रेडियोको वार्षिकोत्सवमा मानव सेवाघरलाई सहयोग

रेडियोको वार्षिकोत्सवमा मानव सेवाघरलाई सहयोग

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक २०, २०७७

वनेपा । रेडियो एबिसीले आफ्नो वार्षिकोत्सवका अवसरमा धुलिखेलस्थित मानवकल्याण समाज सेवाघरलाई सहयोग गरेको छ । रेडियो एबिसी एफएम ८९.८ मेगाहर्जको १४औँ वार्षिकोत्सवका अवसरमा सेवाघरलाई खाद्य सामग्री हस्तान्तरण गरिएको हो ।

सेवाघरलाई खाद्य सामग्रीसँगै प्रेसरकुकर, पानी तताउने इलेक्ट्रिक जगसमेत वितरण गरिएको रेडियोका स्टेशन म्यानेजर रमेश न्यौपानेले बताउनुभयो । संस्थाका अध्यक्ष सुमित्रा चौलागाईँले अपाङ्गता भएका, असहाय, मनोरोगी र ज्येष्ठ नागरिकको सेवा गर्न पाउँदा मनभित्रैबाट आनन्द भएको बताउनुभयो । सेवाघरले भक्तपुर र काभ्रेपलाञ्चोकमा गरी २०० जनाको उद्धार गरी ७५ जनालाई परिवारमा बुझाएको र २१ जनाको मृत्यु भएको जनाइएको छ । हाल सेवाघर धुलिखेलमा ज्येष्ठ नागरिकसहित १४ जना  छन् ।