कोसेली

कोसेली

राहुल राई 'बोगीको'  |  साहित्य  |  कार्तिक २२, २०७७

गाउँमा निक्कै मान्यता पाएको परिवार । सबैले सम्मान गर्ने । सात बहिनी छोरी, दुई भाइ छोरा। घरबेटी बाबै परलोक गमन धेरै अघिनै भइसकेको। आमै लगायत काँइली, अन्तरी, जन्तरी, कान्छी,  चार छोरी दुई छोरा, एउटी बुहारी दुई नाति र नातिनी । ठुलै परिवार । सुखी परिवार । साह्रै गुणी परिवार पनि। कसैको कूभलो नगर्ने । बाटैको घर। मेला पात र हाट बजार मात्र नभएर ईम्फाल सहर जानुपर्दा पनि उनै घरको आगन नटेकी नपुगिने। परिवारमा सबै अति फर्साइला। मानौ सुख र खुशीको अनि दया र मायाको भण्डार नै छ सायद ! 

बाटो हिँड्नेलाई चिनेको होस या नचिनेको एकछण बसाएर दही, मही, भएन चिया पानी, चिसो तातो दिएपछि मात्र विदा दिने। यसरी गाउँको प्यारो परिवार पनि थियो। वरपरका गाउँ समाज, बटुवा व्यापारी सबैले यस परिवारको गुणगान गाइरहने गर्दथ्यो। संस्कारी परिवारमा हुर्किएकी छोरा छोरी सारै फर्साईला थिए। मिहनेती, जाँगरिला, फुर्तिला, उज्याला मुहारकाहरु थिए। गाउँको गारेघर माटोले पोतिएको भए पनि कुनै महलभन्दा कम थिएन । सफा, चिटिक्क, चिल्लो, सुकिलो। बारीमा अन्न बालीहरु उस्तै फस्टाउने। अनाजको सह नै यसघरमा बास गरेको थियो पक्कै। बाजेले बनाएको घर, बाबुले पनि छोडेर गईसकेको।

मेरो त्यस घरसँग चिनजान हुँदा छोराको थाप्लोमा जिम्मेवारी आइसकेको रहेछ। सन् २००१ तिरको कुरा हो। उनीहरुको घरमा ग्रहशान्तिको लागि बिजुवा राख्नलाई भनी पापालाई  धामी पक्रिनु आएका थिए । साँझको समयमा हामी घरैमा थियौँ। त्यस घरको ठुलो छोरा र उनको एकजना साथी रहेछन्। दुई बोतल आराखा राखेर पापालाई ढोगे। म आफ्नै काममा व्यस्त थिएँ। भोलिपल्ट उनीहरुको घरमा चिन्ता बस्न जानु पर्ने भयो । राईको मुन्धुम अनुसार माङपा धामीलाई चिन्ता राख्नुछ भने आराखा दुई बोतल राखेर बोलाउनु पर्छ । राईहरु यसलाई बिजुवा पक्रिनु भन्दछन्। बिजुवा पक्रँदा रक्सी र आराखाको बोतलले बुझ्नु पर्दछ । मरेको बाटो लाउनु हो भने चार बोतल। ग्रहशान्ति र घरको राप-झाप मात्रै हो भने दुई बोतल चाहिन्छ। पापाको ढोले म जाने भएँ। दिनको ३ बजेको हुनुपर्छ हामी पुग्यौँ । पुगेर केही समय नमस्कारको आदान-प्रदान भयो। मैले थान थपनाको लागि घुङरिङ सेउली  मागेर सरदाम बनाउन लागे । छिटै चिन्ता सक्नुपाए हुन्छ राम्रो भनेर।

म आगनमा बसेर घुङरिङ खिप्दैथिएँ,

'तपाई त के सारो सिपालु हौ के के बनाउनु भा’को यस्तो मज्जाले?'

'यो हाम्रो परम्परा अनुसार यसलाई घूङरिङ भन्दछ।बिजुवाहरुले यसलाई आ-आफ्नो तरिकाले यसरी फुर्काको तला तला बनाएर थान बनाई उपकार गर्छ नी !'

