भारतीय स्वार्थ र रणनीतिमा : विमानका चालकद्वय जेट उडाउने ‘मुख्य काम’ छाडेर आ-आफ्ना पाङ्ग्रा गुडाउँदै !

लोकसंवाद टिप्पणी

भारतीय स्वार्थ र रणनीतिमा :  विमानका चालकद्वय जेट उडाउने ‘मुख्य काम’ छाडेर आ-आफ्ना पाङ्ग्रा गुडाउँदै !

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १७, २०७७

तत्कालीन एमाले र माओवादी केन्द्रबिचको एकताबाट एसियाको तेस्रो ठुलो नेपाल कम्युनिस्ट पार्टी निर्माण गरिएको दाबी प्रस्तुत ‘गुटहरूको महासङ्घ’ नेकपा साढे दुई वर्षमा ‘गुटगत’ छिनाझपटीका कारण जुट्नै नसक्ने गरी विभाजनको सङ्घारमा  पुगेको छ । 

पार्टी एकता भए पनि विभिन्न कमिटीमा कुन गुटको हाबी हुने विवाद बढ्दै जाँदा अब शीर्ष नेताहरू नै पार्टी विभाजनको प्रस्ताव राख्या राखको अवस्थामा पगेसँगै नेकपाभित्र ठुलो भूकम्पको महसुस हुन थालेको छ । 

आफूहरूलाई जेट विमानका चालक दाबी प्रस्तुत गर्ने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल नै जेट चलाउने ‘मुख्य काम’ छाडेर आ–आफ्ना पाङ्ग्रा गुडाउन थालेपछि नेकपा दुर्घटनातिर लम्किएको हो ।

त्यसमाथि दुई पाइलटको झगडामा एयर होस्टेजहरुको भूमिका नेकपाको विवाद पनि ‘कला विहीन नाटक’ प्रस्तुत  भइरहेको छ।  केही एयर होस्टेजहरु एउटा पाइलटको पाङ्ग्रोमा चढेर आरती उतार्दै अर्को पाइलटलाई राक्षसी करण गरेको दृश्य नेकपाभित्र आम रुपमा देखिने दृश्यहरू हुन । 

शनिवार बालुवाटारमा करिब १२ बजे नेकपा नामको जेट विमानका दुई चालकबिच भेटवार्ता भयो । सो भेटवार्तामा पहिलो पाइलट केपी ओलीले दोस्रो पाइलट पुष्पकमल दाहालसँग राखेको प्रस्तावले भने अब नेकपा सिङ्गो अवस्थामा नरहने स्पष्ट सङ्केत गर्दछ । 

बालुवाटारमा शनिवार बिहान ११ बजे भएको भेटमा ओली र दाहालबिच कर्णालीमा देखिएको विवादबाट बढेको दुरी घटाउने अपेक्षा गरिएको थियो । तर त्यसको ठिक विपरीत ओलीले जेट विमान दुर्घटना गराउने अर्थात् पार्टी नै विभाजन गर्ने प्रस्ताव राखेको विषय बाहिरिएपछि सो पार्टीभित्र खैलाबैला मच्चिएको छ । ओलीले प्रचण्डसँग प्रस्तावै राखेको कुरा दुबै नेता निकटले तँछाडमछाड मछाड गर्दै बाहरि ल्याए । त्यो थियो–‘अब आ–आफ्नो बाटो लागौँ ।’

ओलीको पार्टी फुटाउने यो पहिलो प्रयत्न भने होइन । यसअघि नेकपा सचिवालय बैठक बसिरहेका बेला केही महिनाअघि निर्वाचन आयोगमा नेकपा (एमाले) नामको पार्टी दर्ता भएपछि सो कुराले नेकपा सचिवालयको बैठकको एजेन्डा नै परिवर्तन गरिदिएको थियो । 

