परिषदको पूर्ण गठन हुन नसक्दा प्रशासनिक काम ठप्प

परिषदको पूर्ण गठन हुन नसक्दा प्रशासनिक काम ठप्प

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक २०, २०७७

ताप्लेजुङ । कोरोनाका कारणले लामो समय ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको पूर्ण गठन हुन नसक्दा प्रशासनिक काम ठप्प भएको छ । गत वर्ष जेठ २८ मा परिषद्को पाँचवर्षे कार्यावधि पूरा भएको थियो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले एक वर्षका लागि कार्यावधि थप गरेको थियो । एक वर्षको अवधि पूरा भएपछि परिषद् विघटन भएको थियो । परिषद् विघटन भएको पाँच महिनासम्म पनि पूर्ण गठन हुन नसक्दा परिषद् र मातहतमा रहेको परियोजनाको दैनिक प्रशासनिक काम गर्न नसकिएको  परिषद्का  लेखा अधिकृत मनकुमार लिम्बूले बताउनुभयो ।

विघटनपछि पूर्णता नपाएकाले आर्थिक तथा प्रशासनिक काम सबै रोक्का भई परिषद्अन्तर्गतका कर्मचारीलाई गत असारयता पारिश्रमिक दिन नपाइएको लेखा अधिकृत लिम्बूले बताउनुभयो । जडीबुटी सङ्कलन निकासी पुर्जी, वनपैदावारसम्बन्धी क्रियाकलापका साथै पर्यटन विकास पूर्वाधारसम्बन्धी काम सञ्चालन गर्न समस्या भइरहेको जनाइएको छ ।

समृद्ध पहाड परियोजना र  परिषद्बीच पाँच वर्षयता सम्झौता भएअनुसार कार्यक्रम सञ्चालन हुँदै आएको छ । लामो समयसम्म परिषद्ले पूर्णता नपाउँदा व्यक्तिगत लगानी गरेर केही कार्यक्रम गर्नुपरेको  परियोजना ताप्लेजुङका कार्यक्रम संयोजक चित्राकुमारी चङ्सूले बताउनुभयो । परियोजनाको सम्झौता गत असार मसान्तमा पूर्ण सम्झौता गर्नुपर्ने भए पनि परिषद् गठन नभएकाले अहिलेसम्म सम्झौता हुन नसकेको जनाइएको छ ।

परिषद् ऐन २०६४ को नियमावलीमा उल्लेख भएअनुसार परिषद्को पूर्ण गठन भएर आएपछि बरबुझारथपछि मात्र परिषद् अध्यक्षको कार्यअधिकार समाप्त हुने उल्लेख गरिएको छ तर जवाफदेहिता र नैतिकताको हिसाबले कार्यावधि सकेपछि कुनै पनि काम कारवाही नगरिएका परिषद् अध्यक्ष खगेन्द्र फेम्बूले बताउनुभयो । विभागले छिट्टै परिषद् पूर्ण गठनको वातावरण मिलाउनुपर्ने र नभए परिषद्लाई चलायमान बनाउन समयावधि तोकिएर कामकारवाही गर्न पाउने अधिकार विभागले दिनुपर्ने अध्यक्ष फेम्बूले बताउनुभयो ।

परिषद्को पूर्ण गठनका लागि विभागले गत  साउन ७ गते   पत्रमार्फत कात्तिक मसान्तसम्म परिषद्को पूर्ण गठन सकाएर विभागमा प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । विभागको निर्देशनानुसार परिषद्ले आफ्नो तयारी गरे पनि कोरोनाका कारण जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले तत्कालका लागि परिषद्को पूर्ण गठन गर्न पत्रमार्फत निर्देशन दिएसँगै  पूर्ण गठन प्रक्रिया रोकिएको कञ्चनजङ्घा संरक्षण क्षेत्रका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो । परिषद् लामो समय गठन हुन नसकिरहेका समयमा परिषद्ले खेप्दै आएको प्रशासनिक तथा अन्य समस्याका विषयमा तिहार अगाडि नै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा आफैँ पुगेर निकासको बाटो निकाल्ने प्रमुख संरक्षण अधिकृत तिवारीले जानकारी दिनुभयो ।