तनहुँ जलविद्युत् आयोजनाका  मजदुर काममा फर्किएका

तनहुँ जलविद्युत् आयोजनाका  मजदुर काममा फर्किएका

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १९, २०७७

तनहुँ । दशैँ बिदा सकिएसँगै क्याम्प फर्किएका मजदुरलाई काममा खटाइएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका मजदुरलाई काममा खटाइएको हो ।

दशैँ बिदा सकिएर क्याम्प फर्किएका मजदुरको पिसीआर परीक्षण गरिएसँगै काममा खटाइएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । क्याम्प फर्किएकामध्ये ७१ मजदुरको पिसीआर परीक्षण गरिएकामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकीको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सङ्क्रमण पुष्टि भएकालाई क्याम्पभित्रै निर्माण गरिएको आइसोलेसनमा राखिएको र बाँकीलाई काममा लगाइएको घिमिरेले बताउनुभयो ।

घिमिरेका अनुसार आयोजनाले क्याम्पभित्रै २० शय्या क्षमताको आइसोलेसन बनाएको छ । 'सङ्क्रमितलाई आइसोलेसनमा राखेर बाँकीलाई विद्युत्गृह निर्माणको काममा लगाएका छौँ', उहाँले भन्नुभयो । दशैँ मान्न घर गएका मजदुर टीकाको भोलिपल्ट काममा फर्किएका थिए । नेपाली मजदुर दशैँ बिदामा घर गएका बेला पनि चिनियाँ मजदुरले विद्युत्गृह निर्माणको काम जारी राखेका थिए । असोज अन्तिम साता सबै मजदुरको पिसीआर परीक्षण गरिनुपर्ने मागसहित मजदुरले आन्दोलन गरेका थिए । निर्माण कम्पनीले सबै मजदुरको पिसीआर परीक्षण गरेपछि काम सञ्चालन भएको थियो ।

सिनोले आयोजनाको प्याकेज–२ अन्तर्गतको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम पनि अगाडि बढेको छ । 

दमौलीबाट भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । प्रसारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइनका लागि कुल ९४ वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।