प्रा.डा.चन्दा कार्की : पढाइमा अब्बलदेखि शिक्षण अस्पतालको नेतृत्व गर्ने पहिलो महिलासम्म
कार्तिक २१, २०७७

महोत्तरीको एउटा सामान्य किसान परिवारमा जन्मिएर देशकै प्रसूति तथा स्त्री रोगको क्षेत्रको विशेषज्ञता र शिक्षण अस्पतालको नेतृत्व गर्ने पहिलाे महिला सहित विशिष्ट पहिचान बनाउन सफल नाम हो– प्रा.डा.चन्दा कार्की ।

प्रा.डा.कार्कीले गर्नुभएका कार्य देशले समेत गर्व लायक छन् । गर्व यस कारण कि उहाँको कामको सम्मानमा अमेरिका, बेलायत जस्ता देशले पनि उहाँका कार्यलाई सम्मानस्वरूप  डिग्री प्रदान गरिसकेका छन् । 

जस्तोसुकै विषयमा अर्थात् परिस्थितिमा पनि आफू तथा आफ्नो कामलाई सहज ढङ्गले सम्पन्न गर्न सक्ने ज्वलन्त उदाहरण हुनुहुन्छ प्रा.डा.चन्दा कार्की । 

पढाइमा सधैँ अब्बल रहनु भएको उहाँको काम तथा जीवन भोगाइको एक फेहरिस्त हो यो आलेख । 

जन्म र बाल्यकाल

उहाँको जन्म जनकपुर अञ्चलको महोत्तरी जिल्लामा भएको हो । उहाँको बुवा खेती किसानीमै रमाउने कृषक हो । एक प्रकारले भन्नुपर्दा सामान्य किसान परिवार थियो उहाँको । आफ्नो खेतीपातीको आयस्ताले जीविका चलाउन पुग्ने परिवार हो उहाँको । 

महोत्तरीको औरही नैनीगौरी गाउँमा हो उहाँको जन्म भएको । २०१५ सालमा । उहाँको लिखित तथा आधिकारिक दस्ताबेजमा पनि यही मिति नै उल्लेख छ । 

उहाँको बुवाका आठ सन्तान । पहिलेका चार छोरी । त्यसपछि चार छोरा । उहाँ भने छोरीहरूमध्येको कान्छी छोरी हुनुहुन्छ ।

उहाँको बाल्यकालमा खास घर बाहिरका साथीभाइसँग खेल्ने रमाइलो गर्ने भन्ने त्यति रहेन । कारण उहाँको बुवाका पनि चार दाजुभाइ । सबै चारै जनाको घर लहरै थियो । अनि  आफ्नै दाजुभाइ दिदीबहिनी तथा काकाका छोराछोरी गर्दा पनि चालिस पचास जना पुग्थे । त्यस कारण पनि खेल्न अरु केटाकेटी समेट्नु पर्ने आवश्यकता नै परेन, उहाँ भन्नुहुन्छ । 

आँपको बगैँचा तथा खेत खलिहानमा दौडँदै, कुद्दै खेलिन्थ्यो । मनोरञ्जनका अरु कुनै साधन हुने कुरै भएन त्यस बेला, उहाँ भन्नुहुन्छ । फेरि घरमा काम सघाउनुपर्ने हुँदा  त्यति खेल्ने समय पनि हुँदैनथ्यो । त्यो समय त्यस्तै थियो, उहाँ भन्नुहुन्छ । 

प्रारम्भिक शिक्षा 

उहाँको प्रारम्भिक शिक्षा महोत्तरीमै भएको हो । महोत्तरीको प्रसाद सिंह हाईस्कूल । अहिले भने उक्त स्कूलमा बाह्र कक्षासम्मको पढाई हुन्छ । उक्त स्कूल उहाँको जिजु बुवाले नै खोल्नुभएको हो । उहाँ उक्त स्कूलमा एकै पटक चार कक्षामा भर्ना हुनु भएको  बिद्यार्थी हो उहाँ । उहाँले त्यहाँ चार कक्षादेखि सात कक्षासम्म पढ्नु भयो । 

मधेसमा काठको दुःख नहुने भएर पनि होला बस्ने डेस्कबेञ्च काठका नै थिए स्कूलमा । एउटा कक्षामा तीस/पैंतीस जना विद्यार्थी हुन्थे । अधिकांश सङ्ख्या केटाहरूको हुन्थ्यो । केटीहरू कम नै हुन्थे । 

