तिहारलाई लक्षित गरी सीमा नाकाबाट अनिधकृत पट्का भित्रिंदै

तिहारलाई लक्षित गरी  सीमा नाकाबाट अनिधकृत पट्का भित्रिंदै

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक २०, २०७७

वीरगञ्ज । हिन्दूहरुको महानचाड दशैँ सकिएलगत्तै तिहार पर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउन थालेका छन् ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विगत लामो समयदेखि नेपाल भारत मुख्य सीमा नाका बन्द रहेपनि तस्करहरुले अन्य विभिन्न खुला नाकाको फाइदा उठाउँदै सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटका भित्र्याउने गरेका छन् । 

तस्करहरुले पर्साको भिस्वा, सिकटा, भेलाई, इनर्वा, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिम्रोनगढ, कचौर्वालगायत नाकाबाट पटका ल्याउने गरेको देखिन्छ । प्रहरीले थोरै मात्रामा पटका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफनो पक्षमा पारेर पटकाको व्यापक तस्करी गर्ने गरेको छ ।

यसैक्रममा बुधबार बिहान ३ वजेको समयमा भारतको रक्सौलबाट  विभिन्न किसिमको पटका  खरिद गरेर ना२ह ३०४६ नंको अटोमा लुकाइछिपाई वीरगञ्जतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ बाट ठूलो परिमाणमा पटकासहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ इनर्वाका भुलन साह तुराहाका २० वर्षीय छोरा रन्जनकुमार साह र सिमावर्ती भारतीय बजार रक्सौल मौजेटोल बस्ने मौजी तुराहाका २६ वर्षीय छोरा राजकुमार गुप्ता रहेको छ । उनीहरुको साथबाट विभिन्न ब्राण्डका एक हजार प्याकेट पटका बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 
    
कयारियरवालाहरुले भारतको रक्सौललगायत भारतीय बजारबाट ती पटका वीरगञ्ज, कलैयालगायतका नेपाली बजारसम्म पु¥याए बापत सम्बन्धित व्यापारीसँग ५० प्रतिशत तथा काठमाडौँसम्म पु¥याए बापत अधिकत्तम दुई सय प्रतिशतसम्म लिने गरेको वीरगञ्जस्थित मीनाबजारमा भेटिएका एक तस्करले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् । 

ती कयारियरवालाले सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई आफ्नो पक्षमा पारेर भारतबाट विभिन्न समान ल्याउँदा त्यसभित्र पटका लुकाएर ल्याउने गरेको बताएका छन् । अति प्रज्वलनशील पदार्थको रुपमा रहेको पटका नेपाल भित्रिने गरेको बारे प्रहरी अधिकारीले अस्वीकार गरेका छन् तर सीमा नाकामा प्रहरीले भेटाएसम्म पटका भने समात्ने गरेको दाबी गर्दै आएका छन् । खासगरी भारतबाट आउने मालबाहक सवारीसाधन जीप, कार, टागाजस्ता गाडीमा पटका लुकाइछिपाई ल्याउने गरेको देखिन्छ ।