकामा छ । जहाँबाट उत्तरवाहिनीतिर पुग्न समय लाग्ने भएकाले पनि निकुञ्जभित्र चोरी गर्न छिर्न चाहनेका लागि सहज भएको छ ।

एकाइ कार्यालयका प्रमुख विष्णुबहादुर बस्नेत पर्खाल भत्किएको विषयमा केन्द्रीय कार्यालयमा वर्षौंअघि देखि नै जानकारी गराउँदै आएको बताउनुहुन्छ । पर्खाल बनाउन चालू आर्थिक वर्षमा ठेक्का भएकाले छिट्टै काम हुने पनि उहाँले सुनाउनुभयो । कार्यालयसँग बजेट भए पनि खर्च गर्ने व्यवस्था नहुँदा पर्खाल बनाउन ढिला भएको उहाँको भनाइ छ ।