मेरो पहिलो पटक नाइट क्लब गएको दिन ! आत्म प्रशंसा वा आत्म श्लाघा कसैको हत्या भन्दा ठुलो पाप हो !!

फर्कलान् र ती दिनहरू

मेरो पहिलो पटक नाइट क्लब  गएको दिन ! आत्म प्रशंसा वा आत्म श्लाघा कसैको हत्या भन्दा ठुलो पाप हो  !!

हरिविनोद अधिकारी  |  साहित्य  |  कार्तिक २२, २०७७

जब पुराना यादहरूको बिचमा पुगिन्छ, अनि सम्झनाहरूको त्यहाँ सभा हुन थाल्छ ।  कुन पहिले घटे होइन कि ती घटना किन र कसरी घटे भन्ने कुराको सम्झना अस्पष्ट र धमिलोरुपमा देखिन्छ । कुनै अहिले पनि स्पष्ट देखिन्छ अनि कुनैचाहिँ बिस्तारै बिस्तारै खुल्दै गएको हुन्छ, अनि सम्झनामा आउने कुरो भनेको  ती घटनाहरू कसरी घटे ? जानेर घटे कि नजानेर घटे ? या अचानक घटे ? एउटा कुरा त पक्कै पनि भोगिसकिएको हुन्छ परिणाम । ती परिणामहरूको अनुभव नै यादहरू हुन् । कुनै यादहरू स्मरणीय हुन्छन् जसले अहिले पनि खुसी दिन्छन् त कुनै घटनाहरू जब जब सम्झन थालिन्छ, अनि कुटु कुटु मुटु दुख्छ र नसम्झन पाए पनि हुन्थ्यो भन्यो, तीचाहिँ झन् झन् स्पष्टसँग स्मृतिमा आई नै रहन्छन् । 

झन् हामी जस्ता, या म र मजस्तै कुनै पनि, एउटा सामान्य परिवारको बच्चो जब राजधानीको यो अनकन्टार जँघार तर्न आइपुग्छ, नयाँ भवसागरमा फस्छ या त त्यहाँ पक्कै पनि कोही जँघार तार्ने हुनुपर्छ या त अन्धकारमा बाढी आएको खोलोमा जँघार तरेजस्तै गरी होमिनु पर्छ खोलामा । एउटा कल्पना गरौँ, पहाडको खोलाको तिरमा । एक्लो ज्यान छ ।  झमझम पानी परेको छ, कुनै ओढ्ने छैन, झोला जरुरी कागजातसहित खाने र लाउने सामान छन् । खोलो बाढी आएको छ, कहिले लाग्छ यो खोलो तर्न सक्छु, कहिले लाग्छ बगाउने पो हो कि ? अनि पारी एउटा गोठ छ पिलपिल बत्ती पनि बलेको छ । खोलाको आवाजले कसैले पनि आफ्नो आवाज सुन्न सक्दैन । तरूँ खोलाले बगाउने हो कि, नतरूँ रातभरि खोलाको छेउमा, चिसो स्याँठमा कसरी बस्न सकिएला, फेरि लाग्छ बाढी अरु पनि थपियो भने कसरी कता जानु होला, कसरी पार लाग्ने होला, या त कसैले थाहा नपाउँदै यो ज्यान पो जाने हो कि ? चुक घोप्टाए जस्तै राती भएको छ ।

त्यो बेलामा एउटै ध्याउन्न हुन्छ, वर्तमानको समस्या कसरी समाधान होला , या गर्न सकिएला ? अनि कुनै बटुवा आफूजस्तै एक्लै आयो र खोलो तर्न थाल्यो भने अनि सहयोग मागिन्छ । कसरी पार पाउने भन्ने कुरामा ऊ जत्ति सहयोगी कुनै पनि हुँदैन । सायद लियो तोल्स्तायको तीन प्रश्नहरू भन्ने कथाले त्यही कुराको एउटा झल्को दिएको छ । कुन समय महत्त्वपूर्ण हो ? कुन व्यक्ति महत्त्वपूर्ण हो र कुन काम महत्त्वपूर्ण हो ? वर्तमान महत्त्वपूर्ण समय हो, आफ्ना अघिल्तिर आएको व्यक्ति महत्त्वपूर्ण व्यक्ति हो र तत्काल गर्नुपर्ने कामचाहिँ महत्त्वपूर्ण काम हो ।

