अब पुरुषको पनि गर्भनिरोधक चक्की !!

अब पुरुषको पनि गर्भनिरोधक चक्की !!

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २२, २०७५

पुरुषले सेवन गर्ने गर्भनिरोधक चक्की मानवमा गरिने सुरक्षा सम्बन्धी प्रारम्भिक परीक्षणमा सफल भएको दाबी एउटा प्रसिद्ध चिकित्सकीय सम्मेलनमा गरिएको छ ।

पुरुषहरूका लागि परिवार नियोजनका लागि कन्डम र भ्यासेक्टमी मात्रै रहेको अवस्थामा यो चक्की एउटा स्वागतयोग्य साधन हुनेछ । 

दैनिक एक चोटि सेवन गर्नुपर्ने सो चक्कीमा शुक्रकीटको उत्पादन रोक्ने हर्मोन हुन्छ ।

तर एन्डोक्राइन सोसाइटीको वार्षिक सम्मेलनमा सो चक्की बजारमा उपलब्ध हुन अझै एक दशक लाग्न सक्ने बताइएको छ ।

ब्रिटेनमा ५० वर्षभन्दा अगाडि महिलाहरूले सेवन गर्ने गर्भनिरोधक चक्की उपलब्ध भएको थियो । तर किन पुरुषले सेवन गर्ने चक्की बन्न गाह्रो भएको होला ?

कसैले सामाजिक र व्यापारिक रुचि कम भएका कारण नबनाइएको दाबी गरे पनि सर्वेक्षणहरूमा धेरै पुरुषले उपलब्ध भए त्यस्तो चक्की प्रयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।

महिलाहरूले पुरुषले चक्की खाएको कुरा पत्याउँछन् कि पत्याउँदैन्न भन्ने अर्कै विषय हो ।

सन् २०११ मा ब्रिटेनमा गरिएको एक अध्ययनमा झन्डै आधा महिलाले त्यस्तो चक्की उपलब्ध भएमा आफ्ना पुरुष साथीले त्यो खाए वा नखाएकोमा चिन्ता लाग्ने बताएका थिए ।

पुरुषले सेवन गर्ने चक्की बनाउन सबैभन्दा ठूलो चुनौती भनेको त्यसले यौन इच्छा वा उत्तेजनामा असर नपार्ने बनाउनु हो ।

पुरुषको अण्डकोषमा नियमित शुक्रकीट उत्पादन हुन्छ । त्यसमा हर्मोनको विशेष भूमिका हुन्छ ।

हार्मोनको मात्रा नघटाई अरू कुनै नकारात्मक प्रभावबिना नै शुक्रकीटको उत्पादन अस्थायी रूपमा रोक्नु प्रमुख चुनौती हो ।

हाल एलए बायोमेड र वाशिङ्टन विश्वविद्यालयमा अनुसन्धान भइरहेको उक्त चक्कीले भने सोचिएको लक्ष्य प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरूको भनाई छ ।

उनीहरूले चालीस पुरुषमा भएको प्रारम्भिक सुरक्षापरीक्षण उत्साहवर्धक रहेको एन्डोक्राइन सोसाइटीको सम्मेलनमा बताए ।

एन्ड्रजन हर्मोनमा आधारित चक्की सेवन गरेकाहरूमा शुक्रकीट उत्पादनका लागि आवश्यक हर्मोनको स्तर नक्कली चक्की सेवन गरेकाको तुलनामा निकै कम रहेको थियो भने परीक्षण सम्पन्न भएपछि सामान्य अवस्थामा फर्केको थियो ।

पाँच पुरुषले चक्कीको प्रयोगपछि यौन इच्छामा कमी आएको बताएका थिए भने दुई जनाले लिङ्गमा हुने उत्तेजनामा कमी आए पनि यौन क्रियाकलापमा भने असर नपरेको जानकारी दिएको कुरा बीबीसी न्यूज अनलाइनमा उल्लेख छ ।