‘देन आइ विल लुक फर लास्ट प्याग अफ व्हिस्की  एण्ड लास्ट कन्ट्याक्ट विद माई गर्ल'
विज्ञान कथा- भाग ३
कार्तिक २४, २०७७

गताङ्कबाट निरन्तर

‘पृथ्वीमा त्यस्तो के छ ’? सम्पादक जिवेन्द्रले चाख लिदै सोध्नु भयो।

‘सूर्य’, आगंतुक एलियन ले सहज भावमा भन्यौ।

‘के रे, के रे’ ? जिवेन्द्रले आत्तिदै  भन्नु भयो।

‘हो, हामी सुर्य ‘किडनैप’ गरी लैजान आएका हौं’।

'सूर्य के फुटबल अथवा कोहिनुर हीरा हो, जे तपाईंहरु 'किडनैप' गरी लैजानु हुन्छ' ?  जिवेन्द्रले झ्वकिदै भन्नुभयो।

‘फुटबल जत्रै बनाएर लैजाँदा हुन्न र ’?

'पृथ्वी भन्दा लाखौं गुणा ठूलो सूर्यलाई तपाई  फुटबल जत्रो बनाएर लै जानुहुन्छ ? वाहियात कुरा नगर्नुस न यार' !

'तपाईंका विज्ञान लेखकले कहिल्यै पनि ब्रम्हाण्डको उत्पत्तिबारे ‘बिग बैंग’ थ्योरीबारे लेखेका  छैनन् ? जब सम्पूर्ण ब्रम्हाण्ड नै एउटा सूक्ष्म  अणु जस्तो हुन सक्छ भने ब्रम्हाण्डको एउटा अणु जत्रो पनि हैसियत नभएको सूर्यलाई फुटबलको साइजमा ल्याउन कुन ठूलो कुरा हो ? बुझ्नु भयो तपाईंले ' ?

'हेर्नुस भाई हो, अब तपाईंहरुसँग कुरा गर्न वा तपाईंहरुको कुरा बुझ्न मेरो क्षमताले भ्याउँदैन । म आफ्नो कवि मित्रलाई फोन गरी बोलाउँछु । शायद उहाँले तपाईंहरुको कुरा बुझ्नु होला' ।

'तपाईं यति बढी सिफारिश गर्नुहुन्छ भने हामी ती  कविलाई पाँच मिनेट भित्रै यहाँ उपस्थित गराइदिन्छौं' ।

‘तपाईंहरु नचिनेको मानिसलाई कसरी यहाँ ल्याउनुहुन्छ’ ?

'पाँच मिनेट मध्ये २-३ मिनेट त उहाँलाई चिन्नमै खर्च हुन्छन र बाँकीका २-३ मिनेट पृथ्वीको कुनै कुनाबाट उहाँलाई यहाँसम्म ल्याई पुर्‍याउनमा खर्च हुन्छन्' ।

‘ल तपाईंले भने अनुसार गरेर देखाउनु भयो भने, म तपाईंहरुका सबै कुरा पत्याउँछु’, जिवेन्द्रले झर्किदैं भन्नु भयो ।

‘तपाईंसँग उहाँको कुनै फोटो छ’ ? आगन्तुकले सोधे ।

मेरो आशय सूर्यको जीवन विषयक होइन । ‘व्हाट  आई मीन’ यदि  सूर्यले ‘मिल्की वे’को 'ओरियन' भुजामा रहने सबै बन्धन त्यागेर कुनै अर्को 'ग्यालेक्सी' अथवा 'कान्स्टिलेसन' तिर प्रस्थान गर्यो भने नि ?