अहिले आएर सम्झने भनेको ती कामहरू कसरी सम्पादन गरियो ? कामहरू  सम्पादन गर्दा जानेर गरिएको थियो कि अनुमानका भरमा गरिएको थियो कि कुनै अमिलो स्वार्थको परेर गरिएको थियो कि स्वहितको लागि गरिएको थियो ? अरूलाई त ढाँट्न सकिन्छ तर आफ्नो भित्री आत्मलाई कसैले पनि ढाँट्न सक्दैन, बरु धेरै कुराहरू बिर्सिएको चाहिँ हुनसक्छ । आफूबाहेक अरु साक्षी नभएको अवस्था छ, सम्झने पनि  आफ्नै भागमा अनि बिर्सने पनि आफ्नै भागमा । कति कुरा अझै पनि स्मरणमा हुनसक्छ अनि कति कुरा विस्मृतिमा यसरी गएको हुन्छ कि जति सम्झन थाल्यो, उत्ति अन्योलग्रस्त सम्झना मात्र चुँडिएर आउँछ जसरी कि मुला उखेल्दा कहिलेकाहीँ चुँडिएर आउँछ ।

अलिकति सम्झनामा आउँछ तर कति पात्रहरू विस्मृतिमा गएका हुन्छन् । २, ३ वर्षसँगै एउटै कक्षामा पढेका साथीहरू, कतिसँग सँगै चिया खाइयो होला, कतिसँग सँगै खाना खाइयो होला अनि अन्तरङ्ग कुरा गरियो होला तर अहिले ती साथीहरू सबैको याद आउँदैन । तर एउटा अर्को साथी भेटियो र उसले पनि सम्झँदै गयो भने ती विस्मृतिमा धकेलिएका साथीहरू बिस्तारै बिस्तारै स्मृतिका पर्दामा चियाउन थाल्छन् । मलाई पनि त्यस्तै हुन्छ । 

अनि लाग्छ म को हुँ, कसरी आजसम्मको अवस्थासम्म आएँ र बाँकी दिनहरू अब कसरी बित्लान् ? बारम्बार यो तर्कले आफैँलाई गिजोल्छ र फेरि त्यही कर्म गरिन्छ जुन हिजोसम्म गरिएको हुन्छ । 

सर्वप्रथम मानिसले आफ्नो परिचय पाएको हुँदैन, अरु कसैले परिचय बनाइदिएको हुने रहेछ । तर ती सबै कुरा समाजमा हुने रहेछ । व्यक्तिका अनुभवहरू फरक फरक हुन्छन् र पनि ती  अनुभवहरूको मुहान भनेको  समाज नै रहेछ । समाजमा नै बा, आमा, दाजु भाइ, मावली , ससुराली अन्य नाताहरूको सुरुवात हुने रहेछ । २१ कुलको कुरा आउने रहेछ । अनि कुलको कुनै सकारात्मक नाम चलेको आदि पुरुष या कुनै पारिवारिक सदस्यको नामले चिनिने पनि रहेछ ।

सायद हामी पूर्वीय सभ्यताका, त्यसमा पनि  गोत्रका आधारमा दैनिकी चलाउने अनि विवाहजस्ता काम गर्नेहरूले  ग्रहण गरेको या प्रचलित गोत्रको आधार भनेको  परिवारहरूले तिनै आदि पुरुषको नामले गोत्र , प्रवर राखेका रहेछौँ । हामी अधिकारीहरूमध्ये कतिको गोत्र काश्यप छ, कतिको गोत्र भारद्वाज छ , कतिको अत्रि छ , कतिको माण्डव्य छ । अरु पनि होलान् अनि एउटा सर्वकालिक सिद्धान्त बनाइएको रहेछ कर्मकाण्डमा कि तोकिएका गोत्रहरू बाहेक सबैको गोत्र काश्यप हुने भनिएको रहेछ किनभने ब्रह्माले ऋषि कश्यपलाई नै सृष्टिको अभिभारा दिनु भएकोले रे !

