दसैँको सपना

दसैँको सपना

रूपक अलङ्कार  |  साहित्य  |  कार्तिक २२, २०७७

सप्तमीको दिन बिहान काकाले खँड्कुलामा पानी बसाले पछि दसैँ लाग्यो । पुछार घरे माइलाले उल्याए पनि, 'ह्या मोरा अष्टमीमा पो खसी काट्ने त ।'  काकाले किन अरूका कुरा सुन्थे र ? आगो दन्काएर केराको थम्मा काट्न गए । काकाको आँगनबाट धुवाँको मुस्लो उठेपछि अरू चारपाँच घरका आँगनमा पनि ढुङ्गाको चुलो तयार भइवरि खँड्कुलामा पानी बसालियो । बस दसैँ एकै चोटि व्याप्त भयो । 'जहिले खसी काट्यो तहिले अष्टमी काकाले राग छोडे ।'

किस्ने ठुलाबा हिजैदेखि खुकुरीमा धार चम्काएर बसेका । जमानामा खुब खसी मार हान्दै हिँडे । जीवनमा कतिओटा अबोध पशुलाई टुक्र्याए हिसाब किताब छैन ।  उतै गएर चित्रगुप्तसित सोध्ने दाउमा छ्न् ।अहिले रोगी भए । खुकुरी उज्याउने दम पाखुरीमा छैन । तर जिब्रो गलेको छैन । मासुभन्दा तिन दिन जेठा । सानामा उनलाई देख्दा पनि डराउँथेँ म । अरू दिनभन्दा पनि दसैँको अष्टमीको दिन उनको रूप भयंकर लाग्थ्यो मलाई ।

आँखा  छेड्लान् जस्ता जुँगा, दशदिशा फैलिएका कपाल, हड्डी उछिटिएका गाला, हातमा रगत लतपतिएको खुकुरी, शिरदेखि पाउसम्म रगतका छिटाहरू, चण्डीको किताबमा भएको महिषासुर र किस्ने बा उस्तै लाग्थे मलाई । खसी मार हानेर यति छिटो गर्धन समात्न पुग्थे कि त्यतिबेला मलाई राँगोको ढाडमा चिथोर्ने देवीको वाहन सिंहको याद आउँथ्यो । तैपनि उनको पछि लागेर उनले खसी छप्काएको हेर्न जान्थ्यौँ हामी । उनी दिनभर महिषासुर रूप धारण गरेर गाउँ डुल्थे । द्याली, जात्रा जताततै उनको यो रूप देख्न पाइन्थ्यो । अहिले उनमा स्मृति बाँकी छ तागत छैन । मार हान्न नसके पनि पानी तताउने, हतियार उद्याउने, खरानी बेसार तयार गर्नेजस्ता कार्यमा उनको सकृयता उदेक लाग्दो छ ।

केही घरलाई छोडेर सबैका आँगनमा खसी ढले । 'ए पानी जिम्यो पानी जिम्यो । गिलास ले गिलास ले। बिलेट  त ल्याउनै बिर्सेछ धत्तेरिका। दारी काटेर राखेका होलान् नि त !´  यस्ता वाक्य त हरेकका मुखमा रामनाम भए । भुराभुरीले टाउको र डुँडीखुट्टा सम्हाले । कान त त्यत्तिकै गायब । गाउँ खसीको रौँले सुवासित भयो । लादीभुँडीले मग्मगायो । 

आशीर्वाद पनि पुरानै त हुन्  ' ल यस वर्ष भोज ख्वाएस् । मंसिर नकटोस् । ठुलो मान्छे भएस् । सम्झेर आइरहेस् । नाती देख्न पाऊँ । मैले त भन्नुपर्ने कुरा मन्मनै भनेको छु ।´ यस्तै यस्तै । कसैकसैले आयुर्द्रोणसुते भन्छन् तर कहिल्यै पूरा गर्न सक्दैनन् । जे होस् चिताएपछि पुग्यो । आशीर्वाद र श्राप सत्ययुगमा जस्तो ह्वात्तै लाग्दैन । लाग्ने भए हामी कुत्ताबिल्ली भइसक्थ्यौँ ।


'भात खाएर धोइपखाली गरे नि हुन्छ खसी', भान्छेले कौलासिन् ढोकाबाट । 'घरमा यत्रो खसी काटेर कसले खान्छ घिरौँलोसित भात ?' अघि खसीको खुट्टा समाउनेले तातो जबाफ फर्कायो । भान्से बाहुनी भित्र पसेर कसौंडी बसाल्न थालिन् । घिरौंलो खेर गयो । तहाँ उप्रान्त खसीको रहलपहल रहुन्जेल बारीमा धेरै तरकारी छिप्पेर गए ।

