घाम अस्तायो जुन पनि उदायो अझै फुर्सद भाको छैन र ?

नेपाली लोकगीतमा जून–घाम

घाम अस्तायो जुन पनि उदायो अझै फुर्सद भाको छैन र ?

यमबहादुर दुरा  |  लोकरञ्जन  |  चैत्र २२, २०७५

लोकविश्वास र लोकवाङ्मयका तमाम आयाम जून–घामका प्रसंगले ओतप्रोत छन् । सूर्यसँगको संसर्गबाट कर्ण जन्मिएको आध्यात्मिक कहानी, चन्द्रमा र चखेवाको प्रेम प्रसंग हामीले सुनिआएको हो । लोकविश्वासको रुझान र लोकसंस्कृतिक लेपन भेटिने भेटिने यस्ता असंख्य प्रसंगहरूमा हाम्रो लोकजीवन रमाउँदै छ । 

हामीभन्दा बाहिरको दुनियाँ  नेपालइतरका समाजमा पनि जून–घामका प्रसंगबाट धेरै ओतप्रोत छ । अंग्रेजी गीतकै कुरा गरौं ।  ‘हेयर कम्स द सन’, ‘डन्ट लेट द सन गो डाउन अन मि’, ‘म्यान अन द मुन’ ‘फ्लाइ मि टु द मुन’ जस्ता सयौं चर्चित गीतमा जून–घामका प्रसंग छन् । जून–घामका सयौं–हजारौं प्रसंग हाम्रा लोकवाङ्मयमा यत्रतत्र छिरल्लिएका छन् ।

अघि नै भनियो, नेपाली लोकगीतमा पनि जून–घामका बेहिसाब प्रसंग भेटिन्छन् । यस्ता प्रसंगले मानव जीवनको वास्तविकता उद्घाटन गर्ने र लोकलाई उद्वेलित गर्ने काम गरिरहेका छन् । समयको कोल्टे फेराइसँगै कतिपय यस्ता प्रसंग विस्मृत भइसकेका छन् । तर पनि केही त लोकस्मृतिमा छन् ।

रेडियो नेपालबाट गुञ्जने झलकमान गन्धर्वको गीतको एउटा पंक्ति थियो, ‘आकाशमा जूनको भाइ चतुर, कहिले माया कहिलेको सत्तुर’ । यसले मानिसका गतिशील सम्बन्धहरूको ज्यामितिलाई दर्साउँछ । सम्बन्ध एकनास हुँदैन । आजको सुमधुर सम्बन्ध भोलि बासी भएर तम्तम्याइलो हुन पुग्छ । 

वर्तमानको महजस्तो गुलियो सम्बन्ध रहँदा–बस्दा चिराइतो तीतो बन्न सक्छ । आजको माया–मोहब्बत भोलि बैरीमा परिणत हुन पुग्छ । केमेस्ट्री बिग्रेको घडीमा सुमधुर भावना र अनुभूति पनि असिनाले थिचेको पोथ्रोजस्तो हुन सक्छ । पूर्वोल्लिखित गीतको पंक्तिले यही वास्ताविकतलाई दर्साउँछ ।

दुनियाँ असमानताग्रस्त छ । तमाम अर्थशास्त्री, तथ्याङ्कवेत्ता र समाजशास्त्रीहरूबीच कतिपय अजेण्डामा असहमति भए पनि एउटा कुरामा सहमति छ । उनीहरूले एकमुख लाएर बरोबर भन्दै आइरहेका छन्, लोकधनको ९० प्रतिशतभन्दा बढी हिस्सा १० प्रतिशत धनाढ्यको पोल्टामा छ । 

नेपाली लोकगीतमा पनि जून–घामका बेहिसाब प्रसंग भेटिन्छन् । यस्ता प्रसंगले मानव जीवनको वास्तविकता उद्घाटन गर्ने र लोकलाई उद्वेलित गर्ने काम गरिरहेका छन् । समयको कोल्टे फेराइसँगै कतिपय यस्ता प्रसंग विस्मृत भइसकेका छन् । तर पनि केही त लोकस्मृतिमा छन् ।

नेपाली लोकगीतले पनि यही वास्तविकतालाई जमानामै उजागर गरेको होः ‘सुखीलाई जून पनि घाम पनि, मै दुःखीलाई छैन नि माम पनि’ । शब्द फरक होलान्, भाषा घुमाउरो होला तर पनि आशय उही छ– दुनियाँमा असमानता छ । यहाँनेर, जून–घामलाई सामाजिक असमानताको बिम्बको रूपमा उभ्याइएको छ । 

मरी लानु केही छैन । तर पनि, भोलि भारी हालेर जाउँला जस्तो गरी दुनियाँ धन दौलत बटुल्ने होडमा छ । यही होडले दुनियाँ बेफुर्सदीको महामारी फसेका छ । मरीजाने चोलामा साथीसंगी, आफन्त र घरपरिवार पनि त केही हुन् नि । तर, उनीहरूको भेटघाट र मित्रलाभ धेरैको प्राथमिकतामा परेको छैन । मानिस अनेकन् बहाना झिकेर भेटघाटलाई टार्न उद्यत छ ।

कार्यव्यस्तता र बहानाबाजीले दुनियाँलाई गाँजेको छ । हाम्रा लोकसर्जकहरू पनि के कम, उनीहरूले बहानाबाजीमा रमाएको दुनियाँलाई गुलावी क्षेण हानेका छन्ः ‘भेट्न मन लाको छैन र, घाम अस्तायो जुन पनि उदायो अझै फुर्सद भाको छैन र ?’