अनि कृष्णले एउटा उपाय निकाले- आत्म प्रशंसा गरेमा त्यो कुनै हत्याभन्दा पनि ठुलो पाप हो , त्यसैले अर्जुनले आफ्नो प्रशंसा आफैँ गरुन् र युधिष्ठिरलाई गरेको गाली , हत्या गर्छु भनेर भनेको पाप पखालिने छ । ठिक त्यस्तै रहेछ आफ्ना बारेमा लेख्दा केन्द्रीय पात्र आफैँ , आफूले गरेका सबै काम ठिक , आफू मात्र जान्ने जस्तो , आफूले गरेको सबै कामले आजको यो अवस्था आएको जस्तो ।

 अनि हामी भण्डारी अधिकारीहरूको गोत्र काश्यप भएको रहेछ । हरि मञ्जुश्री भन्ने एक जना भाइ छ अनुसन्धाता । उनले यस्ता कुराहरूको अध्ययन गरेर सामाजिक सञ्जालमा राख्छन् र कतिकुराहरुको जिज्ञासा शान्त गराउँछन् । अधिकारीहरूमध्ये कतिले पहिले कार्की पनि लेखेका रहेछन् । जस्तो कि प्युठानको उदयपुर भन्ने ठाउँमा अधिकारीहरूको पद कार्की बनाएर पहिलेको ठकुरी क्षत्री राजाले राज्यको जिम्मा दिएका रहेछन् । जब बिपी कोइरालाको प्रधानमन्त्रित्वकालमा राजा रजौटा उन्मूलन गरियो, उनीहरूको राज्य गएछ ।

नेपालको सामाजिक विकासमा कार्की भनेको क्षत्रीहरूको एउटा सशक्त समूह पर्ने तर बाहुनहरूले कतै कार्की नलेखेकोले अहिले कतिले शर्मा लेखेछन् अनि कतिले अधिकारी नै लेखेका पाइन्छन् । वास्तवमा उनीहरू कार्की अधिकारी नै हुन् र ती काश्यप गोत्रका नै हुन् भन्ने मैले थाहा पाएको हुँ । एउटै थर लेखिने भए पनि गोत्र फरक हुँदा विवाह गर्ने सामाजिक चलन छ नेपालका बाहुन र क्षत्रीहरू अनि इतिहासमा दमन गरेर बनाइएका कथित दलित भनेर तल्लो जातमा पारिएकाहरूमा ।

हामीले विश्वकर्मा भनेर चिन्छौँ एउटा वर्गलाई जसले धातुको काम गरेर शिल्पी जीवन चलाएका थिए अतीतमा, उनीहरूको एकर्का जातिका हुने विवाहको लागि गोत्रको आधारमा मात्र हुन्छ । आजको जमानामा जातीय विभेद गर्नु पर्ने त्यस्तो केही पनि छैन तर दलित भनेर जुन भनिन्छ, ती प्रचलित भाषामा खस आर्यका सन्तान हुन् । खस आर्यको कुरा पनि विवादजन्य छ । तर यी सबै सम्झनामा मात्र आएका कुरा हुन् ,यो कुनै विभेदका लागि भनिएको होइन । समाज विकास क्रमको एउटा सम्झना मात्र गरिएको हो ।  

विभिन्न थर भए पनि गोत्र फरक हुने हुन्छ । हाम्रै नेपालमा पनि जुन जाति या समुदायमा जात प्रथा या जातीय विभाजन छैन, त्यहाँ पनि वैवाहिक कार्यका लागि कुनै मापन तयार गरिएको हुन्छ किनभने जति जाति छन् , ती सबै कुनै न कुनै बेलामा यहाँका राजा रजौटा थिए र उनीहरूको राज्य यतै कतै थियो । नेपालको एकीकरणपश्चात् सबै एउटै बगैँचाका फूल भएका हौँ र २०१६सालको राजा रजौटा उन्मूलनको घोषणा भएपछि सबै राज परिवारसमेत एउटै परिवार भएका हो।

