शिक्षक एवम् गुरुत्वकाे प्रभाव: शिक्षाको एकमात्र उद्देश्य पेट पाल्ने ढोङ !

शिक्षक एवम् गुरुत्वकाे प्रभाव: शिक्षाको एकमात्र उद्देश्य पेट पाल्ने ढोङ !

ज्ञानमित्र  |  साहित्य  |  कार्तिक २१, २०७७

प्रिय मित्र  राम ,

मेरा केमेस्ट्री  टिचर  राजबहादुर वर्मा कक्षामा मेरा प्रश्नले आजित भएपछि भन्नुहुन्थ्यो,' क्लास चलाउने जिम्मा तिम्रो हो कि मेरो' ?

तिमी कोर्स बाहेकका कुरामा जति ध्यान दिन्छौ, त्यसको आधी  मात्र  पढाइमा लायौ भने यो अरविन्द, सुनील, संजय, उमेश, राघवभन्दा धेरै राम्रो अङ्क ल्याएर पास हुन्छौ ।

हो, यी पाँचै जना विद्यार्थी परीक्षामा मभन्दा बढी अङ्क ल्याइ पास हुने गर्दथे । घरेलु परीक्षामा म अन्य पचास पचपन्न विद्यार्थीसँग समावेसी सम्बन्ध राख्दै आधा भन्दा बढी विषयमा 'ग्रेस' प्राप्त गर्दै क्लास चढ्ने गर्दथें । तर बोर्ड परीक्षामा भने महान लक्ष्य ५० प्रतिशत अङ्क प्राप्तिको राखेर ९० प्रतिशतभन्दा बढी सफलता आर्जित गर्दथें । भनाइको अर्थ कुनै पनि बोर्ड परीक्षामा मैले आफ्नै बलबुताले  घटीमा ४६.४ प्रतिशत अङ्क ल्याएकै हुन्थे ।

जीवन बुझ्ने, बाँच्ने मेरो तरीका सधैं आफ्नो नै  रह्यो । अब हेर्नुस न ५, ८, १०, १२ कक्षामा मैले सर्वाधिक ४९.६ र न्युनतम ४६.४ प्रतिशत अङ्क प्राप्त गरेको थिँए । तर मेरो नजरमा मेरो सफलताको प्रतिशत भने ९० प्रतिशत भन्दामाथि रहेको हुन्थ्यो । कारण स्पष्ट छ,  १०० अङ्कको प्रश्नपत्रमा मैले ५० प्रतिशत अङ्क ल्याइ उत्तीर्ण  हुने लक्ष्य राखेको हुन्थे । १०० मा ५० प्रतिशत ल्याउने लक्ष्य भएकोमा ४६ देखि ४९ प्रतिशतसम्म अङ्क ल्याउनु भनेको   ९० प्रतिशतभन्दा बढी सफलता  प्राप्त गरेको हुन्न र ?

तपाईँको गणित बेग्लै होला ।  मेरा गणितमा भने १०० अङ्कको प्रश्नपत्रमा  ५० अङ्क पौने लक्ष्य राखेर ४५ भन्दा बढ़ी अङ्क ल्याउनु भनेको ९० प्रतिशत सरहको  हुन्थ्यो।  कारण स्पष्ट छ मेरो लक्ष्य नै १०० मा ५० अङ्क ल्याउनु हुन्थ्यो त्यस लक्ष्य अनुसार मैले ४५ अङ्क ल्याउँदा मेरो सफलताको प्रतिशत ९० भन्दा माथी हुन्थ्यो। मेरो जीवनमा मलाई तपाईँले बुझ्ने  गणित अथवा अन्य कसैले प्रतिपादित गरेको गणितको के प्रयोजन ?  