'ए हो तपाई त मुन्धुम निक्कै जान्नु हुँदो रहेछ। तपाई पनि धामी हो? '

'होईन म धामीको छोरा चैं हो, म ढोले हूँ।'

'निक्कै खुबि रहेछ तपाईँको त, हाम्रो कला संस्कृतीको कुरा पनि निक्कै जान्नुहुन्छ होला है ?'

'अली अली।'

'अनि तपाईँ चैं कुन बहिनी '।

'अन्तरी हो है म चैं।'

'आमामामा कत्ति बहिनी हौ तपाईँहरु ?'

'किन तर्सिनु भा’को मात्रै सात बहिनी त हो।'

'हाहाहाहाहाहा........... ।'

'किन हाँस्नु भा’को नी ?'

'मात्रै सात बहिनी भन्नु हुन्छ , तपाईँलाई कति बहिनी हुनुथियो र ?'

'हाहाहाहा तपाईँ त निक्कै मजाकिया हुनुहुँदोरहेछ।'

'तपाईँ पनी निक्कै फर्साईली, हासिली र सुन्दर हुनुहुन्छ।'

'होईन है म सुन्दर त छुईन है।'

'के भन्नु भा’को तपाईँ निक्कै मिठो बोल्नु हुँदोरहेछ। मलाई तपाईँको बोली, हाँसो र स्वभाव मन पर्यो।'

'लु यसरी त हुँदैन है आज अघि भर्खर त भेट भा’को हाम्रो।'

'के भयो त ? परिचय त भयो नी अनि।'

'हो त्यसो त मैले नयाँ साथी पाएँ।'

'हो र ? हामी साथी बन्नु सक्छौं र ? '

'किन नसक्नु र सक्छौं नी ! कि तपाईँ केटीहरुसँग साथी गर्नुहुन्न ? '

'मैले त्यसो भनेको होईन।'

'अनि किन सोध्नु भा’को ?'

'तपाईँलाई अपठ्यारो हुन्छ कि बा भनेर नि ! '

'ए मेरो चिन्ता नलिनु न म सानो मनको केटी होईन नि !'

'ए कत्रो छ तपाईँको मन चैं हेरौं न। हाहाहाहा .....।'

'हि ही ही ही ही कस्तो हँसाउनु भा’को मन देखाउनु मिल्थ्यो भने म थुप्रै साथी-भाइहरुको मन निकाल्दै हेर्ने थिएँ।'

'अनि तपाईको नाम चैं ?'

'बिना हो , अनि तपाईँको ?'

'सनीराम राई ।'

'ए हो ? सनीराम....कस्तो नसुनेको नाम कस्ले राखेको तपाईको नाम यस्तो ? '

'म आफैले नि !  किन मन परेन तपाईँलाई ?'

'ठिकै हो तर अलिक अनौठो लाग्यो र नि ! '

'हो र ? '

'हजुर।'

'मेरो न्वारानको नाम त दिलीप हो कि तर यो नाम अरु थुप्रैको रहेछ हो। जहाँ जाँदा नि दिली... भनेर बोलाउँदा हेर्नै पर्ने बा आफूलाई पो हो कि भनेर। त्यसैले कसैकोसँग नमिल्ने नाम राखेको नि !'

'ए ए.... मान्नुहुन्छ भने एउटा कुरा भनुम ? '

'भन्नु न ..........।'

'नाम फेर्नु हौ।'

'किन ? के नाम फेरूँ ? अब त यो नामले भर्खर परिचित हुँदैछु।'

'मलाई केटाहरुको एउटा नाम मन पर्छ, मैले मेरो यो गाउको केटा साथीहरुलाई कत्ति भनेँ तर कसैले मेरो मन पर्ने नाम राखेनन्। तपाईँको मुहार अनि स्वभावसँग ट्याक्कै सुहाउँछ। त्यो नाम राखौँन ल ? '

'किन नि नमानेको चैं ? '

'खैं ........! '

'भन्नु’न त सुनौं।'

'राहुल। राहुल राई।'

'हा हा हा हा हा हा हा हा.... '

'किन हाँस्नु भाको ? खिल्ली उडाउनु भा’को मेरो कुरालाई ? '

'होईन यो नाम त फ्लिममा शाहरुख खानले बेसी चलाउने नाम हो। त्यसैले यो नाम मन पराउनु भा’को ? तपाईँको फेवरेट हिरो रै’छ क्या शाहरूख ?'