'अनलाइनमा उहाँका थुप्रै फोटो छन् । तर तपाईंहरुले विधुत र नेट बाधित गरेको हुनाले म उहाँको फोटो देखाउन असमर्थ छु' ।

'हाम्रो ‘कवाण्टम कम्पयुटर’ कहिल्यै शक्तिरहित नहुने ‘क्वाण्टम बैटरीबाट’ सञ्चालित हुन्छ । र, हाम्रो 'नेट डब्ल्यु डब्ल्यु डब्ल्यु' (वर्ल्ड वाइड भेव ) को सट्टा न्युट्रान आधारित ‘इन्टर कसमस  इन्ट्यागलमेन्ट सिस्टम’ हो । यस मार्फत नैनो सेकेण्ड भन्दा कम समयमै ब्रम्हाण्ड भरी सन्देश आदान प्रदान हुन्छ । पृथ्वीको नेटको स्पीडमा त मंगलग्रहबाट पृथ्वीसम्म सन्देश आउन अथवा पृथ्वीबाट मंगलमा सन्देश पुग्न १२ देखि १३ मिनेटको समय लाग्छ । नासाले पठाएको एउटा यान सौर्य मण्डलको सीमाना नाघेर ‘इन्टरस्टेलर स्पेस’मा पुगेको छ । थाहा छ तपाईंलाई भायजर नामक त्यस  यानले पठाएको सन्देश नासाको नियन्त्रण कक्षमा आईपुग्न २० देखि २२ घण्टाको समय लाग्छ । हाम्रो ग्रहको तुलनामा पृथ्वीवासी त कमिला जतिको पनि हैसियत राख्दैनन्' ।

जिवेन्द्रसँग संवाद  गरिरहेको आगन्तुकले बोल्दै गर्दा उसको अर्को साथीले ब्यागबाट ह्याण्डी कम्प्युटर  झिकेर  अनलाइनको 'होमपेज' खोलेर जिवेन्द्रसँग कवि साथीको फोटो खोज्न भन्यो । फोटो भेटिनासाथ उसले फोटो कपी गरी 'कसमस एप्लीकेसनमा लोड' गर्‍याे ।

केही सेकेण्डमै उसको कम्प्युटर स्क्रीनमा बौद्धनाथको एउटा 'रुफटप रेस्टोरेन्ट'मा जिवेन्द्रले कवि भन्ने गरेका ज्ञानमित्र आफ्नो कुनै साथीसँग गफ्फिदैं गरेको देखिए ।

'उहाँको ‘लोकेसन’ पत्ता लाग्यो', त्यस आगन्तुकले आफ्नो साथीलाई जानकारी गरायो ।

‘गुड’ अब तिमी गएर उहाँलाई ‘टेलिपोर्ट’ गरेर यही लिएर आउ ।

कुनै प्रत्युत्तर नदिइ आदेश पाउने आगन्तुक कोठाबाट लोप  भयो ।

अचरज, असमंजस र अन्यौंलताले घेरिएका जिवेन्द्रले केही  सोच्नै नसकेर चुरोट सल्काउनु भयो ।पहिलो कस ताने पछि उहाँको मस्तिष्क  सल्बलायो, के साच्चै यिनीहरुले ज्ञानमित्रलाई लिएर आउँछन् ? दोस्रो कसमा उहाँको मस्तिष्कले सान्तवना दियो, ज्ञानमित्र आइपुगेमा मलाई अलिकति भए पनि राहत हुन्छ । तेस्रो कस तानेपछि चुरोटलाई एश्ट्रेमा राखेर उहाँले आँखा चिम्लेर बाँया निधारमा हात राखेर कुर्सीमा अडेस लगाउनु भयो ।

'होइन दाइ, के भएको यो ? म यहाँ कसरी आइपुगे ? म बौद्धनाथमा रामसँग बसेर कफी खाइरहेको थिए' ।

ज्ञानमित्रको स्वर सुनेर जिवेन्द्र झस्केर उठनु भयो र भन्नु भयो , मलाई केही नसोध्नुस यार ! सबै कुरा उहाँहरुसँग सोध्नुस । उहाँहरुले नै तपाईंलाई बौद्धबाट ‘टेलिपोर्ट’ गरेर ल्याएको हो रे !