पहिले धेरै राजा भएकाले नै नेपालमा महाराजाधिराज भनिएको होला, धेरै राजाहरूका पनि राजा भनेर । जस्तै पुराना राजघरानाहरू मगर, थारु, राजवंशी, किराँत, तामाङहरूको जातमा वर्ग विभाजन त छैन तर मिहिन तरिकाले हेर्दा त्यहाँ पनि विभाजन छ र त विभिन्न थरीको व्यवस्था गरिएको होला । नेवार समुदाय हो, जसलाई वा जसको भूमिमा गोपाल, महिष पाल, सोमवंश, किराँत , लिच्छवी, मल्ल र शाहहरूले राज्य गरे । नेवार समुदायमा बुद्ध मार्गी  पनि छन्, हिन्दु त छँदै थिए पहिले पनि, अहिले पनि, अहिले इस्लाम र इसाईहरू पनि छन् ।

तर सबैलाई हामी नेवार जातिका गणना गएका छौँ । म सामान्य जिज्ञासु मात्र हुँ, समाजशास्त्र, नृशास्त्रको ज्ञाता हुँदै होइन । तर नेपालका आदिवासीका बारेमा सर्सर्ती जे भनिन्छ,  त्यही मात्र भनिन्छ, यसमा शोधको आवश्यकता छ । आजको नेपालमा को को आदिवासी र कहिले देखिको समय सीमालाई मान्ने भन्ने अन्योल छ । जुन जातिको अनुसन्धाता हुन्छ, उसले त्यसैलाई आधार बनाउने चलन छ ।

हो, अतीतमा लडाइँ पनि हुन्थ्यो , पक्कै कसैले जित्थ्यो त कसैले हार्थ्यो । जित्नेको राज्य हुन्थ्यो अनि हार्नेको आफ्नो भूमिमा बास हुन्थ्यो । को आउँदा को मात्र थियो भन्ने पनि थाहा छैन किनभने नेपालको इतिहास राम्रोसँग लेखिएको नै छैन भन्नेमा म ढुक्क छु । 

जब सम्झनाको तरेलीमा पुगिँदो रहेछ, त्यहाँ राम्रो म हुने काम हुँदो रहेछ । आफूलाई सम्झने पनि आफैँ, आफूलाई थुमथुम्याउने पनि आफैँ, अनि आफूलाई आफैँले मन पराउने पनि हुने रहेछ । त्यसैले आत्मकथामा या पुराना सम्झनामा मुख्य पात्र वा हिरो आफैँ होइँदो रहेछ । अनि महाभारतमा भनिएको छ- आत्मश्लाघा कसैको हत्या गर्नु भन्दा पनि ठुलो पाप लाग्ने कुरो हो । आत्म प्रशंसा गर्दा त्यस्तो पाप लाग्छ भनेर भन्ने एउटा प्रसङ्ग यस्तो आउने रहेछ महाभारतमा । 

जब अग्निले अर्जुनलाई गाण्डीव धनु दिए र आवश्यकता परेको बेलामा तुरुन्त आउने गरी हनुमान झन्डामा रहने गरी रथ दिए, त्यस बेलामा एउटा सर्त के थियो भने कसैले पनि गाण्डीवको अपहेलन गरेमा अर्जुनले उसको हत्या गर्नेछन् । अर्थात् गाण्डीवप्रति अर्जुनको त्यति विश्वास थियो कि संसारमा सबैभन्दा मान्य भनिएको रहेछ । महाभारतको युद्धका बिचमा अर्जुनले भनेको रहेछन् - म एक दिन या दुई दिनमा कौरवको सबैको हत्या गरेर युद्ध जितेको घोषणा गर्नेछु । कौरवका सात महारथीहरूले चक्रव्यूह तोड्न गएका अर्जुन पुत्र महारथी अभिमन्युको हत्या गरे । पाण्डवहरू एक प्रकारले यति विह्वल भएका थिए कि जसरी पनि जयद्रथको हत्या गर्नु नै थियो । भयो पनि । अनि तत्कालै कौरव सेनालाई परास्त गर्नका लागि युधिष्ठिर अर्जुनलाई ताकिता गर्न थाले । अनि तिम्रो गाण्डीबले पनि केही गर्न सकेन भनेर गाण्डीवलाई गाली गरे पछि अर्जुनले आफ्नो सर्तबमोजिम राजा युधिष्ठिरलाई मार्नु पर्ने भयो र जाइलागे पनि ।