साढे दुई वर्षभित्र नेकपाको विवाद कहिले उग्र बन्यो भने कहिले साम्य बन्दै आएको थियो । तर यति बेला नेकपाभित्र देखिने गरी नै दुई फ्याक भएको देखिन्छ । शनिवार प्रचण्डले पार्टीको सचिवालय बैठक बोलाउन र कर्णालीको विषय, अकार प्रमुखसँगको भेटलगायतका विषयमा त्यही छलफल गर्ने प्रस्ताव गरेका थिए । तर ओलीले पार्टीको कुनै पनि बैठक नबोलाउने र पार्टीको निर्णय नमान्ने बताएपछि नेकपाको भविष्य नै सङ्कटमा परेको हो । 

सोही बैठकमा एमाले नामको पार्टी ओलीको निर्देशनमा दर्ता भएको अर्का अध्यक्ष दाहालले बताएपछि ओलीमाथि ‘ठुलै दबाब’ परेको थियो । त्यस्तै ओलीले केही महिना अघि मात्रै पार्टी विभाजन कै लागि सहज हुने गरी अध्यादेश ल्याएर–‘अब आ–आफ्नो बाटो लागौँ ।’ भन्ने सन्देश पटक पटक दिएका थिए । परक यति हो यस पटक प्रस्ताव राखेका मात्र हुन । 

त्यस बेला नै ओली नेकपा विभाजनको अन्तिम तयारीमा पुरा गरिसकेका थिए ।  अहिले अर्का अध्यक्ष प्रचण्डलाई पार्टी विभाजनको औपचारिक प्रस्ताव नै राखेपछि त्यो कुरा पुनः पुष्टि भएको मात्र हो । 

ओली इतरका प्रचण्डसहितका नेताहरू पनि यो पार्टी एकताभन्दा पार्टीभित्र गुटबन्दी र समीकरणको ध्याउन्नमा नै केन्द्रित हुँदै आएका छन् । ओलीले पार्टी विभाजनको प्रस्ताव राख्दा प्रचण्डले भने सचिवालयको बैठक राखेर छलफल गर्ने प्रस्ताव राखेको बताएका छन् । 

११ दिनसम्मको संवादहीनता अन्त्य गर्दै भएको ओली प्रचण्डको भेटले नेकपाभित्र विवादको ‘नयाँ बहस’मा धकेलिदिएको छ । पार्टी एकता भएको साढे २ वर्षसम्म पनि पूर्व माओवादी र पूर्व एमालेका साथै त्यसभित्रका गुट र उपगुटहरू पनि उत्तिकै सक्रिय रहेका छन् । ओलीले यसैलाई आधार बनाएर पूर्वमाओवादी र पूर्व एमाले आ–आफ्नो बाटो लाग्नुपर्ने प्रस्ताव गरेपछि पार्टीभित्रको अन्तर्विरोधले ‘नयाँ रूप’ लिएको हो । 

अर्थमन्त्रीसमेत रहेका महासचिव विष्णु पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अहिलेको अवस्थामा पार्टी विभाजन हुँदा देशलाई घाटा हुने भन्दै सबै नेता–कार्यकर्ताले एकताबद्ध भएर एकीकरणलाई बचाउनुपर्ने बताएका छन् ।

महासचिव पौडेलले भनेका छन्, ‘नेतृत्व तहमा उत्पन्न अन्तर्विरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन । तसर्थ, आपसी अन्तर्विरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरूलाई अनुरोध गर्दछु ।’ 

पूर्व माओवादीका नेता नारायण शर्माले भने ओली र प्रचण्ड दुवैलाई एकपछि अर्को स्ट्याटस लेख्दै अहिलेको सङ्कटको उछित्तो काढेका छन् । पहिलो स्ट्याटसमा उनले लेखेका छन्, ‘अब ओली विजयी हुने एक मात्र बाटो पार्टी विभाजन, सङ्कटकाल घोषणा, राष्ट्रपति शासन, संसद् विघटन र यतिले पनि नपुगे राजालाई नै सत्ता सुम्पेर गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता र समानुपातिक–समावेशिता उल्टाउने अनि प्रचण्डलगायत ओलीसँग बार्गेनिङ गर्ने माओवादी नेता र योद्धाजतीका विचाराधीन भ्रष्टाचार लगायतका मुद्दा लगाउने नै त होला !?’ 