जूनको दुधिलो प्रकाश पोखिएको शारदीय रात कम्ता मनमोहक हुँदैन । यसले कतिपयको मनमस्तिष्कमा नजानिँदो किसिमको मादकता थपिदिन्छ । त्यसमा पनि प्रेमिल मनहरूमा यसले पार्ने प्रभाव झन् चर्को छ । तिनको मनमा मादकताले भरिएको जुनेली प्रकाशमा कुनै मीठो गन्तव्य पुग्ने रहर चुलिन्छ । 

यससँगै गन्तव्यमा पुग्ने सहयात्री चुन्छ । उस्तै मन र उस्तै रहर भएपछि के चाहियो र ? निशाचर प्रकृतिको सयरको प्रस्ताव भए पनि त्यो अस्वीकृत हुने कुरै छैन । मन जितिसकिएको छ । ऊ निर्धक्क किसिमले प्रस्ताव राख्छः  ‘जाऊँ हिँड साथैमा, टहटह जुनेली रातैमा’ । 

फेरि पनि प्रेमिल मनहरूकै कुरा । साइत–कुसाइत हाम्रो लोकजीवनको व्याकरणभित्रै पर्छ । साइत परेकाले हितैषी मायालुसँग टुप्लुक्कै भेट भएको अनगिन्ती प्रसंग नेपाली लोकगीतमा छताछुल्ल भेटिन्छन् । साइतमा निस्केर लावण्यवती मायालुसँग भेट भएको प्रसंगलाई यो गीतले प्रष्ट्याउँछ: ‘आज मेरो साइतै कस्तो, भेटेँ माया पूर्नेको जूनजस्तो’ । 

सम्झना–बिर्सनाको मेहरो पनि कम मायवी छैन । सम्झनुपर्ने कार्यसूची बिर्सिन पुग्दा बेमोज हुन्छ, बिर्सनुपर्ने प्रसंग सम्झन पुग्दा त झनै बढी बेमोज हुन्छ । उता, कसै कसैको धेरै सम्झनाले पीर व्यथाको ग्राफ झनै उकालो लाग्छ । 

कसैको सम्झनाले अतिशय बढी सताउने तर ऊसँग भेटघाट गर्ने जौमेसो नजुट्ने । यसो भएपछि मनमा शान्ति मिल्ने कुरै भएन । सम्झनाको मायवी लहरले निम्त्याएको सारा मानवीय छटपटीको सार यो पंक्तिमा भेटिन्छः ‘तिम्लाई सम्झी म कति रुन्छु, सुर्जे ग्रहन लागेझैं मै हुन्छु’ । 

यहाँनेर एउटा असहज प्रसंग उठाउन मन लाग्यो । दुनियाँको चालढाल देखेर कहिलेकाहीँ यस्तो लाग्छ, यहाँ रिस–डाहबाहेक केही छैन । तेरो–मेरो, आफ्नो–अर्का, मित्र–सत्तुर । जताततै कित्ताकाट । सम्झेदेखि को अर्का हो र ? तर यहाँ सत्तुरको कित्तामा नपुग्न र तिनका अगाडि आँसु नझार्न सचेत गराइन्छ । बन्धुत्वलाई बिर्सेर रिस–डाह र कित्ताकाटमा रमाइरहेको समाजको पानीछायाँ यो गीतमा देखिन्छः ‘घामजस्तो चम्किलो जून हुँदैन, जति रुन परे नि मेरै काखमा रोऊ माया सत्रुले देख्ने गरी रुन हुँदैन’ ।

नेपाली लोकगीतमा जून–घामका प्रसंग कोट्याउँदा अनेकन् तीतामीठा प्रसंग आए । यी प्रसंग लोकानुभूतिका भकारी हुन् । जति बढी यस्ता प्रसंग आउँछन्, त्यति नै हाम्रो लोकवाङ्मय समृद्ध हुन्छ । सांस्कृतिक विविधताले भरिपूर्ण नेपाली समाजमा यस्ता अनगिन्ती प्रसंगका बिस्कुन नै भेट्न सकिन्छ । 

तिनलाई खोज्ने कष्ट कसले गर्ने भन्नेमात्र मूल प्रश्न हो । लोकधनको रूपमा रहेका यस्ता सम्पदाको  बढी भन्दा बढी खोजीनिती र प्रयोग गर्न आवश्यक छ । साथै, नयाँ पुस्तामा यस्ता सांस्कृतिक सम्पदा हस्तान्तरणको कुरा बिर्सनै नहुने मन्त्र हो, कार्यसूची हो ।

जनजिब्रोमा साँचिएर रहेका यी प्रसंगहरू अमूर्त सांस्कृतिक सम्पदा हुन् । अमूर्त सांस्कृतिक सम्पदाको आश्रयस्थल वा संग्रहालय मानिसको मन–मस्तिष्क र दिल–दिमाग हुन् । यिनीहरू कुनै भौतिक संग्रहालयमा रहन सक्दैनन् । 

जति रचनात्मक किसिमले यस्ता सम्पदाको पुनःप्रयोग हुन्छ, त्यति नै यिनीहरू चिरकालसम्म रहन्छन् । लोकहृदयमा लिपिबद्ध जून–घामका यी प्रसंगलाई समाजको फराकिलो घेरासम्म विस्तार गरी प्रयोगमा ल्याउन सकेमा हाम्रो साझा सम्पत्ति जोगिन सक्छ ।