यो देखेर कृष्णले सम्झाए- युधिष्ठिर तिम्रा दाजु मात्र होइनन्, ती त राजा पनि हुन् जसका आदेशले तिमी यत्रो युद्ध गरिरहेका छौ । ती त तिम्रा पिताजी पछिका अभिभावक पनि हुन् पितासरह । अब अर्जुनमा पश्चात्ताप देखियो र उनी आत्महत्या गरेर भए पनि त्यो पापको पश्चात्ताप गर्न चाहन्थे । अर्जुनमा एउटा बानी रहेछ , जहाँ जहाँ उनीबाट अक्षम्य गल्ती भएको ठान्थे, त्यहीँ उनी आत्महत्या गर्न आगोमा हाम फाल्ने कुरा गर्थे ।

अब आफ्नो अक्षम्य गल्ती भएको ठाने अनि आत्महत्याको कुरा गर्न थाले, पापको दण्ड दिनु पर्‍यो महाराज भनेर युधिष्ठिरसँग माफी माग्न थाले र दण्डाधिकारीबाट दण्ड नपाई म डेग चल्दिन भन्न थाले । त्यत्रो युद्ध फत्ते गर्नु छ, मुख्य महारथी रोएर बसेको छ । अनि कृष्णले एउटा उपाय निकाले- आत्म प्रशंसा गरेमा त्यो कुनै हत्याभन्दा पनि ठुलो पाप हो , त्यसैले अर्जुनले आफ्नो प्रशंसा आफैँ गरुन् र युधिष्ठिरलाई गरेको गाली , हत्या गर्छु भनेर भनेको पाप पखालिने छ । ठिक त्यस्तै रहेछ आफ्ना बारेमा लेख्दा केन्द्रीय पात्र आफैँ , आफूले गरेका सबै काम ठिक , आफू मात्र जान्ने जस्तो , आफूले गरेको सबै कामले आजको यो अवस्था आएको जस्तो । सपारेको आफूले , बिगारेको अरूले । यदि मैले भनेको मानेको भए आज यो दिन देख्नु पर्ने थिएन भनिन्छ । त्यसैले लाग्छ कुनै नयाँ कुरा या सत्य लेख्यो भने कतै न कतै ठोकिने रहेछ । त्यसले कुनै नयाँ विवाद पनि ल्याउन सक्ने रहेछ । 

हामी बिपी कोइरालाजस्तो पनि हुन सक्दैनौँ, गणेशमानजीजस्तो पनि हुन सक्दैनौँ । जस्तो छ त्यस्तै लेख्न । उहाँहरूले त कतिकुराहरु लुकाउनु परेको देखिन्छ आफ्ना बारेमा बोल्दा, लेख्दा वा रेकर्ड गराउँदा । त्यसैले पछि निकटस्थहरुले बताउने गरेका हुन्छन् यस्तो यस्तो भएको थियो भनेर । कति पत्याउने , कति नपत्याउने । यति हो , लेख्ने वा भन्ने वा रेकर्ड गराउने व्यक्ति इमानदार हुनुपर्छ । 

मेरो पनि विदेश भ्रमणका कुरा त्यस्तै छन् । सामान्यतया शिक्षक पेसाले पालिने अनि सोखले पत्रकारिता गर्ने व्यक्ति अनि परिवारको जेठो छोरोलाई विदेश घुम्ने त्यस्तो न पैसा हुन्थ्यो न फुर्सद नै । तर दुई पटक चीन पुगेँ । तीन पटक दक्षिण कोरिया पुगेँ, दुई पटक जापान पुगेँ  । एक पटक न्यु जिल्यान्ड अनि एक पटक संयुक्त राज्य अमेरिका । एक पटक बाङ्गा देश पनि पुगेँ । पोहोर युरोपका केही देशहरू नर्वे, स्विडेन र डेनमार्कको छोटो एक दिने भ्रमण,जर्मनी, गणतन्त्र चेकको भ्रमण गरेँ । कोरिया, जापान, अमेरिका, चीन, न्यु जिल्यान्ड जाँदा आफ्नै खर्चले जान सकिने कुरा थिएन किनभने त्यसरी खर्च गर्ने अवस्था थिएन । र पनि युरोपचाहिँ कान्छी छोरीको कमाइमा घुमियो । 