तपाईंलाई विश्वास लाग्दैन होला। भारतको उत्तर प्रदेश राज्यको शाहजहाँपुर जिल्लाको  पुवायाँ तहसीलको पुवायाँ इन्टर कलेजका मेरा फिजिक्स टिचर  रामसागर श्रीवास्तव मेरो यस तर्कमा मसँग उभ्भिनु हुन्थ्यो ।

समस्त शिक्षा, शिक्षक एवम् गुरुको उत्तरदायित्व विषयको ज्ञान दिने होइन, विषय  अथवा ज्ञान प्राप्त गर्न मानिसको कुन ‘त्वरा’ लालायित भइरहेको छ त्यसको दर्शन गराउनु हो । यही बोध हो जुन तिमीमा पुर्व  देखि नै थियो, त्यसैले यो बोध गराउनेको आवश्यकता नै भएन तिमीलाई ।

उहाँ भन्नु हुन्थ्यो - हामीले बुझेको /जानेको गणित सैद्धांतिक मात्रै हो,  यसले भनेको गणित व्यावहारिक हो।  अब जब उसको लक्ष्य नै ५० अङ्क  ल्याउनु रहेको हुन्छ र उसले लक्ष्य अनुसार ४५ अङ्क ल्यायो भने उसको सफलताको प्रतिशत उसले भने अनुसार ९० प्रतिशत त हुन आउँछ।  अन्य केटाहरुको लक्ष्य १०० मा ८०-९० अङ्क ल्याउनु रहेको हुन्छ र उनी हरुले ७०-७५ अङ्क ल्याए भने  लक्ष्य अनुसार सफलताको प्रतिशत ८०  प्रतिशत पनि भएन।

वर्माजी मसँग आजित भइराख्नु हुन्थ्यो, कारण उहाँ कोर्सबुक अनुसार पैतालीस  मिनेटको क्लास लिन कक्षामा प्रवेश गर्नुहुन्थ्यो । मैैले प्रश्न एल्केमी माथि गरि दिन्थें । एल्केमी माथि उहाँले बोल्दै पैतालीस  मिनेट बितेको थाहै हुन्नथ्यो ।

कहिले म प्रश्न गरिदिन्थे आबर्त सारणी ( PERIODIC TABLE- DMITRI MENDELEEV) अनुसार आत्मा कुन तत्वले बनेको हुन सक्छ?

 वर्माजीको केमेस्ट्री कक्षाका पैंतालीस मिनेट स्वाहा हुन्थे  ।

मलाई फिजिक्स दुईजना श्रीवास्तव माडसाबले पढाउनु भयो । करुणाशंकर श्रीवास्तव र रामसागर श्रीवास्तव । उहाँ दुबैले पनि मलाई झेल्नु पर्‍यो  ।

वर्माजीले जुन दिन क्लासमा मलाई चुप लगाउन माथि लेखेको अर्ति दिनुभयो,त्यो उहाँका लागि घातक साबित  भयो ।

मैले प्रत्युत्तर दिँए - होइन माडसाब, पास म पैतीस नम्बर ल्याएर हुँ  कि नब्बे के नै फरक पर्छ ? मूल कुरा बुझ्ने हो, बुझेको पचाउने हो, के  तपाईँले भनेका यी पाँचै जनाभन्दा  बुझ्ने , पचाउने  र अभिव्यक्त गर्ने  कला मसँग बढी छैन र ?

तिमीले भनेको ठीक हो,  तर राम्रो अङ्क ल्याएर पास गर्यौ  भने तिम्रो भविष्य उज्वल हुन्छ।  डाक्टर, इन्जिनियर हुन सक्छौ, वर्माजीले भन्नुभयो ।

तर म डाक्टर, इन्जिनियर, बैंकर आदि केही हुन चाहन्न । म त जीवन बुझेर जीवनले जता डोर्‍याउँछ  त्यो हुन इच्छुक छु । लेखक हुन सक्छु, साहित्यकार हुन सक्छु, दार्शनिक हुन सक्छु,  वैज्ञानिक हुन सक्छु,  सन्यासी हुन सक्छु । र यी मध्ये केही पनि हुनलाई मैले 'डिस्टिङ्सन' ल्याएर पास गर्नु पदैन । त्यो दिनको पैंतालीस मिनेट पनि मेरै खातिर बलिदान भयो ।

घरेलु परीक्षाको परीक्षा समयमा  किताब नपल्टाइ नै परीक्षा सम्पन्न हुन्थ्यो । 'ग्रेस' लिंदै कक्षा उक्लिने गरिन्थ्यो । बोर्ड परीक्षामा भने स्कुल विदा पछि बाह्र  पन्ध्र दिन पढाइ गरेर 'मिशन ५०' प्रतिशतमा होम्मिन्थे । तर क्षमा गर्नु होला मित्र, योगानन्दझैं उत्तरपुस्तिकामा केही नलेखी पास गरेको होइन मैले,  लेखेर नै पास गरेको हुँ ।