केटीहरूको सङ्ख्या पनि थोरै र पढ्नमा पनि अब्बल भएका कारण उहाँको छनौट भने फस्ट बेन्च नै हुने गर्थ्यो । उहाँ परीक्षामा कहिल्यै दोस्रो हुनु भएन । कक्षामा त सधैँ पहिलो हुने छँदै छ सम्पूर्ण स्कुलभरिमै  पनि उहाँले दोस्रो हुनु परेन । 

उहाँको मामाघर काठमाडौँको कमल पोखरी । एक पटक आमा बिरामी हुनुभयो । आमालाइ काठमाडाैँ ल्याउनु पर्ने भयाे । अनि आमा स्याहार्न उहाँ पनि आमासँगै काठमाडौँ आउनु भयो । 

बुवाले बसमा चढाएर काठमाडौँ लिएर आएको थाहा छ । कता कताबाट त्यो भने याद छैन उहाँलाई । मामाघर काठमाडौँ नै भए पनि उहाँ पहिलो पटक काठमाडौँ आउनु भएको हो त्यस बखत । काठमाडौँको बारे भने त्यति धेरै याद छैन । 

उहाँको गाउँ औरही नैनीगौरीबाट जनकपुर जाने नै महाभारतको कुरा थियो त्यस बेला । बयलगाडामा जनकपुर-जयनगर ट्रेनको एउटा स्टेसन बिजुलापुर गएर त्यसपछि रेलमा जनकपुर आउनुपर्थ्यो । जनकपुरबाट एक पटक हवाईजहाजमा काठमाडौँ आएको भने याद छ उहाँलाई । त्यस बेला जनकपुरबाट काठमाडौँ सम्मको हवाईजहाजकाे भाडा पैँसट्ठी रुपैयाँ थियो । 

काठमाडौँ मामाघरमा उहाँले पढेको देखेर उहाँको मामा मोहन विक्रम थापाले यस्तो पढ्न मन गर्ने भान्जीलाई यहीँ काठमाडौँमै राखेर पढाउनुपर्छ भनेर उहाँले नै लिएर गएर स्कूल भर्ना गरिदिनु भयो । पद्मकन्या स्कूलमा । मधेसको केटी भएको हुनाले कुनै स्कूलले पनि भर्ना लिन मानेका थिएनन् । तर, उहाँको मामाले पहिले मेरो भान्जीको पढाई हेर । यदि पहिलो जाँचमा नै राम्रो नगरेको खण्डमा म झिकेर लैजान्छु भन्ने सर्तमा जमानी बसेर उहाँलाई भर्ना गरिदिनु भएको हो । कक्षा आठमा । 

त्यस बेला स्कूलको हेडसर हुनुहुन्थ्यो तुलसी बहादुर सिंह । उहाँ कालो लबेदा सुरुवालमा ठाँटिएर बस्नुहुन्थ्यो । साइकल चढेर स्कूल आउनुहुन्थ्यो । त्यस बेला साइकल चढ्दाको सान नै अर्कै हुन्थ्यो । व्यक्तित्व नै गजबको थियो उहाँको । 

पद्म कन्यामा पनि उहाँले कहिल्यै दोस्रो हुनु परेन । एसएलसीमा पनि उहाँको पहिलो श्रेणी नै हो । केटीहरूमा उत्कृष्ट भएर कमला पुरस्कार तथा स्वर्ण पदक पनि प्राप्त गर्नुभयो उहाँले । यो २०२९ सालको कुरा हो ।

त्यहाँ गएर केही समय पढेपछि उहाँ सुत्केरी हुन काठमाडौँ आउनुभयो । सुत्केरी भएको एघार दिनपछि न्वारन गरेर बच्चा आमालाई हेर्न छोडेर फेरि पढ्न बङ्गलादेश फर्कनु भयो । उहाँ पढ्न फर्केको मात्रै होइन कि उहाँले युनिभर्सिटी नै टप समेत गर्नुभयो । यो घटना भने उहाँको मानसपटलमा सधैँ रहने गरेको छ ।

 

