भारतीय सहयोगमा निर्माण भएको विद्यालय भवन उद्घाटन

भारतीय सहयोगमा निर्माण भएको विद्यालय भवन उद्घाटन

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १८, २०७७

नवलपुर । नेपाल–भारतमैत्री विकास सहयोगअन्तर्गत यहाँको देवचुलीमा निर्माण गरिएको ३४ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–७ रामबासस्थित भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा निर्माण गरिएको ३४ कोठे ‘नेपाल–भारतमैत्री’ भवनको सोमबार उद्घाटन गरिएको हो । 

दुई करोड ५८ लाख ३० हजार लागतमा निर्माण गरिएको नेपाल–भारतमैत्री भवन निर्माणका लागि विसं २०६९ पुसमा सम्झौता भएर २०७० असारमा शिलान्यास गरिएको थियो । 

भारतीय सहयोगमा निर्माण गरिएको तीन तले भवनमा १६ वटा कक्षा कोठा, प्रयोगशाला, प्रशासन, बैठक कोठा, चमेनागृह तथा मेडिकल कक्षसमेतका कोठा निर्माण गरिएका छन् । 

गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहासहित जनप्रतिनिधि तथा भिडियो कन्फ्रेन्समा जोडिनुभएका भारतीय राजदूतावासका काउन्सिलर डा. प्रफुल्लतचन्द्र शर्माले संयुक्तरुपमा विद्यालय भवनको उद्घाटन गर्नुभएको हो । 

विद्यालय भवन उद्घाटनका क्रममा काउन्सिलर शर्माले विद्यालयको भौतिक पूर्वाधार थपिँदै जाँदा सार्वजनिक विद्यालयमा शिक्षाको भौतिक पूर्वाधार सुधारको लागि नेपाल सरकारको प्रयासलाई सार्थक बनाउने बताउनुभयो । 

कक्षा १२ सम्म अध्ययन हुने सो विद्यालयमा ५५ प्रतिशतभन्दा बढी छात्रा अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक नरदेव न्यौपानेले बताउनुभयो । नयाँ भवन उद्घाटन भएसँगै सूचना र प्रविधिको माध्यमबाट पढाइ गराउन सहज हुने भन्दै विद्यालयको शिक्षालाई ‘डिजिटलाइज’ गरिने न्यौपानेले बताउनुभयो ।