अन्तिम समयमा मद्दत वर्माजी र श्रीवास्तव माडसाबकै हुन्थ्यो । दुबैजनाको  घरमा पुगेर कुनकुन 'च्याप्टर' पढेर पचास प्रतिशतको मिशन फत्ते गर्न सकिन्छ विमर्श मात्र हुन्थ्यो, पढाइ त्यो बेला पनि हुन्नथ्यो । विमर्शका दौरान दुबै जनाका श्रीमतीले हाम्रा लागि चार पाँच पटक चिया पकाउनु पर्थ्यो ।

तीनैजना माड़साबहरुका श्रीमतीहरुका लागि म अत्यन्त रुचाइएको गफास्टक  थिँए।  भक्तिमा होस कि दर्शनमा, सिनेमामा होस कि साहित्यमा उनीहरु मसँग चर्चा गर्न मन पराउँथ्ये। विभिन्न गीत गजलका क्यासेट, मनोज ,राजहंस, गुलशन नन्द, वेदप्रकाश शर्माका काम चलाऊ साहित्यदेखि प्रेमचन्द्र , रविन्द्रनाथ ,बन्किम ,शरतचन्द्र , गुरुदत्तका साहित्यका साथै त्यसबेलाका विभिन्न म्यागजीन माधुरी, साप्ताहिक हिन्दुस्तान, सरिता, कादम्बिनी, मनोहर कहानिया, नूतन कहानिया, क्रिकेट सम्राट, धर्मयुग, गीता प्रेसका धार्मिक पुस्तक, आचार्य श्री रामचंद्र शर्माको अखण्ड  ज्योति  आदि उनीहरुले मसँग मागेर नै पढ़न पाउँथ्ये।  स्थानीय तहमा उनीहरूको अडकेको काम पनि मेरो फुच्चे दादागिरीले सफलता साथ सम्पन्न हुन्थ्ये।  म उनीहरुका लागि  बडो काम लाग्ने केटो थिए।

जीवनको बहावमा बग्दै ७ जनवरी १९८४ का दिन म  त्यों ठाउँ छाडेर सधैका लागि  नेपाल आएँ।

३२-३३   वर्ष पछि वर्माजीको त्यो विद्यार्थी सन्यासीको पहिरनमा जब  उहाँको घर पुग्यो, उहाँले चिन्न सक्नुभएन । चिनेपछि अंगालो मार्नुभयो र भन्नुभयो, ‘तिमी जित्यौ, तिमीले संसारै जित्यौ’ ।

मित्र ! यो घटना घटेको चार वर्ष पछि यो लेख्दै गर्दा मेरो घाँटी अवरुद्ध बनेको छ, आँखा अश्रुमय बनेका छन् । यो भन्दा पहिला यतिको भावमय म कहिले भएको थिँए, मलाई स्मरण छैन ।

वर्माजीले सोध्नुभयो, के तिमीले डाक्टर अरविन्द,स्टेटबैंक म्यानेजर उमेश, सेन्ट्रल गभरमेन्ट अधिकारी राघव, (संजय र सुनील त्यो ठाँउ छोडेर अन्यत्र गएकाले उनीहरुको विषयमा कसैलाई थाहा छैन) लाई भेट्यौ ? मैले स्वीकृतिमा टाउको हल्लाएँ ।

मतिर नहेरेर बायाँपटीको भित्तामा हेर्दै उहाँले  सोचनिमग्न स्वरमा भन्नुभयो, के पाए यिनीहरुले ? यिनीहरुले हामी जस्ता शिक्षकको आज्ञा पालन गर्दै जीवन बाँच्ने ढोङ रोजे ।

विद्यार्थी जीवनदेखि नै जीवनलाई संघर्षका रुपमा लिए, आज पनि उनीहरुका लागि जीवन संघर्ष नै छ । म यी तीनै जनासँग सम्पर्कमा छु, के दिए यिनीहरुले समाजलाई

