उपभोक्ता समिति गठन गर्न छुट्टाछुट्टै भेला

उपभोक्ता समिति गठन गर्न छुट्टाछुट्टै भेला

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक १८, २०७७

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको वेथानचोक गाउँपालिका–४ ले वडाभित्रको योजनाको कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गरी गाउँपालिकामा पेश गर्नुपर्ने भएकाले समयमै उपभोक्ता समिति गठन गर्न आग्रह गरेको छ । वडाले आर्थिक वर्ष २०७७/७८ मा गाउँसभाबाट स्वीकृत योजना कार्यक्रम सञ्चालन गर्न कात्तिक २५ गतेभित्रमा उपभोक्ता समिति गठनपश्चात गाउँपालिकामा दर्ता गरिसक्नुपर्ने भएकाले २४ गतेभित्रमा वडा कार्यालयमा पेश गर्न सम्बन्धित योजनाको सरोकारवाला जनसमुदायलाई वडा कार्यालयले आग्रह गरेको हो ।

वडाध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार वडामा सञ्चालन हुने योजना धेरै रहेको र तोकिएको समयभित्र उपभोक्ता समिति दर्ता गरी सम्झौता गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले यही कात्तिक २१ गतेदेखि २४ गतेसम्मका लागि छुट्टाछुट्टै स्थानमा जम्मा भएर गर्न समय तोकिएको बताउनुभयो । 'भूगोलअनुसारको योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गरी दर्ता गर्न छुट्टाछुट्टै ठाउँमा तोकिएको समयभित्र उपस्थित हुन सूचना जारी गरेका छौँ', वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, 'कोरोना भाइरसको प्रभावका कारण यसपालि फरकफरक ठाउँबाट सामाजिक दूरी कायम गर्दै समिति दर्ता गर्न आह्वान गरेका छौँ ।' यसअघि वडा कार्यालयमा नै सहभागी भएर गर्ने काम यसपटक कोरोना महामारीका कारण छुट्टाछुट्टै स्थानमा सामाजिक दूरी कायम गरेर समिति गठन गर्न वडाले निर्देशन दिएको हो ।

अध्यक्ष श्रेष्ठका अनुसार कात्तिक २१ गते डाँडागाउँ, तिप्चोक भञ्ज्याङ, पट्गाउँबेँसी र पट्गाउँ सामुदायिक भवनमा गरी चार ठाउँमा तोकिएको छ । त्यस्तै २२ गते पार्थली, चलाल, पाटीखर्क र भञ्ज्याङखर्क, २३ गते नाङ्गेडाँडा, वडा कार्यालय रहेको गणेशस्थान, देवीस्थान र सिक्रीघ्याङ चौतारा र २४ गते लथाङडाँडा र काफलडाँडामा भेला हुने स्थान र समय तोकिएको छ । 

सो वडाभित्र यस आर्थिक वर्षमा मोटरबाटो, खानेपानी, धर्मशाला, पर्यटन पूर्वाधार निर्माण, सामुदायिक तथा मण्डली भवन निर्माण, सिँढी निर्माण, मन्दिर निर्माणलगायत विभिन्न विकास निर्माणको शीर्षक गरी ३९ वटा योजना रहेको वडा कार्यालयले जनाएको छ ।

सो वडामा यस आर्थिक वर्षमा वडाको मात्रै एक करोड २४ लाख रुपैयाँ र पालिकास्तरबाट समेत गरी तीन करोड ८० लाख रुपैयाँ बराबरको योजना रहेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । सोमध्ये भौतिक पूर्वाधारतर्फ मोटरबाटो निर्माण योजनालाई प्राथमिकतामा राखेरको पाइएको छ ।