प्रधानमन्त्री ज्यू, स्वास्थ्य मन्त्री ज्यू, विगतको हैसियत भुल्नु भयो ! गरिबका दिन सकिएकै हुन् !?

लोकसंवाद टिप्पणी

प्रधानमन्त्री ज्यू,   स्वास्थ्य मन्त्री ज्यू,  विगतको हैसियत भुल्नु भयो ! गरिबका दिन सकिएकै हुन् !?

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २०, २०७७

तेह्रथुम जिल्लाको तत्कालीन इवा–२ मा २००८ साल फागुन ११ गते जन्मिनुभएका खड्गप्रसाद शर्मा ओली (केपी) २०७४ फागुन ३ गतेदेखि प्रधानमन्त्रीको कुर्सीमा आसीन हुनुहुन्छ । प्रधानमन्त्रीको वेब साइडमा राखिएको ओलीको जीवनी अनुसार उहाँहरू सपरिवार २०२० सालमा झापा बसाई सर्नुभयो । उहाँको परिवार झापा बसाई सर्नुको कारण सुखको खोजी यात्रा नै थियो । ओलीले जति सुकै फुर्ती लगाए पनि पहाडमा पनि उहाँहरूलाई भर पेट खान धौ–धौ भएर झापा बसाइ सर्नु भएको  थियो । 

झापा बसाइँ सरेको लामो समय बितेकै थिएन । कनकाईको बाढीले बस्ती नै स्वाहा बनाई दिएपछि त उहाँहरू ‘सुकुम्वासी’ नै बन्नु पर्ने अवस्था आइलाग्यो ।  प्रधानमन्त्री ओली एक वर्ष पनि नपुग्दै उहाँकी  आमाले सामान्य झाडा पखाला उपचार नापा निधन भएको थियो । बाबु मोहनप्रसादले अर्की आमा ल्याउनुको विकल्प थिएन । बाढीले घरबार विहीन बनाइ दिएपछि यस परिवारको चिल–बिहिल हुने नै भयो ।

ओलीका राजनीतिक दौंतरी राधाकृष्ण मैनालीका अनुसार २०२२/२०२३ सालतिर ओलीलाई रामनाथ दाहालले आफ्नो घरमा ल्याएर घैलाडुब्बा माध्यमिक विद्यालयमा भर्ना गरी दिएको बताउनु हुन्छ । रामनाथको पनि पहाड घर पनि वामै थियो । त्यसैले पनि उहाँले झापामै बसाइँ सरेर दुःख पाइरहेका ओलीलाई रामनाथले संरक्षण दिएका मैनालीको ठम्याई छ । रामनाथकै संरक्षण र सङ्गतले ओली झापाली बिद्रोहीहरुसँग निकट हुन पुग्नु भएको थियो । पञ्चायती सरकारले रामनाथलगायत झापा आन्दोलनका  पाँच जनालाई २०२९ साल फागुन २१ गते झापाबाट इलाम जेल सार्ने बहानामा सुखानीमा लगेर हत्या गरेको थियो । यसपछि ओली मोहनचन्द्र अधिकारी खोज्न विराटनगर तिर हानिनु भएको थियो । विराटनगर पुग्दा अधिकारी जोगिनीतिर लागेको सुइँको पाएपछि त्यतै पुगेर केही महिना कानपुरमा उखु गोडेर बस्नुभएको थियो । 

०३० सालमा उहाँहरू दुवै जना वीरगन्ज नाका हुँदै रौतहट पुग्नु भएको  थियो । त्यहीबाट पक्राउ परे पछि १४ वर्षसम्म जेल राखियो । पूर्व माले/एमालेका पुराना नेताहरू भन्छन्, ‘जेलबाट निस्किएपछि पनि ओलीको जीवन अभाव ग्रस्त नै थियो । झापामा जाँदा बस्ने स्थान समेत राम्रो थिएन ।’ ०४६ सालको बहुदलीय आन्दोलन सुरु हुनु अघि राधिका शाक्यसँग उहाँको बिहे भयो । त्यस बेला उहाँ पार्टीकै लालन पालनमा लुम्बिनी अञ्चलको इन्चार्ज हुनुहुन्थ्यो । आन्दोलन सफल भयो । आन्दोलनकारीहरूका दिन फिर्दै गए ।

समयमै अक्सिजन दिन सके आइसियु र भेन्टिलेटरको जरुरत धेरै सङ्ख्यामा पर्दैन । तर, यतिको लामो अवधि बित्दा समेत सरकारले नयाँ अक्सिजन प्लान्ट त थपेन नै, पुरानै बिग्रिएकोहरुको मर्मत सम्भार समेत गरेन । वीर र पाटन अस्पतालमा पहिलेदेखि नै अक्सिजन प्लान्ट थिए । ती बिग्रिएका छन् । सरकारले यत्रो सङ्क्रमण फैलिरहँदा तिनको मर्मत सम्भारसम्म सरकार वा स्वास्थ्य मन्त्रालयको प्राथमिकता परेन । 

प्रधानमन्त्री ओलीभन्दा ठिक १० वर्षपछि २०१८ साल पुस २१ गते त्यही तेह्रथुम जिल्लाकै तत्कालीन ओख्रे गा.वि.स वडा नं.१ ताक्लुङ्गमा जन्मिएका भानुभक्त ढकालले हातमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बागडोर सम्हाली रहनु भएको छ । उहाँ पनि कुनै धनाढ्य परिवारका व्यक्ति होइन । पहाडको दुःख छलेर सुख खोज्नकै निम्ति उहाँको परिवार पनि मोरङ झरेको थियो । राजनीति बाहेक अरु कुनै पेसा नहुँदै र कुनै राजकीय पदमा नपुग्दै ढकालले काठमाडौँ महानगरपालिका वडा नं. १४ बल्खुको आश्रममार्गमा घर जोडिसक्नु भएको थियो । लोकसमक्ष ढकालले त्यो घर श्रीमतीको आयले जोडेको भन्नु अलग कुरा हो । यहाँ यो आलेखमा प्रधानमन्त्री ओली र स्वास्थ्य मन्त्री ढकालको पृष्ठभूमि र लामो प्रसङ्ग उल्लेखको गर्नुको कारण के हो भने उहाँहरू दुवै गरिब र निमुखाको दुःखै नबुझ्ने सामन्ती परिवारको सन्तान हुनु हुन्थेन । तर समयले उहाँहरुलाई राज्य सञ्चालनको मुख्य ठाउँमा पुगेपछि विगतको हैसियत भुल्नु भएको छ ।  

तर, सिक्काको विपरीत पाटोका केही उदाहरण दिनका लागि पृष्ठभूमि प्रस्तुत गरिएको हो ।

उदाहरण एक

२५ वर्षदेखि त्रि.वि शिक्षण अस्पताल, महाराजगन्जमा कार्यरत लेखा अधिकृत ५४ वर्षीय राजाराम इटनीको अस्ति कात्तिक १८ गते बिहानै मृत्यु भयो । आफैँले काम गरेको अस्पतालमा आइसियु बेड नपाएर उहाँको दुखद निधन भएको थियो । धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. २ जन्मथलो भएका इटनी दसैँ मनाउन गाउँ  जानु भएको  थियो । त्यहाँबाट आफैँले मोटरसाइकल हाँकेर काठमाडौँ फर्किनु भयो । यहाँ आई पुगेपछि उहाँलाई हल्का ज्वरो र जिउ दुख्ने समस्या भयो । कात्तिक १७ गते सोमबार राती श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई त्रि वि शिक्षण अस्पताल, महाराजगन्ज ल्याइएको थियो । त्यस बेला उहाँमा अक्सिजनको मात्रा ४५ भन्दा कम थियो । निमोनियाले च्यापेको थियो । यसर्थ कटनीलाई तत्काल भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने थियो । तर, शिक्षण अस्पतालका डाक्टरहरूले त्यहीँ कार्यरत कर्मचारीका लागि भेन्टिलेटर छैन भनी दिए । अन्यत्र सोधखोज गरेर बुढानीलकण्ठको एउटा भेन्टिलेटरयुक्त अस्पतालमा पुर्‍याएको केही बेरमै डाक्टरहरूले मृत घोषणा गरी दिए ।   

उदाहरण दुई

काठमाडौँको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कात्तिक ७ गते ९ सय ३८ कोरोना आशङ्कितहरूले स्वाएको नमुना परीक्षण गराएका थिए । तर, १९ गतेसम्म आइपुग्दा एक सय हाराहारीमा झर्‍यो । यसो हुनुको एउटै कारण सरकारले कोरोना सङ्क्रमितहरूले आफ्नो उपचार आफैँ गर्नु भनेर उर्दी जारी गरेपछि परीक्षण गराउनेको सख्या एकाएक घटेको थियो । सर्वसाधारणहरू आर्थिक अभावमा परीक्षणमै जान थालेका थिए भने शुल्क तिर्न सक्नेहरू आफू अनुकूल अस्पतालमा पुगेका थिए । यसर्थ सङ्घीय राजधानी काठमाडौँमा उपलब्ध मध्ये राम्रो भनिएको टेकुको ल्याब सुनसान प्राय बन्दै गएको थियो । ०७७ चैत यता सरकारी अस्पतालमा निःशुल्क निःशुल्क स्वाब परीक्षण र उपचारलाई सरकारले कात्तिक २ बाट सशुल्क बनाएको थियो । 

उदाहरण तीन

कोरोना संक्रमका गम्भीर बिरामीहरूको चाप बढ्दै जाँदा मुख्य गरी अस्पतालहरूमा उनीहरूलाई सबैभन्दा बढी आवश्यक पर्ने अक्सिजन प्लान्ट छैन । स्वास्थ्यकर्मीहरुले मात्र होइन, कोरोना सङ्क्रमणबाट ग्रसितहरूले समेत अनुभव गरेको कुरा के हो भने सङ्क्रमितहरूलाई आइसियु, भेन्टिलेटरभन्दा मेडिकल अक्सिजनको आवश्यकता धेरै पर्छ । समयमै अक्सिजन दिन सके आइसियु र भेन्टिलेटरको जरुरत धेरै सङ्ख्यामा पर्दैन । तर, यतिको लामो अवधि बित्दा समेत सरकारले नयाँ अक्सिजन प्लान्ट त थपेन नै, पुरानै बिग्रिएकोहरुको मर्मत सम्भार समेत गरेन । वीर र पाटन अस्पतालमा पहिलेदेखि नै अक्सिजन प्लान्ट थिए । ती बिग्रिएका छन् । सरकारले यत्रो सङ्क्रमण फैलिरहँदा तिनको मर्मत सम्भारसम्म सरकार वा स्वास्थ्य मन्त्रालयको प्राथमिकता परेन । 

उदाहरण चार

वीर अस्पतालमा कार्यरत १६ जना चिकित्सकले कात्तिक १९ गते सामूहिक राजीनामा दिए । आकस्मिक कक्षमा कार्यरत चिकित्सकहरूले अस्पताल निर्देशक डा. केदार सेन्चुरी समक्ष राजीनामा बुझाएका थिए । कोरोना सङ्क्रमणको चुनौती मोलेर सेवामा खटिँदा समेत अस्पताल नेतृत्वले प्रोत्साहन गर्नुको सट्टा मनोबल गिराउने काम गरेकाले राजीनामा दिएको पीडितहरूका आवाज छ । 

चिकित्सकहरूले बुझाएको राजीनामा पत्रमा उल्लेख शब्दहरू यति मर्मस्पर्शी छन् कि संवेदनशील मान्छे जो कोही भावुक हुन्छ । उनीहरूले लेखेका छन्, ‘ज्यालादारी भनेर दसैँ, तिहार भत्ता दिइएन, एक दिनको तलब कट्टा गरेर दिइयो, पर्याप्त स्रोत सामग्री उपलब्ध गराइएन र धम्कीयुक्त भाषामा विभिन्न ठाउँमा चौबीसै घण्टा ड्युटी गराइयो । हप्ताको ९६ घण्टाजस्ता विभिन्न हतोत्साहित काम गराइएकाले हाम्रो मनोबल गिरेको जानकारी गराउँछौँ ।’ 

२०७२ असोज ३ गते जारी संविधानको धारा ३५ ‘स्वास्थ्य सम्बन्धी हक (१) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन ।’ त्यही धाराकै उपधारा ‘(३) प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ’ उल्लेख छ । यस अर्थमा यस बेला सबै नेपालीको स्वास्थ्य उपचार निःशुल्क छ । तर, ओली सरकारको रवैया खपिनसक्नु छ । उसले संविधानका धारा र सर्वोच्च अदालतको आदेश दुवै उल्लङ्घन गरिरहेको छ । 

यसो भन्दा फरक पर्दैन । प्रम ओली र स्वास्थ्य मन्त्री ढकालको मौनतामा रहस्यको गहिरो लेपन छ । समृद्धिका नाममा प्रम ओलीले योजना विहीन झुटको खाली भकारी देखाएर मतदातालाई ठगी रहनु भएको रहेछ । उहाँको समृद्धिको गफ त परै छाडौँ, कोरोना सङ्क्रमणले पुष्टि गरिसकेको छ । नेपालको इतिहासमा प्रधानमन्त्री ओलीलाई बचनको पक्का हुने, देशलाई साँच्चिकै समृद्धितिर लैजाने सायदै यो पहिलो अवसर थियो । २०१५ सालको आम निर्वाचनबाट बिपी कोइरालाले पनि दुई तिहाईको सरकार त बनाएका थिए । तर, उनको लोकप्रियतालाई निगरानी, नियन्त्रण र हस्तक्षेप गर्ने त्यो भन्दा बलियो राजसंस्था थियो । बिपी सरकारलाई त्यही राजतन्त्रले निलिदियो पनि । तर, यस बेला केपी ओलीमा देशप्रतिको साँचिएकै समृद्धिको चिन्तन भएको भए उहाँलाई कसैले रोक्न सक्ने थिएन । अझै पनि सक्दैन । तर, ओलीले हिजो आफ्नी आमाले झडापखालको उपचार नपाएर भएको विगतको आफ्नो हैसियत  र उहाँका सारथि ढकालले आफ्नो विगत पुरै भुलिसक्नु भएको छ ।  उहाँहरू जन्मिएकै धरातल पूर्वी पहाडमा प्रख्यात उखान ‘भालुको मन खन्युँमा मात्रै’ मा लिप्त भइरहनु भएको छ । 

युरोपी मुलुकहरूमा चर्चित भनाई छ, हरेक शोषितभित्र शोषक बन्ने चाहना लुकेको हुन्छ । मौका पाउनु पर्छ । रङ देखाई हाल्छन् ।’ सायद, प्रधानमन्त्री ओली र उहाँको ‘ग्याङ’ यही भनाइतिर रमाउँदै त छैन ? मतदाताले प्रश्न गर्नु पर्ने बेला भइसकेको छ  ।