हुन्डरीपछिको हन्डर : सचेत नभए अर्को प्रकोपको खतरा

हुन्डरीपछिको हन्डर : सचेत नभए अर्को प्रकोपको खतरा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २३, २०७५

बारा । ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ ...।’
आइतबार राति आएको हावाहुरीले बारा र पर्साका १६ बस्ती खण्डहरमा परिणत भए। उक्त सूचना छिनभरमा देशभरि फिजिएसँगै के पहाड, के हिमाल, बारा र पर्साको दुःखमा सबै नेपाली एकाकार भए। जसले जहाँबाट जे सकिन्छ, त्यही सहयोग गरे। सहयोगी हातहरु राहत सामग्री लिएर प्रभावित गाउँठाउँ झरे। राजनीतिक दलले पार्टीका नेता तथा कार्यकर्ता खटाए।

प्रधानमन्त्री केपी ओली सोमबार बिहानै प्रभावित क्षेत्रको निरीक्षणमा निस्के। उद्धारको काम नसकिँदै प्रधानमन्त्री किन प्रभावित क्षेत्रमा ओर्लिएका हुन् ? उद्धार चुस्त बनाएर राहत प्याकेज घोषणा गर्नुपर्ने प्रधानमन्त्री रित्तो हात हतारहतार किन आए प्रभावित क्षेत्रमा ? तराई मधेसका जनतामा आफ्ना बारेमा परेको मधेसविरोधी छाप चिर्न ओली बारा र पर्साको निरीक्षणमा निस्केको विश्लेषण थालिएको छ। प्रधानमन्त्रीमात्र होइन, उनी अध्यक्ष रहेकै दल नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपालसहितका प्रभावशाली नेता पनि एकपछि अर्को गर्दै प्रभावित क्षेत्रको अनुगमनमा निस्के। आजको नागरिक दैनिकमा खबर छ ।