दुई पूर्वजर्नेललाई जंगी अड्डाले किन दियो चेतावनीपत्र

दुई पूर्वजर्नेललाई जंगी अड्डाले किन दियो चेतावनीपत्र

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २३, २०७५

काठमाडाैं । सरकारले तयार गरेको सुरक्षा परिषद् विधेयकको आलोचना गर्ने दुईजना पूर्वसैनिक अधिकारीलाई जंगी अड्डाले नबोल्न सचेत गराउँदै पत्र काटेको छ । सुरक्षा परिषद् बैठक छलेर प्रधानमन्त्रीले राष्ट्रपतिलाई सिफारिस गरेर सेना परिचालन गर्ने प्रस्तावको विरोध हुँदै आएको छ । पूर्वसहायक रथीद्वय डा. प्रेमसिंह बस्न्यात र धर्म बानियाँले विधेयकको प्रावधानप्रति सार्वजनिक रूपमा आपत्ति जनाएका थिए । 

रक्षा मन्त्रालयले संघीय संसद् सचिवालयमा २९ फागुनमा ‘राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ दर्ता गरेको छ । विधेयकमा संविधानमा नभएको संकटको कल्पना गरिएको छ भने त्यो अवस्थामा विधि नाघेर प्रधानमन्त्रीले सेना परिचालनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने प्रावधान राखिएको छ । यसको विरोधमा बोलेका दुई पूर्वसहायक रथीलाई सरकार र सेनाबीच कुनै फरक मत नरहेको भन्दै सरकारको आलोचना नगर्न सचेत गराइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।