धाम क्षेत्रको निर्माण काम ४० प्रतिशत सकियो

धाम क्षेत्रको निर्माण काम ४० प्रतिशत सकियो

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १९, २०७७

काठमाडौँ । तारकेश्वर धाम क्षेत्रमा निर्माणको ४० प्रतिशत काम सकिएको छ । निर्माणका लागि नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत विसं २०७५ माघ २७ गते सम्झौता गरेर तारकेश्वर नगरलाई काठमाडौँ महानगरपालिकाले एक करोड अनुदान रकम उपलब्ध गराएको थियो । कामपाले दिएको एक करोड र तारकेश्वरले नगरपालिकाबाट  एक करोड थप गरेर निर्माणको काम थालिएको हो ।

कामपाले जिल्लाका सबै नगरपालिकालाई सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवर्द्धन र उद्यान निर्माणका लागि  एक/एक करोड उपलब्ध गराएको थियो । चारैतिर सार्वजनिक जङ्गल रहेको भूभागको बीचको करिब १० रोपनी सार्वजनिक जग्गामा महादेवको मूर्तिमा पुग्ने सिँढी, सन्तमहन्त बस्ने कुटी, पोखरी, सत्तल, प्रवेशद्वार निर्माणलगायत काम भइरहेका छन् ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी  मङ्गलबार तारकेश्वर धाम क्षेत्रमा निर्माणको अवस्था बुझ्न पुग्नुभएको थियो । स्थलगत अवलोकनपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले निर्धारण गरिएको समयमा नै निर्माणको काम सम्पन्न गरे आवश्यक पर्ने थप सहयोग गर्न कामपा तयार रहेको बताउनुभयो ।

तारकेश्वर नगरका प्रमुख रामेश्वर बोहोराले कामपाले उपलब्ध गराएको सहयोगले तारकेश्वर धामलाई पर्यटकीय गन्तव्य बनाइने बताउनुभयो । बालाजु वाइपासबाट करिब १५ किलोमिटर दूरीको यात्रामा पाँचमाने पुगिन्छ । त्यहाँबाट आधा घण्टाको पैदलयात्रापछि धाम क्षेत्रमा पुगिन्छ ।