उच्च शिक्षा

एसएलसी पछि उहाँ आइएस्सी पढ्नको लागि अमृत साइन्स कलेज जानुभयो । मामाघर कमल पोखरीबाट उहाँ हिँडेरै अमृत साइन्स कलेज, लैनचौरसम्म जानुहुन्थ्यो । मामाघरमा बसे पनि उहाँ आफ्नो खाना भने आफैँ बनाएर खाने गर्नहुन्थ्यो । 

त्यहाँ वायोलोजि लिएर दुई वर्ष अध्ययन गर्नुभयो । आइएस्सीमा पनि उहाँले फर्स्ट डिभिजन नै प्राप्त गर्नुभएको हो ।  कलेज पढ्दाका रमाइला कुरा गर्दा उहाँ भन्नुहुन्छ, पढाइ नै रमाइलो । पढाई बाहेक अरु कुरामा ध्यान नै जाँदैनथ्यो । 

डाक्टरी पढाई 

आइएस्सी गरिसकेपछि उहाँ इन्डियन एम्बेसीको छात्रवृत्तिमा आर.जि.कर मेडिकल कलेज कलकत्तामा पढ्न जानुभयो । उहाँले रुसमा पनि पढ्नको लागि छात्रवृत्ति भने पाउनु भएको थियो । 

भारतको सम्बलपुरमा पनि उहाँकाे नाम थियाे पढ्नेमा । मामाले नै लिएर जानु भएको थियो सम्बलपुर पनि । तर, त्यहाँबाट फर्किँदा कलकत्ता र रुसको पनि चिठी आएको थियो छात्रवृत्तिको लागि । 

शिक्षा मन्त्रालयले दिनभरि लगाएर जापानका लागि लिएको जाँचमा पनि उहाँ छनौट हुनुभएको थियो । तर, कलकत्ता नजिक तथा सबै दृष्टिकोणले उपयुक्त हुन्छ भन्ने मामाहरूले पनि भनेपछि उहाँ कलकत्ता जानुभएको हो पढ्नका लागि ।  जोगबनीबाट रेलमा गएर कलकत्ता पुर्‍याएर भर्ना गरेर मामा फर्कनु भएको हो । 

उहाँलाई कलकत्ता एमबिबिएस पढ्न जाने बेलासम्म पनि पढाई बाहेक खासै अन्य कुराको केही वास्ता तथा जानकारी नै थिएन भने पनि हुन्छ । त्यहाँ पढिरहनु भएको नेपाली सिनियर डाक्टरहरुले सहयोग गर्नुभयो । डा. दामोदर पोखरेलले त झन् बहिनी जस्तै माया गरेर धेरै नै सहयोग गर्नुभयो ।

बङ्गालीहरू पढ्नमा धेरै तीक्ष्ण हुन्थे । उनीहरूसँग पढाइमा प्रतिस्पर्धी भएर जानुपर्ने । त्यहाँ पनि दिनभर क्लास गयो, पढ्यो । लाइब्रेरी गयो पढ्यो । पढ्ने बाहेक केही पनि भएन त्यहाँ पनि, उहाँ भन्नुहुन्छ । 

पढाई बाहेक अरु कुरामा ध्यान नदिएकोले पढ्न भने खास गारो भएन, उहाँ भन्नुहुन्छ । बरु पछि तेस्रो वर्ष पुगेपछि भने पुरानो पनि हुँदै गइयो । बाटोघाटो, बस तथा रेलको बारेमा थाहा भयो । अनि यसो कहिलेकाहीँ घुम्न तथा सिनेमा हेर्न पनि जाने गर्नुहुन्थ्यो । 

त्यो बेला एमबिबिएसको कोर्स पाँच वर्षको हुन्थ्यो । एकवर्ष इन्टर्नशीप । अनि एक वर्ष गाइने वार्डमा हाउस जब गरेर उहाँ सात वर्ष पछि कलकत्ताबाट डा. चन्दा कार्की बनेर फर्कनुभयो । 

उहाँले डा. अनिमा विश्वासको रेखदेखमा रहेर हाउस जब गर्नुभएको हो एकवर्ष । मौका मिल्दा उहाँ अहिले पनि आफ्नो गुरुआमालाई भेट्न पुग्नुहुन्छ । उहाँले त्यति बेला सारै छोराछोरी जस्तै माया गरेर पढाउने, अह्राउने तथा सिकाउने गर्नुहुन्थ्यो । मौका पर्दा किताब पनि किनिदिने गर्नुहुन्थ्यो । 

