पैसाले पनि चामल पाइँदैन उपल्लो डोल्पामा

पैसाले पनि चामल पाइँदैन उपल्लो डोल्पामा

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १९, २०७७

जाजरकोट । अत्यधिक हिमपात र उच्च हिमाल भएका कारण मुस्किलले एक बाली मात्र लाग्ने उपल्लो डोल्पामा ज्यान बचाउन खाद्यान्न मागेको दुई महिना बिते पनि अझै पुगेको छैन ।

छार्काताङसोङ गाउँपालिकामा दुई वर्षदेखि सरकारी अनुदानको चामल पुगेको छैन । शे–फोक्सुण्डो गाउँपालिकामा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल नपठाएको १८ महिना बितेको छ । कम्पनीले नियमित चामल नपठाएपछि स्थानीय बासिन्दा महङ्गो मूल्यमा बजारको चामल किनेर उपभोग गर्न बाध्य भएको बताएका छन् ।

छार्काताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङका अनुसार स्थानीय बजारमा एक क्विन्टल चामलको मूल्य १२ हजारदेखि २० हजारसम्म पर्छ । गाउँपालिकामा झण्डै तीन हजार जनाको बसोबास छ । जति मूल्य हाले पनि चामल पाइँदैन । 'स्थानीयवासी भोकमरीको चपेटामा पर्दा पनि सङ्घीय सरकारले चामल पठाएन', उहाँले भन्नुभयो, 'चामल माग्दै हामी काठमाडौँसम्म पुग्यौँ तर सधैँ बेवास्ता गरियो ।' उहाँले अत्यधिक हिमपात हुने क्षेत्र भएकाले वर्षमा एक बाली मात्र उत्पादन हुने जानकारी दिनुभयो  । उहाँका अनुसार यहाँका बासिन्दालाई आफ्नो उत्पादनले तीन महिना पनि खान पुग्दैन ।

शे–फोक्सुण्डो पनि डोल्पामा न्यून खाद्यान्न उत्पादन हुने क्षेत्र हो । यहाँ चीनको बाटो भएर चामल ढुवानी हुन्छ । 'चीनले कोरोनाका कारण देखाउँदै चामल ढुवानी गर्न दिएन', गाउँपालिका अध्यक्ष टसीतुन्डुप गुरुङले भन्नुभयो, 'हाम्रा जनताले चाडबाडमा पनि चामल पाएनन् ।' जिल्ला खाद्य व्यवस्था समितिको निर्णयानुसार यो वर्ष माथिल्लो डोल्पाका तीन स्थानीय तहमा एक हजार ७०० क्विन्टल चामल कम्पनीले पठाउने भनिएको थियो ।

कोरोनाका कारण चीनबाट चामल आउन नसक्ने भएपछि र चिसो बढ्न थालेकाले वैकल्पिक विधिबाट चामल ढुवानीको निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो  । 'हिमपातअघि नै चामल ढुवानी नभए माथिल्लो डोल्पामा खाद्यान्न सङ्कट हुने पक्का छ', उहाँले भन्नुभयो, 'दुनैसम्म गाडीमार्फत र दुनैबाट पालिकाको केन्द्र र वडासम्म खच्चडमार्फत ढुवानीको व्यवस्था गर्न कम्पनीलाई पत्राचार गरेका छौँ ।' डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखासहित चार डिपो र दुई बिक्री केन्द्र छन् ।

सबै तल्लो डोल्पामा पर्ने भएकाले पनि उपल्लो डोल्पामा चामल नपुग्ने गरेको हो । अहिले दुनै शाखामा १८०, जुफालमा ४३, सर्मीमा १३१ र काइगाउँ डिपोमा १५० क्विन्टल चामल मौज्दात छ । सहरतारा र लिकुमा सम्बन्धित ठेकेदारले नै चामल लिएर बिक्री गर्दै आएका छन् ।