कोरियाका तीन पटकको भ्रमण खेलकुद पत्रकार तथा खेल सम्बन्धी लेखकहरूको एसियाली फोरम एसियन स्पोर्ट्स् प्रेस युनियनका निम्तामा भएको थियो जुन संस्था अहिले विश्व खेलकुद  पत्रकारहरूको एसियाली शाखाको रुपमा छ एआइपीएस् एसियाको रुपमा । पहिलो पटक १९९०को डिसेम्बरमा म र महासचिव कृष्ण केसी गएका थियौँ र त्यस संस्थामा नेपाललाई सदस्य बनायौँ ।

हामी त एउटै संस्था थियौँ र दर्ता भयौँ तर पनि दर्ताका केही प्रक्रिया रहेछन् जसलाई हामीले दक्षिण कोरियाको सहयोगमा सहज नै भयो । तर कुनै देशका दुई वा बढी संस्थाहरू पनि रहेछन् अनि भर्खरै सोभियत सङ्घबाट अलग भएका एसियाली देशहरूको नयाँ दर्ताको क्रम पनि रहेछ । सबैभन्दा बढी संवेदनशील पक्ष भनेको कुवेतलाई इराकले कब्जा गरेको बेला थियो । अनि कुबेती पत्रकारहरुले रोएर आफ्नो देश अब कहाँ छ , हामी कुवेत भन्ने देश अब कता खोज्न जाउन् भनेर रुँदै कराउँदै गरेको बिलौना आज पनि मलाई र कृष्णलाई सम्झना छ र हामी सबै हलमा रोएका थियौँ । एकमतले इराकलाई त्यो संस्थाबाट निलम्बन गरेका थियौँ जबकि इराक अनुपस्थित थियो । अनि मैले र कृष्णले कुरा गर्‍यौँ - सायद यही संवेदनशीलतालाई बुझेर नै बिपी स्वनिर्वासनबाट नेपाल आउनु भएको थियो सात सात ओटा फाँसीको डर नमानी । नेपाललाई जोगाउनका लागि । 

हामी दक्षिण कोरिया जाँदा भिसा लिएका थिएनौँ, त्यही सेमिनारको निम्तो पत्रका आधारमा गएका थियौँ र हामीलाई थाहा थियो हामी नेपाललाई विश्वको खेलकुद पत्रकारिताको नयाँ आयाममा प्रवेश गर्दै छौँ । हाम्रा लागि भन्दा पनि भावी पुस्ताका लागि थियो जुन कुरा अहिले पनि खेलकुद मञ्चले त्यो सदस्यतालाई उपयोग गरिरहेको छ । तीन पटकको कन्फ्रेन्समा हाम्रो उपस्थिति भयो तर पछि खेलकुद पत्रकार मञ्च नेपाल पत्रकार सङ्घ(महासंघ)मा जब दर्ता भयो अनि हामीले त्यसप्रति वास्ता गरेनौँ किनभने हामी नेपालको नाममा विवाद गरेर त्यस संस्थामा बस्न चाहेका थिएनौँ । अहिले पनि हामी खुसी छौँ त्यहाँ , विश्व खेलकुद मञ्चमा नेपालको राम्रो र सम्मानजनक उपस्थिति छ । 

सायद कुनै देशले गोप्य उजुरी गरेको थियो होला, कन्फ्रेन्सको अघिल्लो राती आयोजकले हामीलाई ढोका ढकढकाएर भने - आज राती नै तपाईँहरुको संस्थाको विधान अंग्रेजीमा अनुवाद गरेर चीनकै मितिमा दिनुस् । विरोध गर्नेले भनेको रहेछ- नेपाल त यसअघि सदस्य नै थिएन कसरी आयोजक संस्थाले बोलायो ? अनि अध्यक्षमा उठ्न चाहने र तत्कालीन उपाध्यक्ष पार्क काप चुलले राती नै हामीलाई बोलाएर एउटा विधानको मस्यौदा तत्काल दिनका लागि अनुरोध गर्नुभयो ।