डा.विश्वासले त्यहीँ पोस्ट ग्र्याजुएट गर्न नभनेको पनि होइन । तर, छोरी मान्छे बिहे पनि गर्नुपर्छ भनेर बाबुआमाले भनेको हुनाले पोस्ट ग्र्याजुएट नगरी उहाँ फर्केर नेपाल आउनु भयो । 

फर्केको लगत्तै बिहे  

उहाँ २०४२ सालमा कलकत्ताबाट डाक्टर बनेर फर्कनु भयो । अनि कलकत्ताबाट फर्के लगत्तै बिहे भयो । बाबुआमाले केटा खोजेर ठिक्क बनाएर राख्नु भएको रहेछ, उहाँ भन्नुहुन्छ । उहाँ पनि डाक्टर नै हुनुहुन्थ्यो । 

डाक्टर टेकेन्द्र कार्की । बाल रोग विशेषज्ञ । उहाँहरूको देख भेट तथा कुराकानी केही पनि भएको थिएन । त्यो बेलाको समय त्यस्तै थियो, उहाँ भन्नुहुन्छ । हाल डाक्टर टेकेन्द्र भने सरकारी सेवाबाट ‘रिटायर’ हुनुभएको छ । उहाँ कान्ति बाल अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । 

उहाँको दुई सन्तान । दुबै छोरी । दुबै जना डाक्टर । दुबै छोरीको बिहे समेत भैसकेको छ ।  जेठी छोरीबाट त दुई वर्षको नातिनी समेत भैसकेको छ । जेठी छोरीको सम्पूर्ण परिवार अस्ट्रेलियामा हुनुहुन्छ । 

कान्छी छोरी भने काठमाडौँ मेडिकल कलेजमा नै प्रसूति रोगको डाक्टर हुनुहुन्छ भने ज्वाइँ पनि काठमाडौँ मेडिकल कलेजमा नै बाल रोगकाे डाक्टर हुनुहुन्छ ।

पहिलो जागिर

बिहे भएको लगभग दश दिनमा नै उहाँलाई प्रसूति अस्पताल थापाथलीबाट काम गर्ने मान्छे भएन भनेर डा. जुनु थापाले काम गर्न बोलाउनु भयो । त्यसपछि उहाँको जागिर सुरु भयो प्रसूति रोगको डाक्टरका रुपमा । त्यो नै उहाँको पहिलो जागिर थियो । २०४२ सालमा सुरु भएको यो कामलाई उहाँले आजसम्म पनि निरन्तरता दिइरहनु भएको छ । करिब पैँतिस वर्ष भयो । 

त्यस बेला उहाँको तलब चौध सयदेखि सत्र सयको बिचमा हुनुपर्छ भन्नुहुन्छ उहाँ । त्यो नै उहाँको तलबका रुपमा पहिलो कमाई थियो । बिहे भैसकेको र आफ्नो काठमाडौँमा घर पनि नभएको हुनाले शायद घर खर्चमै त्यो पैसा सकिएको हुनुपर्छ भन्नुहुन्छ, उहाँ ।

यो पैँतिस वर्षमा उहाँले आठ वर्ष जति काठमाडौँ बाहिर पनि काम गर्नुभएको छ । प्रसूति अस्पताल पछि उहाँ पहिले भोजपुर जानुभयो । त्यस बेला भोजपुरमा खासै केही थिएन ।

बत्ती थिएन। अपरेसन कक्ष थिएन । व्यापारीहरूलाई अनुरोध गरेर उहाँले अपरेसन कक्ष बनाउन लगाउनु भयो । अपरेसनका लागि चाहिने अन्य उपकरण पनि केही थिएन । त्यो बिस्तारै स्वास्थ्य मन्त्रालयबाट व्यवस्था गर्दै व्यवस्थित बनाउँदै लैजानुभयो । यसै कारण अहिले पनि भोजपुरका मानिसहरूले उहाँको नाम स्मरण गर्छन् भन्नुहुन्छ, उहाँ । 

त्यसपछि उहाँ जानुभयो पोखरा । पोखरामा भने भोजपुरको दाँजोमा धेरै नै व्यवस्थित थियो । ठाउँ पनि सुन्दर । आइएमएफ नामक संस्था र मिशिनरीले हेरेको हुनाले पोखराको क्षेत्रीय अस्पताल धेरै नै व्यवस्थित थियो । उहाँ पोखरामा झन्डै साँढे पाँच वर्ष बस्नुभयो । 