आफ्नो परिवार पालेका छन्, आफ्नै दाजुभाइ सँगको सम्बन्धपनि सुमधुर छैन कसैको ....। आफुमा सबै कुराले सम्पन्न छन्,  तर  कोही खुशी छैनन्, भौतिक सम्पन्नता छ सुखी कोही छैनन् । पढाइ सकेपछि कसैले एउटा किताब पनि पढेनन् । सोध्दा,‘समय नै छैन सर’ भन्छन । यिनीहरुले लिएको शिक्षाको एकमात्र उद्देश्य पेट पाल्नु रहेछ ।

अब हेर त, तिमीलाई भेट्नासाथ भएको खुशी त झन गहिरो दुःखमा परिणत भयो । मेरो सम्पूर्ण शिक्षक जीवन नै बेकार गयो । मैले एकजना विद्यार्थीलाई पनि शिक्षाको उपादेयता सिकाउन सकिन । जीवन बाँच्ने कला सिकाउन सकिन .......।

उहाँको अवसाद मत्थर पार्ने हेतुले मैले भने, माडसाब ! म पनि त तपाईंकै विद्यार्थी थिंए ।

व्यर्थको सान्त्वना नदेउ ! तिमी कहिल्यै विद्यार्थी थिएनौं ।तिमी जीवन उर्जा थियौ,  आज पनि म तिमीमा पुरुष होइन, प्रकृति नै परिचालित भएको अनुभव गरिरहेको छु । मलाई लाग्दैन अध्यात्ममा पनि तिमीले कसैलाई गुरु मान्यौ होला !?

मेरो प्रवृतिको यो कुन कस्तो विलक्षणता ( सिंगुलरिटी) उद्घाटित गर्नुभयो माडसाबले ! गुरु मान्नु त परै जाओस, म त एउटा सानो कालखण्ड बाहेक  जीवनमा कोहीसँग प्रभावित अथवा  ‘इन्सपायर्ड’पनि हुन सकिन ।

हो माडसाब, मेरो आफ्नो बोध बाहेक मैले कसैलाई गुरु थाप्न सकिन, मसँग यस्तो किन भयो मलाई थाहा छैन ।

समस्त शिक्षा, शिक्षक एवम् गुरुको उत्तरदायित्व विषयको ज्ञान दिने होइन, विषय  अथवा ज्ञान प्राप्त गर्न मानिसको कुन ‘त्वरा’ लालायित भइरहेको छ त्यसको दर्शन गराउनु हो । यही बोध हो जुन तिमीमा पुर्व  देखि नै थियो, त्यसैले यो बोध गराउनेको आवश्यकता नै भएन तिमीलाई ।

यो बोध त सबै मानिसमा हुन्छ होइन र माडसाब  ?

हो हुन्छ, तर समस्त किसिमका स्मृतिले थिचिएर विस्मृत भएको हुन्छ । मानिस जानकारीको संग्रहमा 'रोरिगं अप एण्ड डाउन, लेफ्ट एण्ड राइट’ गर्दै जीवन बिताउँछन । बोध सम्पन्न भएर पनि बोध विमुख रहन्छन् । म बोध विमुख बाँचे भन्नमा मलाई निराशा त छ तर तिम्रो सामू यो स्वीकार गर्नमा कुनै संकोच छैन ।  माडसाबले  दार्शनिक मुद्रामा थप्नु भयो, उपनिषदका ऋषिले भनेको, ‘के तिमीले त्यो एक जान्यौ , जसले  समस्त ज्ञान गराउँछ’ मैले गर्न सकिन । खेद त्यो ज्ञान पाउन नसकेकोमा होइन, दुःख त यसको छ त्यो ज्ञान सधैं मसँग थियो र म संसारभरीका पुस्तक ठेलीमा खोजी  रहें । वर्माजीको यो उद्गार र दुर्गा भण्डारीको पहिलो पटक सन्यासीको रुपमा मलाई भेट्दा दिएको अभिव्यक्तिमा पूर्णतया समानता थियो ।

मित्र  ट्वीटर र फेसबुकको यस युगमा पत्र लामो भयो, आजलाई यति नै। अर्को  कुनै पत्रमा यस जीवनको चर्चा र भोगाईलाई निरन्तरता दिँउला ।