के चाहन्छन् चिकित्सक ?

के चाहन्छन् चिकित्सक ?

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २३, २०७५

काठमाडौँ । प्रदेश र स्थानीय तहमा समायोजन गर्दा आफूहरूलाई एक तहबाट अर्कोमा सरुवा हुन पाउने व्यवस्था नराखिएकामा सरकारी चिकित्सकहरू आन्दोलित भएका हुन् । सबै सरकारी चिकित्सकलाई संघ सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने उनीहरूको मुख्य माग छ । 

माग पूरा गराउन सरकारी चिकित्सक संघ (गोदान) ले देशभरका १४ सय सरकारी चिकित्सकलाई पूर्वनिर्धारित अप्रेसन, विशेष परीक्षण र स्वस्थ्य सेवा बहिष्कार गर्न भन्दै आन्दोलनमा उतारेको हो । ‘हामी समायोजनमा जान्छौं, तर सबै चिकित्सकलाई संघीय सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्छ,’ सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले कान्तिपुरसँग भने, ‘कुनै चिकित्सकलाई सधैँ एउटै गाउँपालिकामा मात्र सीमित गराएर राख्ने हो भने अध्ययनलगायत उसको वृत्ति विकास कसरी हुन सक्छ ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले समायोजनसम्बन्धी हाम्रा माग पूरा गर्ने आश्वासन दिए पनि अहिलेको समायोजन सूचीमा चिकित्सकहरूलाई प्रदेश र स्थानीयअन्तर्गत राखिएकाले आन्दोलनमा उत्रनुको विकल्प नभएको पाण्डेले बताए । आजको कान्‍तिपुर दैनिकमा खबर छ ।