उनले त्यस लगत्तै अर्को स्ट्याटस लेखेका छन् । जसमा उनले नेकपा एकता घोषणाभन्दा एक वर्ष अघिको कुरा स्मरण गराएका छन् । उनले लेखका छन्, ‘एक वर्ष अघि मात्र धोका दिएर प्रधानमन्त्री पद छाड्न नमानेर विगतमा प्रचण्डलाई नै बेइमानी गरेका थिए ! सबैको विश्वास र साथ गर्नु तर बेइमानको नगर्नू भन्छन् ! क्रान्तिकारी विचार, राजनीति र संस्कृति नमिल्दै हतार र हचुवामा एकता गर्दा यहाँलाई नै धोका होला ! विचार गरौँ ! यस्तो एकतालाई विरोध गर्न नसके पनि खुला दिलले समर्थन गर्न सकिन्न’ भनी मैले तत्कालीन माओवादीको उच्च समिति हेड क्वाटर (कार्यालय ) को अन्तिम बैठकमा आफ्नो मत राखेको थिएँ ! तर त्यसको कुनै सुनुवाइ नगरी एकता गरेकोले आज यो परिणाम आउँदा प्रचण्डलाई मेरो कुराको सम्झना भएको होला कि नाइँ ?

साथै उक्त बैठकअघि प्रचण्डसँग अलग्गै गरेको भेटमा ‘विचार र राजनीतिमा सम्झौता गरेर यसरी तल परेर एकता गर्नु भन्दा काङ्ग्रेससँग सहकार्य गरिसकिएको अवस्थामा काँग्रेसले हामी माओवादीलाई एकलौटी सरकार बनाए पनि पाँच वर्षलाई लेखेर दिने बताएकोले त्यसो गर्दा पाँच वर्ष राम्रो काम गरेर देखाउन पाउँदा देश र जनताले धेरै राहत पाउने हुन्छ र पार्टी पनि सफल र सबल बन्छ भन्ने सुझाव दिँदा प्रचण्ड कुरा नसुनेर एकोहोरो एकताको रटानमा लागेको कुराले उहाँलाई पश्चात्ताप बोध भएको होला कि नहोला अहिले ? यति मात्र होइन, यो कुरा हाम्रो अन्तिम दोस्रो बैठकको बेला नेताहरू भेला भइरहँदा महरालाई पनि सुझाएको थिएँ ! त्यसको महराले पनि सुनुवाइ गरेनन् ! अहिले त्यो कुरा महरालाई घाँटी लागेको होला कि नहोला ? ठुलाहरूले आफू धेरै ठुला र जान्ने भएको ठानेर अर्काको कुरा नसुन्दा हुने परिणाम यस्तै हो !’ 

नेकपाका माथिल्ला स्तरका नेताहरूका यी अभिव्यक्तिले अब नेकपा गम्भीर सङ्कटमा छ भन्ने देखाउँछ । दुई अलग पृष्ठभूमि र अलग राजनीतिक विचारधारा र कार्यदिशासहित अघि बढेका पार्टीबिच भएको यो एकता सुरुदेखि नै शङ्काको घेरामा थियो । पार्टी एकतापछि यहाँ पार्टी सङ्गठन चलाउनका लागि कुनै विचार, सिद्धान्त र पद्धतिको निर्माण भन्दा पनि पद्धति मिच्न को अगाडि हुने भन्नेजस्तो उल्टो प्रतिस्पर्धा भयो । जसको परिणाम अहिले देखिन थालेको छ । 

साढे दुई वर्षभित्र नेकपाको विवाद कहिले उग्र बन्यो भने कहिले साम्य बन्दै आएको थियो । तर यति बेला नेकपाभित्र देखिने गरी नै दुई फ्याक भएको देखिन्छ । शनिवार प्रचण्डले पार्टीको सचिवालय बैठक बोलाउन र कर्णालीको विषय, अकार प्रमुखसँगको भेटलगायतका विषयमा त्यही छलफल गर्ने प्रस्ताव गरेका थिए । तर ओलीले पार्टीको कुनै पनि बैठक नबोलाउने र पार्टीको निर्णय नमान्ने बताएपछि नेकपाको भविष्य नै सङ्कटमा परेको हो । 