'खै तर यो नाम सारै मन पर्छ हौ मलाई।'

'हुन्छ म आजबाट तपाईँको राहुल भएँ है त।'

'मेरो नै त नभनुम होला नाम चैं राहुल है आजबाट।'

दुवैजनासंगै हाँस्यौं- 'हा हा हा हा हा हा हा .........।'

'तपाईँलाई चैं मेरो नाम मन पर्‍यो ? '

'तपाईँको त राम्रै छ नाम। मन पर्‍यो है मलाई त । तर म पनि केटीहरु नाम मध्येमा एउटा नाम मन पराउँछु।'

'के नाम हो भन्नु न सुनौ ! '

'शर्मिला नाम सारै मन पर्छ मेरो पहिलो गलफ्रेण्डको नाम पनि शर्मिलै थियो।'

'अनि अहिलेको चैं ?'

'अञ्जना राई।'

'कहाँको ? '

'सिक्किमको।'

'त्यसो भए म आजबाट तपाईको शर्मिला ल ! मलाई शर्मिला भनेर बोलाउनुन है !'

'हुन्छ यो त खुशीको कुरा हो मेरो लागि त !'

समयको रप्तारसंगै हाम्रो मित्रता पनि गतिशील बन्दैगयो। त्यस घरमा अरु छोरीहरु सबैनै हँसिला नै। सबैसँग साथीको नाता गाढा हुँदै गयो। शर्मिलासँग भने निक्कै गहिरो मित्रता बन्यो। हामी दुई दिन एकार्कालाई नदेख्दा खल्लो महसुस हुँदथ्यो। मैले उनको आमालाई दिनी भन्थेँ। साईनोमा हामी चेली माईती पर्थ्यौं। मेरो घर मायाङखाङको माथि डाँडामा रोकिबा बस्तीमा थियो भने उनीहरुको मोहिङ ६ माईल काङपोक्पी माथि पर्थ्यो।

हाम्रो घरबाट म हिँडेर उनीहरुको घरमा आउँदा घरदेखि डाँडा निक्लेर ओरालो १५ मिनेट जति हिँडेपछि आसाम मणिपुर राज्य राजमार्गै मार्ग हिँडेर चाङाबुङसम्म आईपुग्नु पर्थ्यो। चाङाबुङबाट केही पर्तिरबाट ओरालो झरेर नुनपानी खोला तरेर उकालो ३० मिनेट जति हिँडेपछि शर्मिलाको घर पुग्ने । मेरोमा उनी हप्ता दिन बसी भने म उनकोमा उसैगरी भुलिन्थें। बेलुकी उनकोमा होस या मेरोमा सबै परिवारनै बसेर मिठा मिठा गफ हुने। हाँसो-मजाक चल्ने। राम्रा राम्रा गफ हुने। ओछ्यान पसेर सबै निदाए पनि हामी दुई आ-आफ्नो ओछ्यानबाट अँध्यारोमै भए पिन गफ रातभरी नसकिने।

 मोहिङ सातमाईल,पाँच माईल, राई बस्ती, कालापहाढ, ईराङ, सेनापति, हाम्रो शान्ती बस्ती सबै ठाउको पूजा, बिहे कार्जे, साहित्यिक-सांसकृतिक कार्यक्रम आदिमा हामी सङ्गै पुग्थ्यौं। राती वा दिउँसो हामी दुईलाई फरकै थिएन। हामी दुईमा नकरात्मक सोँच कहिले आएन। हामीले एकअर्कालाई कहिले पनि तिमी भनेर सम्बोधन गरेनौं। 'तपाईँ' नै मान- सम्मानसँग इज्जतसँग बोल्थ्यौं।