राजखानी बुढाले आफ्नै सम्पत्ति जसरी छुट्टै राखे टपरीमा । 'काँदो र पुच्छर छुट्टै राख्नुपर्छ नि !' बाहुनीले भित्रैबाट आदेश गरीन् । 'पर्सि नभई लिन आउन्नन् गनाइसक्छ पकाकै मासु दे भैगो नि एक कचौरा ।' 'पुच्छर मिसाउने हैन नि !' भान्से भित्रबाट कराउँदा कराउँदै बुढाले पुच्छर चुँडेर राजखानीमै मिसाए । आफ्नै भाग बढ्ने त हो नि ! ठिटाहरू भुँडी धोएर हाजिर  भएपछि मात्रै झोलसित भात चल्यो । घिरौँलो भाँडामै रोइरह्यो ।

'कोही सहरबाट आउनु छैन । छुट्टी भयो भन्दै ब्याग बोकेर आउने हैन कोही । सबै खानका कालहरू महिनौँदेखि गाउँमा नै थन्केका छन् । अनि फुलपातीदेखि गाउँमा सिनो परेर के गरोस् त ? 'अष्टमी हिंसावादीहरूले यसरी पनि सरापे । तिनलाई चलनचल्ती बिग्रेको चिन्ता हो कि मासु लुछ्न नपाएको झोक हो उनै जानून् । दसैँ भनेको काटमार मात्र हैन । पूजाअजा पनि हो । साधना उपासना पनि हो । भक्तिभाव पनि हो । मान्छे जमरा राख्न अर्काको घरमा जान्छ । मन्दिर जान भ्याउँदैन । चण्डीको पस्तोक कस्तो हुन्छ बाल मतलब !फुलपाती भित्र्याउन केके चाहिन्छ? अन्योल । नव दुर्गाको नाम कुन चराको नाम । तर खसी चैँ रोज्जा छानेर ढाल्छ । दसैँलाई कुप्रथा, अन्धविश्वास, प्रभुत्ववादी देख्ने प्रगतिवादी पनि उन्नत खसीकै खोजीमा दौडिरहेको हुन्छ ।

खान र खेल्नमा केको सिद्धान्त ? मासु अड्केला, नपच्ला भनेर गाउँलेहरूले कोक फ्यान्टाका जम्बो बोतल किन्न थालेका छन् । कतिले नदेखिने गरी पनि बोतल ल्याउँछन । खोल्चामा, झाडीमा रित्ता सिसीदेखेपछि मात्र अघिल्लो दिन बेलुका आइमाइको स्वर चर्को भएको कारण थाहा हुन्छ (बजारदेखि नै हल्लन झुल्लन भएर आउने वीर नेपालीहरूको कुरा बेग्लै छ ) । यो पनि दसैँको न्यास्रो लाग्दो पक्ष हो ।

सप्तमीमै खसीको भुँडी पखालेपछि अष्टमीदेखि त जनताहरू फुर्सदिला भैहाले । त्यसपछि आयो तासको पालो । जुवातासलाई वीरहरूले आफ्नो सान मानेका छ्न् महाभारतदेखि नै । अहिलेका मानिस पनि कम्ताका वीर छैनन् । नखेल्ने कुरै भएन । तासै छोइनभन्दा हात किरा परेर झर्लान् तर सय रूपया हार्ने गरी खेलिनँ । जुवामा सत्य टिक्दैन आफू परेँ खुब सत्यवादी । पैसा खेलेपछि मरिगए दाउ पर्दैन । थुकेरै तास भिजिजान्छ । `थुक्क कात्रो, चित्रो, खप्परै यस्तो, भाग्यले ठग्यो ।´ यस्तै त हो नि जुवाडेको लवज । तपाईं पनि जानिहाल्नुहुन्छ ।

'साला पाँच रुप्पेलाई रुन्छ ।'

'खेलै पाँचको छ त हजारको लागि को रुन्छ ?'

यसरी नै अष्टमी बित्यो । यसरी नै नवमी बित्यो । दिनको बारै घन्टा किट्टी खेले पनि सय पचासमाथि कारोबार पुगेन ।

हजुरबाका सन्तानले यसरी डाँडाकाँडा ढाके कि कोरम पुर्‍याउन  अन्त जानै नपर्ने भयो । ठुलो खाल खोज्दै गाउँतिर बजारतिर जाँदा पनि हुन्छ । तर न आफूसित त्यत्रो आँट छ न औकात । नदीमा हाम्फाल्दा मात्र जाडो हुने हो र ?  धारामा स्नान गर्दा पनि त जाडै हुन्छ । घरमै पाँच रुप्पे बोटमा किट्टी खेलेर दसैँ बित्यो । गाली, झगडा, छटपटी  त जहाँ जस्तो खेले पनि भइहाल्छ ।

