संसारको सबैभन्दा महंगो सम्बन्ध विच्छेद !

संसारको सबैभन्दा महंगो सम्बन्ध विच्छेद !

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र २२, २०७५

संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस र उनकी पत्नी मक्केन्जी अहिलेसम्मकै सबैभन्दा महँगो ३५ बिलियन अमेरिकी डलरको (लगभग ३८ अर्ब नेपाली रुपैयाँ) सम्बन्ध विच्छेदका लागि सहमत भएका छन् । 

यो अहिलेसम्म पारपाचुकेका लागि गरिएको सबैभन्दा महँगो सहमति हो । 

यसअघि सबैभन्दा महँगो पारपाचुके कलाव्यापारी एलेक विन्डेन्स्टेन र उनकी पत्नी जोस्लिनबीच भएको ३.८ बिलियन डलरको (लगभग चार खर्ब २० अर्ब नेपाली रुपैयाँ) थियो । 

जेफ र मक्केन्जीबीच २५ वर्ष लामो वैवाहिक सम्बन्ध विच्छेदपछि मक्केन्जीसँग अनलाइन किनमेल कम्पनी ‘अमेजन’को चार प्रतिशत शेयर हुनेछ । तर ‘वाशिङ्टन पोस्ट दैनिक’ र अन्तरिक्ष यात्रा कम्पनी ‘ब्लू ओरिजिन’सँग भने उनको कुनै सम्बन्ध रहने छैन् । 

मक्केन्जीले सहमतिबारे आफ्नो पहिलो र अहिलेसम्मको एकमात्र ट्वीटमा जानकारी दिएकी हुन् । 

उनले आफू ‘एकअर्काको सहयोगमा जेफसँगको विवाहलाई भङ्ग गर्ने प्रक्रिया सकिएकोमा कृतज्ञ भएको’ बताएकी छन् ।

जेफ बेजोससँग एमेजनको १६.३ प्रतिशत सेयर थियो, जसको ७५ प्रतिशत अझैपनि उनीसँगै रहनेछ र मक्केन्जीले आफ्नो शेयरको मताधिकार पूर्वपतिलाई दिएकी छन् ।

सन् १९९४ मा जेफले एमेजन स्थापना गर्नुअगाडि नै उनीहरूले विवाह गरेका हुन् र माक्केन्जी एमेजनको पहिलो कर्मचारीमध्येकी थिइन् । 

अमेरिकी स्टक बजारका पछिल्ला तथ्याङ्कअनुसार एमेजनको कुल मूल्य ७९७ अर्ब डलर पुगेको छ ।

४८ वर्षीय सफल लेखिका मक्केन्जीले सन् २००५ मा ‘द टेस्टिङ अफ लुथर अल्ब्राइट’ तथा सन् २०१३ मा ‘ट्रयाप्स’ नामक उपन्यास लेखेकी थिइन् ।

पुलिट्जर पुरस्कार प्राप्त गरेकी लेखिका टोनी मोरिसनबाट सिर्जनात्मक लेखनको पढाइ पूरा गरेकी मक्केन्जीलाई मोरिसनले आफ्नो उत्कृष्टमध्येकी विद्यार्थी रहेको बताएकी थिइन् । 

अमेरिकी सञ्चारमाध्यमहरूले जेफको फक्स टीभीकी एक सञ्चालिका लरेन सान्चेजसँग प्रेमपूर्ण सम्बन्ध रहेको समाचार प्रकाशित गरेका छन् ।

सान्चेससँगको व्यक्तिगत सन्देशहरू प्रकाशित गर्दै एक पत्रिकाले जेफको विवाहेतर सम्बन्धको समाचार लेखेपछि उनीहरूले जनवरीमा ट्विटरमार्फत् एउटा संयुक्त वक्तव्य प्रकाशित गर्दै आफूहरूले सम्बन्धविच्छेद गर्न लागेको जानकारी दिएका थिए ।