कामपाले कान्ति बाल अस्पताललाई दियो पिसिआर मेसिन

कामपाले कान्ति बाल अस्पताललाई दियो पिसिआर मेसिन

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  कार्तिक १७, २०७७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई कोराना भाइरस परीक्षणका लागि पिसिआर मेसिन उपलब्ध गराएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले  अस्पतालका निर्देशक डा. कृष्ण पौडेललाई सो मेसिन आज हस्तान्तरण गर्नुभएको हो । 

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र निर्देशक डा. पौडेलले पिसिआर मेसिन हस्तान्तरण सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । कामपासँग भगिनी सम्बन्ध स्थापित चीनको नानजिङ शहरले दिएका दुईमध्ये एक थान पिसिआर मेसिन अस्पताललाई हस्तान्तरण गरिएको बताइएको छ । 

कार्यक्रममा प्रमुख शाक्यले भगिनी सम्बन्ध स्थापित भएका विभिन्न नगरले कामपालाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि दिएका केही अत्यावश्यक स्वास्थ्य सामग्री चरणबद्धरुपमा हामीले सरकारी अस्पताललाई हस्तान्तरण गर्दै आएको जानकारी दिनुभयो । कामपाले यसअघि पनि उक्त अस्पताललाई अक्सिजन प्लान्ट राख्न आर्थिक सहयोग गरेको थियो । 

अस्पतालका निर्देशक डाक्टर पौडेलले आगामी एक हप्ताभित्रमा परीक्षण मेसिनलाई प्रयोगमा ल्याउने जानकारी दिनुभयो । अहिले पनि दैनिक २० देखि ३० जनासम्मको सङ्कलन गरिएको नमूना परीक्षणका लागि अन्य प्रयोगशालामा पठाउनुपर्ने बाध्यता रहेको बताउँदै उहाँले अब अस्पतालमै मेसिन जडान भएपछि त्यो समस्या हट्नेछ भन्नुभयो । 

कामपाले यसअघि गत साउन १९ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई कोभिड–१९ परीक्षण गर्ने मेसिनसहित अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । उक्त मेसिनको मूल्य करीब  १६ लाख पर्ने बताइएको छ ।