उहाँहरु हो को ? ज्ञानमित्रले जिवेन्द्रसँग सोधे ।

‘यार, तपाईं आफै उहाँहरुसँग कुरा गर्नुस । विगत एक डेढ घण्टादेखि म आफ्नै अफिस कोठामा उहाँहरुको बन्धक बनेको छु’ ।

आगन्तुक मध्ये जिवेन्द्रसँग कुरा गर्ने व्यक्तिले ज्ञानमित्रतिर हात बढाउँदै, ‘माइसेल्फ श्याम फ्रम एनदर प्लेनेट एण्ड ग्यालेक्सी, यू क्यान से वी आर कसमस  मेट '।

ज्ञानमित्र - ‘नाइस टु मिट यू’ । तपाईंहरुको ग्रहमा पनि हामी जस्तै भाषा बोलिन्छ ?

आगन्तुक - होइन । हाम्रो भाषा तपाईहरुभन्दा नितान्त फरक छ । पृथ्वीका भाषा हामीले यहाँ आएपछि मात्रै जानेका हौं ।

ज्ञानमित्र-मलाई ‘टेलिपोर्ट’ गरेर यहाँ ल्याउनुको उद्देश्यबारे भन्नुहोस । जाबो ८-१० किमीको यात्राका लागी ‘टेलीपोर्ट’ गर्नु पर्छ र ?

आगन्तुक - क्षमा गर्नुहोला, तपाईंलाई यहाँ ल्याइ पुर्‍याउनका पछाडी  हाम्रो कुनै उद्देश्य होइन । सम्पादकज्यूले तपाईंलाई यहाँ उपस्थित गर्न लगाएको हो । ‘बट एनी वे’ तपाईंलाई ‘टेलिपोर्टेसन’का बारेमा थाहा रहेछ ?

ज्ञानमित्र- पृथ्वीको विज्ञानसँग ‘टेलिपोर्टेसन’को कल्पना मात्रै छ । सुनेको छु चीनले एउटा कणलाई ‘टेलिपोर्ट’ गर्ने सफलता पाएको छ । तर पृथ्वीको विज्ञानको लागी यो अझै सय डेढ सय वर्ष पछिको कुरा हो ।

आगन्तुक- तर तपाईँको पृथ्वीसँग अब त्यति समय छैन । तपाईंको सौर्यमण्डल नै केही दिनको पाहुना मात्र हो ।

ज्ञानमित्र - मलाई यस्ता कुरामा पत्यार लाग्दैन । सूर्य रहुन्जेल एक डेढ अर्ब  वर्षसम्म पृथ्वीको रौं पनि हल्लिदैन  । हो यो बेग्लै कुरा हो हामी मानिस भन्ने प्रजातिको नास हुन सक्छ । तर पृथ्वी रही रहन्छ, मानिसको सट्टा अर्को कुनै प्रजाति अस्तित्वमा आँउला ।

आगन्तुक- अनि सूर्य रहेन भने ?

ज्ञानमित्र -‘व्हाट  यू मीन’ ? डेढ दुई अर्ब  वर्षसम्म वर्तमान कै स्वरुपमा जीवन धान्ने हाइड्रोजन सूर्यसँग छ । त्यसपछि सौर्यमण्डल नष्ट भए पनि सूर्य कुनै न कुनै स्वरुपमा अर्को केही खरब वर्षसम्म आकाशमा रही रहने छ  ।

आगन्तुक - मेरो आशय सूर्यको जीवन विषयक होइन । ‘व्हाट  आई मीन’ यदि  सूर्यले ‘मिल्की वे’को 'ओरियन' भुजामा रहने सबै बन्धन त्यागेर कुनै अर्को 'ग्यालेक्सी' अथवा 'कान्स्टिलेसन' तिर प्रस्थान गर्यो भने नि ?

ज्ञानमित्र - ‘देन आइ विल लुक फर लास्ट प्याग अफ व्हिस्की  एण्ड लास्ट कन्ट्याक्ट विद माई गर्ल' ।

आगन्तुक -  जिवेन्द्रजीले तपाईंका बारेमा ठीकै भन्नु भएको  रहेछ । ‘रियली यु आर जीनियस ’।

याे पनि 

नेपाली सम्पादक एलियनको घेराबन्दीमा

तपाईँ जस्तो शिक्षक पाएको भए म सम्पादकको सट्टा वैज्ञानिक हुने थिए


म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।