अनि पहिलेको घोपा क्याम्पलाई बिपी मेमोरियल अस्पताल बनाउने भएपछि काम गर्न आउन डा.मदन उपाध्यायले अनुरोध गर्नुभयो । 

सरकारले उहाँलाई कोही प्रसूति रोग विशेषज्ञ नभएको हुनाले जान पत्र नै लेख्यो । अनि त्यहाँ करिब चार महिना जति बसेर डिपार्टमेन्ट स्थापना गरेर उहाँ फर्किनु भएको हो । त्यसपछि भने उहाँ पाटन अस्पतालमा काम गर्न थाल्नुभयो । 

त्यसपछि भने उहाँ काठमाडौँ बाहिर जानु भएको छैन । उहाँले काठमाडौँका प्रायः सबै सरकारी अस्पतालमा काम गर्नुभएको छ । 

काठमाडौँ मेडिकल कलेज

२०५७ सालमा सरकारी सेवा छोडेर उहाँ काठमाडौँ मेडिकल कलेजमा जानुभयो । त्यहाँ काम गर्न थालेको पनि बिस वर्ष भइसक्यो ।  २० वर्षे कार्यकालमा प्रसूति तथा स्त्री रोगको क्षेत्रको विशेषज्ञताकाे अतिरिक्त २०७३ सालमा र २०७५ सालमा गरी दुई पटक काठमाडौँ मेडिकल कलेजको प्रमुख कार्यकारी अधिकृत हुनु भएको थियो  । २०७५ मा भएको साधारण सभाबाट कर्मचारीहरूको तर्फबाट  निर्वाचित सञ्चालक समितिको सदस्य हुनुहुन्छ ।  

शिक्षण अस्पतालको नेतृत्व गर्ने पहिलाे महिला प्रा‍‍‌.डा. कार्की  दुई महिना अघि मात्र उक्त कलेजबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीबाट बिदा हुन भएको छ भने  उहाँ काठमाडौँ मेडिकल कलेजमा हाल भने प्राचार्यको जिम्मेवारीमा हुनुहुन्छ ।  

 भोजपुरको कुरा 

उहाँ भोजपुरमा त्यतिखेर काम गर्दा यातायातको सुविधा थिएन । हवाईजहाजबाट जानुपर्थ्यो । त्यो पनि हप्ताको दुईवटा मात्र फ्लाइट हुन्थ्यो । 

उहाँ हवाईजहाजबाट भोजपुर  उत्रँदा एक जना महिलाको शव त्यहाँ राखिएको थियो । के भयो भनेर सोध्दा बच्चा पाउन नसकेर पाठेघर फुटेर निधन भएको भनियो । त्यो घटनाले उहाँलाई मर्माहत बनायो । र, उहाँले भोजपुर छोडेर अन्त उपचार गराउन जान नसक्नेका लागि अवश्य केही गर्नुपर्छ भनेर भोजपुरमा आफ्नै अग्रसरतामा काम थाल्नु भएको थियो ।  शायद, आज भएको भए विभिन्न कानुनी अवरोधका कारण पनि त्यति काम गर्न सकिने थिएन, उहाँले विगत सम्झनु भयो । 

गाउँबाट उपचारका लागि आउने कतिपय बिरामीलाई फर्कने खर्च नभएर आफैँले खर्च दिएर पठाएका धेरै उदाहरण छन् उहाँसँग । 

ब‌ंगलादेशको स्मरणीय प्रसङ्ग

उहाँले बंगलादेशबाट डिजिओ गर्दाको एउटा घटना उहाँ कहिल्यै बिर्सनुहुन्न । उहाँ त्यति बेला बत्तीस हप्ताको गर्भवती हुनुहुन्थ्यो । अब छात्रवृतिमा पाएको सिट पढ्न नजाउँ भने पनि भएन । उहाँ गर्भवती नै भए पनि पढ्न जानु भयो । 

त्यहाँ गएर केही समय पढेपछि उहाँ सुत्केरी हुन काठमाडौँ आउनुभयो । सुत्केरी भएको एघार दिनपछि न्वारन गरेर बच्चा आमा तथा दिदीलाई हेर्न छोडेर फेरि पढ्न बङ्गलादेश फर्कनु भयो । उहाँ पढ्न फर्केको मात्रै होइन कि उहाँले युनिभर्सिटी नै टप समेत गर्नुभयो । यो घटना भने उहाँको मानसपटलमा सधैँ रहने गरेको छ ।

