कोरोनाको जोखिसँगै अपराधमा कमी

कोरोनाको जोखिसँगै अपराधमा कमी

लोकसंवाद संवाददाता  |  अपराध  |  कार्तिक १९, २०७७

चितवन । कोरोना भाइरस सङक्रमणको उच्च जोखिमका कारण बजारमा मानिसको चहलपहल घटेसँगै आपराधिक घटनामा समेत कमी आएको हो । जिल्लामा गत वर्षको दशैंमा विभिन्न अपराधमा ४९ वटा मुद्दा दर्ता भएकोमा यो वर्षको दशैंमा ३९ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यवहादुर थापाका अनुसार गत वर्षको दशैंमा दर्ता भएको विभिन्न मुद्दामा ६१ जना पक्राउ परेका थिए भने यो वर्ष दर्ता भएका मुद्दामा ३३ जना पक्राउ परेका छन् । यही कात्तिक १ गतेदेखि १५ गतेसम्म दशैंको अवधिमा १२ जनाले आत्महत्या गरेका छन् । गत वर्ष दशैंको अवधिमा ९ जनाले आत्महत्या गरेका थिए । त्यसैगरी सो अवधिमा चार चोरी, चार जुवातास, एक लागुऔषध, दुई सवारीज्यान, चार सार्वजनिक हितविरुद्धको कसुर, सात फुटकर ज्यान, चार भवितव्य ज्यान र एउटा खोटा चलन (नक्कली मुद्रा) का मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसनर गत वर्ष सोही अवधिमा सबैभन्दा वढी सवर्जनिक हितविरुद्धको कसुरमा २० वटा मुद्दा दर्ता भएको थियो । त्यसैगरी फुटकर ज्यानमा तीन, सवारी ज्यानमा चार, लागुऔषधमा आठ, जुवामा तीन र कर्तव्य ज्यान, गौवध एबं ज्यान मार्ने उद्योगमा एक÷एक वटा मुद्दा दर्ता भएका थिए । 

दशैंको समयमा कोरोना सङ्क्रमण जोखिमका कारण मानिसको चहलपहल कम भएको तथा सुरक्षा व्यवस्था सबल र प्रभावकारी बनाइएका कारण आपराधिक घटनामा कमी आएको उहाँको भनाइ छ ।