सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषधसहित एक पक्राउ

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषधसहित एक पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  कार्तिक १८, २०७७

सर्लाही । जिल्लाको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरबाट सशस्त्र प्रहरीले ठूलो मरिमाणमा लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । ब्रम्हपुरी–४ त्रिभुवननगर दशगजा क्षेत्र शेखटोल नाकाबाट २०१ बोतल लागुऔषधसहित सोमबार करिब ४ बजे एक जनालाई नियन्त्रणमा लिएको बोर्डर आउटपोष्ट ९बिओपी०का प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक सञ्जितकुमार सिंहले जानकारी दिनुभयो ।

कफक्युर–डिसी १०० मिलीका ११ बोतल, विनसिरेक्स १०० मिलीका १४० बोतल, रेप्लिन १०० मिलीका ५० बोतल र नाइट्राभेट–१० ट्याब लेखिएका सात पत्तासहित सर्लाहीको हरिवन नगरपालिका–११ का अन्दाजी वर्ष १६ का अजय गिरी पक्राउ परेका सशस्त्र प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

भारतबाट लुकाइछिपाई नेपाल ल्याउँदै गरेको अवस्थामा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले सो परिमाणमा लागुऔषध बरामद गरेको हो । नेपाली बजारमा बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध रहेको लागुऔषध पछिल्लो समय नेपाल–भारत खुला सिमानाको कारण नेपाली बजारमा प्रशस्त पाइने गरेको छ ।