भुराकै कन्तुर फुटाएर खुद्रा पैसा जम्मा गरियो । यसपालाका नोटमा छापा मेसिनको केमिकल बास्ना आएन । खुत्रुकेको ढुसी मात्र गनायो ।  लत्र्याक्क परेका, कुच्चिएका, रातो लागेका, टेप टाँसिएका जराजीर्ण नोटबाटै यस वर्षको आशीर्वाद खरिद बिक्री भयो । आशीर्वाद पनि पुरानै त हुन्  ' ल यस वर्ष भोज ख्वाएस् । मंसिर नकटोस् । ठुलो मान्छे भएस् । सम्झेर आइरहेस् । नाती देख्न पाऊँ । मैले त भन्नुपर्ने कुरा मन्मनै भनेको छु ।´ यस्तै यस्तै । कसैकसैले आयुर्द्रोणसुते भन्छन् तर कहिल्यै पूरा गर्न सक्दैनन् । जे होस् चिताएपछि पुग्यो । आशीर्वाद र श्राप सत्ययुगमा जस्तो ह्वात्तै लाग्दैन । लाग्ने भए हामी कुत्ताबिल्ली भइसक्थ्यौँ ।

सकेसम्म नयाँ लुगा नकिन्ने नीति अख्तियार गरियो दसैँमा । तर आफैँमा मात्र लागु भयो । माउ दुब्लो भए नि बाच्छाले धम्का मार्न किन छोड्थ्यो र ? भुराभुरीलाई नयाँ  नाना नभई दसैँ आएन । मन मार्नै पर्‍यो । कोरोनाको साम्राज्य छ । टीका लगाउन र आसिक लिन कतै जानुपर्ने हैन भन्दाभन्दै एकदुई ठाउँमा नगई नहुने अवस्था आयो । चैतमा लकडाउन हुँदा ल्याएका लुगा गाउँमा धस्दाधस्दा घुँडा र कुहिनो प्वाल परिसके । काखी र टांग उधृसके । तैपनि नयाँ किन्न जाँने साहस आएन । सरकारले नै नयाँ लुगा नकिन्नु भनेको छ । आफैँले समर्थन गरेको सरकारको आदेश कसरी लत्याउनु ?

दराजमा ठ्याक्कै दस वर्ष अगाडिको कोट रहेछ । लुगा पेल्ने मिसिनमा हाल्नबाट जोगिएको नत्र उहिल्यै डस्ना बनिसक्थ्यो । कोट निकाल्दा ढुसीको गन्धले कोठा हर्हरायो । भुकम्प अगाडिकै धुवाँले रंग पुरिएको (अहिले सरासर कोठामा धुवाँ छिर्न नपाउने व्यवस्था छ ) । ह्वील डिटर्जेन्ट पाउडरको झोलमा चोपले पछि कोटले सामान्य स्वरूप ग्रहण गर्‍यो । नयाँ हुने त चानसै भएन । कलरमा गाडिएको मैलो घिरौँलाको जालाले घोट्दा पनि गएन । विद्यार्थीकालमै धरहरा मुनिको सुपरमार्केटमा किनेको कोट । त्यतिबेला कोटले मेरो मात्र मेरा दौँतरीहरूको पनि उत्तिकै साथ पायो । कतिले यसैका भरमा डेटिङ भ्याए  । कतिले इङ्गेजमेन्ट ।

भवानी भिक्षुका शब्दमा अजेय गौरवशाली यस कोटको न्यानो साथ पाएपछि बाँकी दसैँ नरमाइलो हुने त कुरै भएन । साथ मात्र न्यानो हो । टाँक लगाउनका लागि एक बित्तै पुगेन भुँडीमा । टाँक नलगाएर त्यसलाई स्टाइल बनाउने सोच मेरो मगजमा आई त हाल्यो । कोटको फेर फर्फराउँदै लागेँ आशीर्वादको बजारतिर ।

आफन्तका घरमा  आफन्त जाँदा को खुसी नहोला र ? त्यसमाथि दसैँ भनेकै आफन्त भेट्ने हो । कोरोनाको महामारी सुरु भएपछि कसैसित भेटघाट छैन । न्यास्रो मेट्न पनि यो भन्दा उपयुक्त याम अर्को कुन आउला र ? मान्यजनहरूले टीका लगाइदिए, मनग्ये आशीर्वाद दिए, हातमा खाम पनि टक्र्याए जीवन धन्य भयो ।

बेलुका सानसँग खाम खोलियो । हरिया, निला नोटहरूको चांग लाग्यो अगाडि । एउटा खाममा त पाँच रुपैया रहेछ । कसैलाई नि नभनी राखेँ । राती सपना देखेँ - म दसैँमा जम्मा भएका खाम खोलिरहेको रहेछु । खममा पैसा रहेनछ । एउटा कागजको टुक्रा रहेछ । त्यसमा लेखिएको थियो, 'यत्रो महामारीका समयमा डुलिहिँड्न लाज लाग्दैन ? एक रुपैयाको नोट नभेट्टाएर धन्न पाँच रुपैया पाउनुभयो ।'