म र कृष्ण भएर राती नै नेपालमा दर्ता भएको विधानको अंग्रेजीमा अनुवाद गर्‍यौँ र नेपाली प्रतिको फोटो कपी पनि राख्यौँ जसलाई भोलिपल्टको पहिलो सेसनमा समर्थन गरियो । चीनले प्रस्ताव राख्यो र कोरिया अनि जापानले समर्थन गरे । त्यसरी नेपाल खेलकुद पत्रकारहरुको एसियाली संस्थाको सदस्य भएको थियो । कुवेतलाई पछि इराकले छोड्यो भनौँ , त्यत्रो युद्ध नै भयो इराकलाई त्यहाँबाट हटाउन । ती साथीहरू बेलायतमा रहेछन् र त्यतैबाट कोरिया आएका थिए ।

 दक्षिण कोरियाको राजधानी सिउलमा भएको थियो सेमिनार भनौँ कि अधिवेशन भनौँ । ओलम्पिक गर्दा उठेको चन्दाबाट बचेको पैसाले बनाएको यूथ होस्टेल, ओलम्पिक यूथ होस्टेल थियो सायद १३ तलाको । सायद १९८८मा सिउलमा ओलम्पिक भएको थियो । सिउल हवाई मैदानबाट सिउल जाँदा बाटामा त्यो ओलम्पिक गाउँ देखिन्थ्यो । त्यही ओलम्पिकका कारणले धेरैवटा सहरमा खेलकुदको आधारभूत विकासबाट छलाङ मारेर एसियाको एउटा खेलकुद केन्द्रको रुपमा दक्षिण कोरिया बन्यो । हामी नेपालबाट भिसा नलिई गएका थियौँ । हङकङ हुँदै जानका लागि ड्रागन एयरको टिकट थियो अनि त्यहाँबाट कोरियन एयर लाइन्सको थियो ।

हङकङ त एक प्रकारले स्वतन्त्र आव जात गर्न पाउने ठाउँ थियो र नेपालीहरूका लागि जाँदा नै एयरपोर्टमा अनुमति दिने व्यवस्था थियो । तर त्यहाँबाट कोरिया कसरी जाने भन्ने हामीलाई थाहा थिएन तर जान दिन्छ होला भनेर नेपालको एयरपोर्टमा हामीले भनेका थियौँ - गन्तव्य हाम्रो दक्षिण कोरिया हो तर आवश्यक परे हङकङबाट भिसा लिन्छौँ । तर हामीलाई खासै केही पनि सोधेन तर एउटा डर भने देखाएका थिए - त्यहाँको इमिग्रेसनले फर्काउन पनि सक्छ है । तर हामीसँग ओलम्पिक होटेलको कोठा बुक गरेको प्रमाण पनि थियो, निम्तो पत्र पनि थियो र रेडियो नेपालको पत्रकार परिचय पत्र पनि थियो ।हामी जाँदा ढाकामा तेल हाल्न प्लेन रोक्दा सेनाले प्लेनलाई घेरेको थियो र हामीलाई बाहिर जान्छन् कि भनेर प्रत्येक सिटमा सेनाको पहरा थियो । तर हामी सिउमै हुँदै सैनिक सरकारको पतन भयो र प्रजातन्त्र पुनर्बहाली भएको थियो । 

मङ्सिर को तेस्रो हप्ता २०४७साल अर्थात् १९९०को डिसेम्बरको पहिलो हप्ता । मङ्सिर १९गते हामी सिउमै थियौँ । फर्केर आउँदा स्वर सम्राट् नारायण गोपालको असामयिक निधन भएको रहेछ । हामी जाँदा सिउला माइनस ९ डिग्रीको तापक्रम थियो साँझमा । गएका  दिन साँझमा हाम्रो सम्मानमा  नाइट क्लबमा लिएर गएका थिए । नाच्न , खान , गाउन । म पनि पहिलो पटक नाइट क्लब त्यही दिन गएको हुँ । रक्सी पनि नखाने, नाच्न पनि नजान्नेका लागि त्यो रात अरूको रमाइलो हेर्ने मात्र भयो । रातको १२बजेपछि खोल्न नपाइने रहेछ । हामी थाकेका पनि थियौँ तर सबै साथीहरूलाई लिएर कतै जाने भनेकाले गएका थियौँ । पहिलो अनुभव थियो, रमाइलो नै भयो । जो नाच्थे उनीहरूलाई रमाइलो नै भयो । क्रमशः