सङ्घसंस्थामा संलग्नता  

उहाँ काठमाडौँ मेडिकल कलेजको सिनेटको मेम्बर हुनुहुन्छ । नेपाल मेडिकल काउन्सिलमा चार वर्ष एक्जिक्युटिभको रुपमा काम गरेपछि त्यसबाट अहिले फुर्सदिलो हुनुभएको छ, उहाँ । काउन्सिलको मेम्बरका रुपमा पनि चार वर्ष रहनुभयो ।  

प्रसूति एवं स्त्री रोग विशेषज्ञ समाजको उहाँ पूर्व अध्यक्ष समेत रहिसक्नुभएको छ । उहाँले उक्त संस्थामा सोह्र वर्ष काम गर्नुभयो । 

प्रकाशन 

उहाँका विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा गरेर लगभग पचहत्तर जति लेख प्रकाशनमा रहेका छन् ।  साथै साहित्यको क्षेत्रमा उहाँको 'छरिएका पानाहरू' भन्ने कृति प्रकाशित छ । कलकत्ताबाट निस्किएको किताबमा पनि उहाँको एउटा च्याप्टर रहेको छ । ब्यांककबाट फर्केर आएपछि 'फेलाेशिप ट्रेनिङ एट ब्यांकक' भन्ने पुस्तक पनि प्रकाशन भएकाे छ ।  साहित्यको अर्को पुस्तक भने प्रकाशनको क्रममा रहेको छ । 

सम्मान तथा पदक 

उहाँले स्वदेशमा मात्र नभएर विदेशमा पनि थुप्रै सम्मान प्राप्त गर्नुभएको छ ।  उहाँ भोजपुरमा रहेको बेला भूकम्पको प्रतिकुल स्थितिमा पनि आफ्नो काममा खटिएकोले राजा वीरेन्द्रबाट दैवी प्रकोप उद्धार सेवा पदक प्राप्त गर्नुभएको छ । 

फिलिपिन्समा एसिया ओशिनिया फेडेरेशन अफ अब्स्ट्रिसन एण्ड गाइनाकोलोजिस्टबाट योङ गाइनाकोलोजिस्ट अवार्ड प्रदान गरेको छ । सन् १९९३ मा । 

अमेरिकन कलेज अफ अब्स्ट्रिसन एण्ड गाइनाकोलोजिस्टबाट सन् २००० मा इन्टरनेशनल फेलोसिप अवार्ड प्रदान गरेको छ । त्यस्तै अमेरिकाले उहाँलाई एफआइसिएसको डिग्री प्रदान गरेको छ ।

२०५८ सालमा राजा ज्ञानेन्द्रबाट वीरेन्द्र-ऐश्वर्य सेवा पदक प्राप्त गर्नुभएको छ ।   

सिभिल डेभलपमेण्ट रिसर्च सेन्टरले सिभिल डेभलपमेण्ट सर्भिस अवार्ड २०६७ प्रदान गरेको छ ।

रोयल कलेज अफ लन्डनले पनि सन् २०१९ मा उहाँलाई एफआरसिजी डिग्री प्रदान गरेको छ । यो डिग्री पाउने तीन जना नेपाली मध्ये उहाँ एक हुनुहुन्छ ।  

यी र यस्ता थुप्रै सम्मान तथा पदक प्राप्त गर्नुभएको छ उहाँले यो पैँतिस वर्षे सेवाको कार्यकालमा ।

अन्त्यमा     

काम गर्न र आफूले काम गरेको क्षेत्रमा अब्बल साबित गर्न केवल चाहिन्छ त लगन अनि पेसा प्रतिको इमानदारिता र प्यास । यो डा. चन्दा कार्कीको जीवनीबाट प्रेरणा लिन सकिने महत्त्वपूर्ण पाठ  हो । 

अर्को भनेको नामका लागि पारिवारिक पृष्ठभूमि वाधक होइन भन्ने कुरा पनि सिक्न सकिन्छ उहाँको भोगाइबाट । भलै यसले केही सजिलो होला तर, पृष्ठभूमि नहुँदा गर्नै नसकिने होइन भन्ने पनि सिकाउँछ उहाँको यो छोटो जीवन कथाबाट ।