हामीलाई गाउँ, समाज, साथी, वर-पर, परिवार कसैले कुनैदिन पनि नराम्रो शब्द भनेनन्। सबैले हाम्रो मित्रतालाई सल्यूट गर्थ्यो। बिस्तारै समयसँग हामीमा पनि परिवर्तन आयो। विशेष उनको परिवारमा थाम्नै नसकिने भुँईचालो आयो।

बाजेले बनाएको घर, बाबुले पनि छोडेर गईसकेको। उनको दाजु जेठाको थाप्लोमा जिम्मा परेको त्यो घरमा आमा त थिईन्। तर समयले कालो बादल लिएर आयो। कालो बादलमात्रै कहाँ र ! कालो जिन्दगी बोकेर आयो। आमा निक्कै लामो बिरामी परेर बाबु गएकै अनाम शहर जानुभयो। जसोतसो जेठा दाजु-भाउजूको सहारा बाँचेको थियो त्यो परिवार । त्यो पनि एकदिन बरण्डा छेउको कोठामै दाजुले आत्महत्या गरेछन्। दुई नानीहरु सानै थिए। भाउजूले एक साल पर्खिएर अर्कैसँग पोइला हिँडीन। काँईली छोरी नागाल्यान्ड लियाईबाट फर्किन्दा पहाडीको बाटो गाडी पल्टेर टाउकोमा ठुलै चोट पर्यो। मानसिक सन्तुलनमा नै अलिक असर परेछ। महिनौं डाक्टरकोमा बसे पनि खासै राम्रो हुनसकिनन्। जन्तरी मणिपुरी समुदायको केटासँग भागिछिन्। कान्छीको पढाईमा ठुलै धक्का पर्यो। अन्तरी यानी शर्मिला दिल्ली जाने भईन्। कान्छा पनि कुसङ्गतमा परेर बिग्रियो।

त्यही समय म पनि ईम्फालबाट पोस्टिङ भएर उडिसाको भुवनेस्वर पुगेँ। हाम्रो मित्रता धमिलियो। त्यसबेला मणिपुरमा मोबाईल आएकै थिएन।एउटा हराभरा घर लथालिङ्ग र भताभुङ्ग बनेको आफ्नै आखाँले देखेपछि विश्वास भयो- समय साँच्चै शक्तिशाली मात्र होइन विनाशकारी पनि रहेछ।

बाटो त्यही, घर त्यही तर आज त्यो बाटो भएर हिँड्नेलाई आवाज लगाउने कोही छैनन्। बरू औंसी-पुर्णेमा हिँड्नेलाई खै आमाले हुन या छोराले बोलाउने गर्छन्’रे भनेर हल्ला फैलिएछ । त्यसैले त्यो बाटो हिँड्नेमा एकप्रकारको त्रास हुन्छ’रे! हुँदा सबैको हाई-हाई नहुँदा कोई न कोई भनेजस्तै विस्तारै सबैले त्यो परिवारको गुण पनि विर्सँदैगए।

म पनि त्यो गाउँ नगएको वर्षौं भयो। बिचमा फेसबुकमा शर्मिलासित फेरि साथी बनेँ। मलाई बिनाकै नामबाट फ्रेण्ड अनुरोध आयो। कुरा हुनथाल्यो। मैले त आज विश्वमा आफूलाई 'राहुल राई 'बोगिको' नामले नै परिचित भएको कुरो बताएँ ।उनको  नाम भने बिनानै रहेछ। कति कुरो सोध्नु थियो तर अचानक उनले मलाई ब्लक गरिन्। सम्बन्ध फेरि विच्छेद बन्यो।

उनैको कोशेली हो मेरो नाम। जुन नामले आज मलाई विश्वमा चिन्दछन्। विशेष मेरो मनमा सँधै बसिरहने अति प्यारो साथीको विशेष कोशेली हो यो नाम।

मेरो कोशेली 'शर्मिला'लाई  पनि सम्हालेकी होलिन् कि ?

फेसबुकको सर्च बटनमा  Sharmila Rai  लेखेर सोंचिरहेको छु ........।

खोजूँ कि नखोजूँ दोधारमा छु।

मणिपुर, भारत