छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक २४, २०७७

काठमाडौं । महोत्तरी, गौशाला नगरपालिका-२ निगौल मठस्थित सडकमा बीआर ३० ऐक्स ९२३२ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही नगरपालिका निगौल टोल बस्ने ४५ वर्षीय छट्टु मुखियाको आइतबार बेलुका घटनास्थलमै मृत्यु भएको छ । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

चितवन, भरतपुर महानगरपालिका-५ पन्चरत्नस्थित सडकमा ना.१५ प ७७२ नम्बरको मोटरसाइकलको ठक्करबाट  पैदलयात्री सोही ठाउँ बस्ने ७१ वर्षीय तुलाराम भुषालको आइतबार राति मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा, वीरगंज महानगरपालिका-२७ जसौलीस्थित सडकमा लु.३ त ६४६ नम्बरको ट्याक्टर सिचाई नहरको पुलबाट पल्टिएर आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरको ईन्जिनमा च्यापिएर चालक बहुदरमाई नगरपालिका-३ पदमौल बस्ने उमेश प्रसाद यादवको १२ वर्षीय छोरा विवेक कुमार यादवको घटनास्थलमै मृत्यु भएको छ ।

कास्की, पोखरा महानगरपालिका-१४ चाउथेस्थित सडकमा हाल नम्बरको नखुलेको बसले ना.४१ प ५४१७ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका-१३ बस्ने ३४ वर्षीय बिश्‍वास देवकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्‍चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको छ ।

फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।