ट्रम्पलाई फ्लोरिडामा महत्वपूर्ण सफलता, मतगणना रोक्न सर्वोच्च अदालत जान सक्छुः ट्रम्प

ट्रम्पलाई फ्लोरिडामा महत्वपूर्ण सफलता, मतगणना रोक्न सर्वोच्च अदालत जान सक्छुः ट्रम्प

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक १९, २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपतिका लागि मंगलबार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ । चुनावी परिणामहरुको रुझानले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विजय हासिल गर्ने देखाएको छ । 

तर राष्ट्रपतिका दुबै उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्पले चुनावी नतिजा आफ्नो पक्षमा रहने दाबी गर्नु भएको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले निकै महत्वपूर्ण मानिने फ्लोरिडा राज्यमा विजय हासिल गर्नु भएको छ । 

करोडौं मत गणना गर्न बाँकी रहेकै अवस्थामा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट बोल्दै निर्वाचनमा आफूले जित्ने निश्चित भइसकेको तर धाँधली हुने सम्भावना अझै रहेको दाबी गर्नु भएको छ । उहाँले चुनावी परिणामलाई लिएर आफू सर्वोच्च अदालत जाने पनि बताउनुभयो । 

उहाँले भन्नुभएको छ, 'साँच्चिकै भन्नुपर्दा चुनाव हामीले जितिसक्यौं । चुनावमा धाँधली भएको पाइएको छ, र यो हाम्रो मुलुकका लागि निकै दुःखद पक्ष हो ।' उहाँले आफूले चुनावी नतिजाको विषयलाई लिएर सर्वोच्च अदालतमा चुनौती दिने पनि बताउनुभयो । 

उहाँले चुनावमा सहयोग गर्ने परिवारका सदस्य तथा मतदानमा भाग लिने जनता सबैलाई धन्यवाद दिनुभयो । 

राष्ट्रपति ट्रम्पले चुनावमा आफू विजयी भइसकेको भनी गर्नु भएको दाबीलाई रिपब्लीकन पार्टीकै कतिपय वरिष्ट सदस्यहरुले अपरिपक्व भनाई भन्दै ट्वीट गर्नु भएको छ ।