२४ घण्टा भोकै सुताएपछि भनियो– 'अप्रेसन हुन्न, घर जानुस्’

२४ घण्टा भोकै सुताएपछि भनियो– 'अप्रेसन हुन्न, घर जानुस्’

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २३, २०७५

काठमाडौँ । चिकित्सकले फागुन १ गते जचाउँदा भनेका थिए, ‘फेरि अर्को अप्रेसन चैत २२ मा गर्नुपर्छ, २० गते सम्पर्क गर्नुस् ।’ मैले त्यसै गरेँ । २१ गते बिहीबार बिहान ९ बजे भर्ना भएँ, वीर अस्पतालको ग्यास्ट्रो सर्जरी बेड नम्बर १९३ मा । चिकित्सकले चेकजाँच गरे । पहिलेझैं रगत, ईसीजी, एक्सरे गर्न भने । त्यसै गरेँ । सबै ल्याबका रिपोर्ट फाइलमा ठिक्क पारेँ ।

 

बिहीबार बेलुका चिकित्सकले भने, ‘ल खाली पेट बस्नू । शुक्रबार बिहान अप्रेसन हुन्छ ।’ केही खाइनँ, खाली पेट बसेर शुल्क हजार रुपैयाँ पनि बुझाएँ । चिरफारका सामान र बेहोस पार्न आवश्यक सबै औषधि किनेर ल्याएँ, ठिक्क पारेँ ।

मनका कुरा खेलिरहेँ– कति दिन अस्पताल बस्नुपर्ने हो । अझ अर्को अप्रेसन गर्न पर्ला/नपर्ला । कतिबेला उज्यालो हुन्छ र अप्रेसन सुरु गरिएला भन्ने भइरह्यो ।

 

पेट खाली थियो । भोक लाग्ने नै भयो । दिसा गर्ने ठाउँमा काट्नुपर्ने भएकाले इन्फेक्सनको बढी सम्भावना थियो । त्यसैले बिहीबार दिउँसो १२ बजेदेखि खाली पेट बसेको थिएँ । हरक्षण अप्रेसनको चिन्ता मनमा भइरह्यो । यो अप्रेसन सक्न पाए, केही बिसेख हुन्थ्यो कि !

दिसा गर्ने ठाउँमा चिर्नुपर्ने भएकाले पेट खाली गराउन साबुनपानीको झोल गुद्द्वारबाट छिराउनुपर्ने हुन्छ । पेटमा पानी परेको केही सेकेन्डमै दिसा लाग्छ । ६० बेड रहेको ठाउँमा दुइटा शौचालय थिए । कुरुवाको संख्या त्योभन्दा बढी । फोहर र दुर्गन्धले शौचालय जानै नपरे हुन्थ्यो भन्ने लाग्ने । ट्वाइलेट खाली नहुने समस्याले पहिल्यै कसैलाई ट्वाइलेटभित्र चुकुल लगाएर बसाउन म अभ्यस्त भइसकेको थिएँ । किनकि, साबुनपानी पेटमा परेको २ सेकेन्डमै दिसाले अत्याउँछ । शुक्रबार बिहानै अप्रेसनका लागि चिकित्सक आएर सबै हेरे/जाँचे । ‘ठीक छ’ भने । गए । अप्रेसनमा लैजान ह्विलचियर लिएर आउलान् भन्दाभन्दै निदाएँ । दिउँसो १२ बजेसम्म कोही आएनन् ।

नर्सलाई सोधेँ, ‘अप्रेसन गर्न किन ढिलो ?’ उनले उल्टै ‘तल्लो तलामा रहेको अप्रेसन थिएटरमा गएर ग्यास्ट्रोको डाक्टरलाई आफैंले सोध्न’ भनिन् । म झोंक्किँदै तल झरेर सोधेँ । अप्रेसन गर्न ठीक पर्न लगाएका डाक्टर इन्द्रकुमार झाले जवाफ फर्काए, ‘हेर्नुस् नारायणजी, हामी अप्रेसन गर्ने युनिफर्ममा छौं । तर डाक्टरहरूको हडताल छ । तपाईंको गरौं भने फेरि डाक्टरहरू कराउँछन् ।’ पेसागत आन्दोलन भएकाले नरिसाउनुहोला भने । ‘हडताल रोकिए बुधबार सम्पर्क गरेर अर्को बिहीबार भर्ना हुने र शुक्रबार अप्रेसन गरौंला है’ भन्दै बिदा हुन खोजे । म नाजवाफ भएँ । कुरेरै भए पनि उनैबाट अप्रेसन गराउनुछ, रिसाउने कुरै भएन ।

भनेँ, ‘त्यसो भए डिस्चार्ज कागजमा चिकित्सकको हडतालका कारण अप्रेसन हुन सकेन भनेर लेख्दिनुस् ।’ उनले ‘बरु अप्रेसन पोस्टपोन्ड भयो भनेर लेखौंला, चिकित्सकको हडतालले सरेको भनेर लेख्न मिल्दैन’ भने । म २४ घण्टादेखिको भोक र तिर्खाले छटपटिएको थिएँ । कुरुवा बस्ने छोरा अनमोल भन्दै थियो, ‘अघिल्लो दिनदेखि भर्ना गरेको बिरामीलाई हडताल भन्दै घर पठाउने कस्तो देश हो ?’ आजको कान्तिपुर दैनिकमा खबर छ ।