सङ्क्रमण फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन

सङ्क्रमण फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक १९, २०७७

कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि यहाँका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो । कुश्मामा यही कात्तिक १५ गतेदेखि नै लकडाउन जारी रहेको छ भने मोदी गाउँपालिमा सोमबार रातिदेखि लकडाउन जारी रहेको छ । 

त्यसैगरी जलजला गाउँपालिकामा मङ्गलबार रातिदेखि लागू हुने गरी यही कात्तिक २५ गतेसम्म लकडाउन जारी रहेको छ । उता महाशिला गाउँपालिकाले पनि अर्को निर्णय नहुने बेलासम्म गाउँपालिकाले तोकेका अत्यावश्यक ठाउँमा बाहेक अन्यत्र हिँड्डुल, सवारी साधन सञ्चालन, वित्तीय संस्था तथा सहकारी संस्था र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । 

कोरोना सङ्क्रमण फैलन नदिन गाउँपालिका स्तरीय सङ्कट व्यवस्थापन समितिको बैठक बसेर अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । उहाँका अनुसार, पछिल्लो समय समुदायस्तरमा दुई जनामा सङ्क्रमण देखिएपछि थप जोखिम नफैलियोस् भनेर लकडाउन गरिएको हो । 

यता जलजलाको मङ्गलबार सम्पन्न गाउँपालिका स्तरीय सङ्कट व्यवस्थापन समितिको बैठकले गाउँपालिकाका वडामा सङ्क्रमण फैलन नदिनका लागि बुधबारदेखि लागू हुने गरी यही कात्तिक २५ गतेसम्म लकडाउन घोषणा गरिएको छ । पछिल्लो समय छिमेकी जिल्ला र स्थानीय तहमा लकडाउन घोषणा भएपछि जलजला गाउँपालिकामा पनि थप सङ्क्रमण नफैलियोस् भनेर लकडाउन गर्ने निर्णय गरिएको जलजलाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । 

गाउँपालिका स्तरीय सङ्कट व्यवस्थापन समितिको मङ्गलबारको बैठकले आजदेखि यही कात्तिक २५ गतेसम्म गाउँपालिकाभरि लकडाउन गर्ने निर्णय गरेको अधिकृत शर्माले जानकारी दिनुभयो । बैठकले गाउँपालिकाभित्र सञ्चालित सबै वित्तीय संस्था, सहकारी संस्थाका कामकाज ठप्प पार्ने, मुख्य बजार क्षेत्र मिलनचोक, मोहनचोक, वारीवेनी, बगरफाँट, लस्तीलगायतका क्षेत्र बन्द गर्ने, निर्णय गरेको छ ।