मोदीलाई सर्वाेच्च सम्मान दिने युएईको घोषणा

मोदीलाई सर्वाेच्च सम्मान दिने युएईको घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २२, २०७५

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई युनाइटेड अरब इमिरेट्स (युएइ)ले सर्वाेच्च सम्मान दिने घोषणा गरेको छ । 

युएइका ‘क्राउन प्रिन्स’ तथा सेनाका डेपुटी सुप्रिम कमाण्डर शेख मोहम्मद विन जोयेदले ट्विटमार्फन् यो जानकारी सार्वजनिक गरेका हुन् । 

युएईले विदेशी राष्ट्राध्यक्षलाई दिने यो सबैभन्दा ठूलो सम्मान हो । भारतका कुनै पनि प्रधानमन्त्रीलाई युएईले यो सम्मान दिएको थिएन । मोदी यो सम्मान पाउने पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् । 

आफ्नो ट्विटमा मोदीलाई यो सम्मान दिने घोषणा गर्दै शेख मोहम्मद विनले बिहीबार लेखे, ‘दुई देशबीच मैत्रिपूर्ण सम्बन्ध विकसित गर्न र विभिन्न क्षेत्रमा सहयोगका नयाँ आयाम कोर्नका लागि हामी आफ्ना मित्र नरेन्द्र मोदीलाई सर्वाेच सम्मान ‘जायेद मेडल’ प्रदान गरेर सम्मानित गर्दैछौं ।’ 

ट्विटमा युएईका राष्ट्रपति शेख खलिफा विन जायेद अल नहयनद्वारा मोदीलाई यो सम्मान प्रदान गरिने उल्लेख छ । क्राउन प्रिन्सले आफ्नो ट्विटमा भारतको विविधता, सहिष्णुता, सह अस्तित्व र संस्कृतिको प्रशंसा गरेका छन् । 

मोदीअघि महारानी एलिजाबेध, जर्ज डब्लु बुस, भ्लादिमिर पुटिन, निकोलस सरकोजी, सि जिङपिङ र एन्जेला मार्केललाई यो सम्मान प्रदान गरिसकेको छ । 

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सम्मान घोषणा भएको केही बेरमै ट्विटमार्फन् क्राउन प्रिन्सलाई सम्मानका लागि आभार व्यक्त गरे । उनले ट्विटमार्फत् लेखे, ‘म यस सम्मानलाई पूर्ण हार्दिकता र विनम्रता साथ स्वीकार गर्छु । तपाईंको दूरदर्शी नेतृत्वमा दुई देशको रणनीतिक सम्बन्ध नयाँ उचाइमा पुगिसकेका छन् । हाम्रो मित्रताले देशवासीको शान्ति र समृद्धिमा योगदान पुगिरहेको छ ।’ 
भारतीय विदेशमन्त्री शुष्मा स्वराजले सम्मान घोषणाको स्वागत गर्दै धन्यवाद ज्ञापन गरेकी छन् । 

नरेन्द्र मोदीलाई यस वर्षको यो तेस्रो अन्तर्राष्ट्रिय सम्मान प्राप्त भएको हो । यसभन्दा पहिला दक्षिण कोरियाले उनलाई शान्ति पुरस्कार दिएको थियो । यसैगरी संयुक्त राष्ट्र संघले पर्यावरण क्षेत्रमा विशेष योगदानका लागि उनलाई ‘च्याम्पियन अफ द अर्थ अवार्ड’ दिएर सम्मानित गरेको थियो ।