ओलीले आफूले बैठक नराख्ने र बैठक बसेर गरेका निर्णय समेत नमान्ने सन्देश प्रचण्डलाई दिएको स्रोतको भनाई छ । दुई नेताबिच दुई वर्षदेखि रहँदै आएको विवाद समाधानको साटो विवाद टालटुल पार्दै आउँदाको परिणामको रुपमा यो घटनालाई हेरिएको छ । दुई अध्यक्षबिच नै पार्टीमा विश्वासको सङ्कट देखिएपछि नेकपाको एकता पनि ‘ए...कता’ भन्ने अवस्थामा आएको छ । 

पार्टी एकताको समयमा ओली र प्रचण्डबिच सरकारमा आलोपालोसहित कतिपय सहमति कार्यान्वयन भएनन् । यसले उनीहरूमा विश्वासको सङ्कट पैदा हुँदै आएको छ । 

केपी ओलीलाई पुरै पाँच वर्ष सरकार चलाउन दिने सहमति भएपछि प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षको हैसियतले मन्त्रिमण्डल, प्रदेश र राजनीतिक भागबन्डामा बढी भाग पाउने अपेक्षा गरेका थिए । तर उनले त्यस्तो पाएनन् । जसले उनमा छटपटी बढाएको हुनसक्छ । 

नेकपा विभाजन हुने कुरा ढिलो चाँडो निश्चित जस्तै देखिएको छ । तर सत्तारुढ नेकपाको विभाजनले देशमा फेरि अस्थिरताको राजनीति सुरु हुनेछ । सत्ताको छिनाझम्टीले जनतामाथि निराशामाथि निराशा थप्ने निश्चित छ । अहिले ओली सरकारको कामका कारण निराश भएका जनतामा फेरि अस्थिर राजनीति र सरकारको बोझ आइपर्नेछ । 

नेकपा विभाजन हुँदा माधव नेपाल, झालनाथ खनालसहितका नेताहरू प्रचण्डसँगै रहेमा ओलीले संसद्मा बहुमत गुमाउनेछन् । अर्थमन्त्रीसमेत रहेका महासचिव विष्णु पौडेलको सामाजिक सञ्जाल मार्फत गरिएको आव्हानलाई सोही छटपटीका रुपमा लिइएको छ ।

 प्रधानमन्त्री ओलीले भने झैं पार्टी विभाजनको  अवस्थामा उनले बढीभन्दा बढी नेकपाका सांसदलाई आफ्नो खेमामा ल्याएर काँग्रेस समाजवादी पार्टीलाई मिलाएर बहुमत देखाउनुपर्नेछ यता राजीनामा, राष्ट्रपति शासन या सङ्कटकालको बाटो रोज्नुपर्ने हुन्छ । नेकपाको विभाजनले देशलाई भने भारतीय स्वार्थ र रणनीति अनुसार नै अस्थिरताको बाटोमा लैजाने भने  निश्चित छ ।

ओली इतरको सरकारका लागि पनि बहुमत साबित गर्न यही समीकरण आवश्यक छ । यसले नेकपा र देश दुवैलाई घाटा गर्नेछ । पार्टी विभाजन भएमा नेपाल र खनाल पक्ष ओलीविरुद्ध उभिएको र ओलीले पार्टी विभाजन गराएको खण्डमा उनी कमजोर अवस्थामा पुग्ने खतरा पनि रहेको छ । सरसरती हेर्दा नेकपा विभाजन हुँदा पूर्व एमाले र पूर्व माओवादी भन्दा पनि दुवै तिर छासमिस हुने सम्भावना देखिन्छ । विभाजनले सङ्घीय र ६ वटा प्रदेश सरकारमा समेत फेरबदल र समीकरण नयाँ बन्ने सम्भावना हुन्छ ।