बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३३

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३३

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  कार्तिक १७, २०७७

बाँके । बाँकेमा कोरोना महामारी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । पछिल्लोपटक कोराना भाइरस सङ्क्रमणबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत महिलाको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक १२ गते अस्पताल भर्ना हुनुभएकी ती महिलामा कार्तिक १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएलगत्तै भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरी उपचारकै क्रममा मृत्यु भएको हो ।

बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार १६८ रहेकामा दुई हजार ८८६ जना निको भएर घर फर्किसकेका छन् । बाँकेमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २५३ पुगेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिनुभयो ।