बुवाले ताेड्नु भएकाे जेलमा नै बन्दी बनेँ

बुवाले ताेड्नु भएकाे जेलमा नै बन्दी बनेँ

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २३, २०७५

काठमाडाैं । १९९७ सालमा बुबा (गणेशमान सिंह) पक्राउ पर्नुभयो । ००१ सालमा उहाँले भद्रगोल जेल ब्रेक गर्नुभयो । राणाशासनलाई चुनौती दिएको भन्दै बुबाको ठूलो फोटोसहित गोरखापत्रमा ‘वान्टेड’ छापियो । म चकित भएँ । उहाँले भारतमा बिपी कोइरालासँग मिलेर कांग्रेस गठन गर्नुभयो । ००७ सालको क्रान्तिको तयारी गर्न फेरि नेपाल फर्किनुभयो । 

०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कु’ गर्दा म एक कक्षा पढ्दै थिएँ । प्रजातन्त्रको अपहरणपछि बुबालाई सुन्दरीजल जेलमा राखियो । त्यसवेला महिनाको एकपटक भेट्न पाइन्थ्यो । तर, बुबाले लामो समयसम्म कसैसँग भेट्नुभएन । के कारणले भेट्नुभएन, म सानै भएकाले उति थाहा पाइनँ । करिब तीन वर्षपछि मात्रै बुबासँग भेट भयो । 

हामी सपरिवार बुबालाई भेट्न गयौँ । जेलको गेटछेउमा भेट्ने ठाउँ थियो । फलफूलहरू लगेका थियौँ । प्रहरीले चाखेपछि मात्रै बुबालाई दिए । हामीलाई जेलको बिल्डिङ परपर घुमाइयो । मैले त्यहीँ पहिलोपटक किसुनजी (कृष्णप्रसाद भट्टराई), बिपी कोइराला, देवानसिंह राई र रामनारायण मिश्रलगायतलाई देखेँ । तर, उहाँहरूसँग दोहोरो संवाद भएन ।

जेलमा भेट्दा बुबाले ‘राम्रोसँग पढ’ भन्नुभएको थियो । बुबा जेल पर्नुको कारण धेरथोर थाहा थियो । बुबा त्यहाँ ८ वर्ष बस्नुभयो । जेलबाट छुटेपछि घरमा छोटो समय बस्नुभयो । त्यसपछि जिल्ला भ्रमणमा निस्किनुभयो । जिल्ला भ्रमणमा म पनि बुबासँगै गएको थिएँ । मधेसका जिल्ला घुमेको सम्झना छ मलाई । यो सामग्री आजको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेकाे छ ।