अवैध रुपमा पटाका लगायतका विष्फोटक पदार्थ रोक्न सीमामा प्रहरी परिचालन

अवैध रुपमा पटाका लगायतका विष्फोटक पदार्थ  रोक्न सीमामा प्रहरी परिचालन

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक २१, २०७७

महेन्द्रनगर । तिहारका लागि भारतबाट लुकिछिपी अवैध रुपमा पटाका लगायतका विष्फोटक पदार्थ भित्र्याउन नदिन कञ्चनपुर प्रहरीले तालिम प्राप्त कुकुर सहित प्रहरी परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले तिहार र छठ पर्वमा भारतीय बजारहरुबाट पटाकाहरु ल्याउन नदिन र सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर धनगढीबाट तालिम प्राप्त कुकुर मगाएर सीमा, बजार र बसपार्क क्षेत्रमा खटाइएको जानकारी दिनुभयो ।

' सीमाबाट पटाकाहरु भित्रिने सम्भावना रहने हुँदा हामीले हरेक दिन बिहान, दिउँसो र साझँ गरेर विभिन्न समयमा कुकुर परिचालन गरी जाँच गर्छौ', प्रवक्ता थापाले भन्नुभयो, ' गड्डाचौकीनाकादेखि पुर्वी डोकेबजार सीमानाकासम्म परिचालन गरी कडाइ गर्छौ ।'

भारतसित सीमाना जोडिएको कञ्चनपुरमा चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न प्रहरीले यहाँ सीमामा पहिलो पटक तालिम प्राप्त कुकुरसहितको जनशक्ति परिचालन गरेको हो । यात्रुहरुलाई मात्रै नभई सवारीसाधनहरुमा पनि कुकुरको सहायताले प्रहरीले जाँच गर्नेछ', उहाँले भन्नुभयो, ' चाडपर्व लक्षित सुरक्षा योजना समेत बनाएर ग्रामीण र सीमानाकासम्म प्रहरी खटिएको छ ।' जिल्ला प्रहरी कार्यालयको टोलीले एक साताअघि महेन्द्रनगर बजार क्षेत्रबाट रु डेढ लाख बराबरको ६ बोरा पटाका बरामद गरेको थियो ।