तिहारअघि नै सयपत्री फूलको माग वृद्धि

तिहारअघि नै सयपत्री फूलको माग वृद्धि

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक २४, २०७७

झापा । फूलको पर्व अर्थात् नेपालीको दोस्रो ठूलो चाडका रुपमा रहेको तिहार नजिकएसँगै सयपत्री फूलको माग बढेको छ । जिल्लामा व्यावसायिक खेती गर्दै आएका विर्तामोड, मेचीनगर, भद्रपुरलगायतका क्षेत्रका किसानले लगाएको फूलको तिहार आउनुभन्दा एक हप्ताअघिदेखि नै माग बढेको हो । 

गत वर्षदेखि व्यावसायिकरुपमा सयपत्री फूलको खेती शुरु गर्नुभएको साहित्यकार खगिन्द्रा खुशीको बारीमा यतिबला ढकमक्क कलकत्ते जातको सयपत्री फूल फुलेको छ । भद्रपुर नगरपालिका–७ इलुबारीमा १० कठ्ठा जग्गा भाडामा लिएर उहाँले फूलखेती गर्नुभएको हो । विगतमा सहकारीको साधारसभा, जिल्लामा हुने कार्यक्रममा समेत फूलको माला बेच्दै आउनुभएको उहाँलाई यस वर्ष भने तिहारको माग धान्न मुश्किल छ ।'फूल फूलाउनु मात्र पर्दोरहेछ, किन्ने व्यापारी बारीमै आउँछन्', उहाँले भन्नुभयो ।

विर्तामोड नगरपालिका–४ मा पाँच जना महिला मिलेर १५ कठ्ठा जमीनमा सामूहिक फूलखेती गर्नुभएको छ । गोमा भट्टराई, नैनकला भट्टराई, यशोदा चापागाई, शर्मिला अधिकारी र सुष्मा भण्डारीले लगाएको फूल पनि ढकमक्क फुलेको छ ।'तिहारका लागि फूल राखिदिनुपर्‍यो भन्दै फोन गरेर नाम टिपाउने दैनिक १० देखि १५ जना छन्', गोमा भट्टाराईले भन्नुभयो, 'विगतको तुलनामा खेती कम गरियो माग बढ्यो । माग धान्न समस्या पर्ने भयो । मालाको अडर आइरहेको छ ।' 

उहाँले यसपालि लामो समय वर्षा परेका कारण विगतमा जस्तो फूल नफस्टाएको बताउनुभयो । तीन हजारदेखि तीन हजार ५०० सम्म माला हुने अनुमान गर्दै उहाँले  ५० देखि ६० सम्ममा प्रतिगोटा बिक्री हुने बताउनुभयो । मेचीनगर–९ मा ‘डिएन्डडी बायोप्लान्टेक’ नामक कम्पनी दर्ता गरेर विगत छ वर्षदेखि नर्सरी व्यवसायमा लाग्नुभएका डिल्लीराम उप्रेतीले गत वर्षदेखि १० कट्ठा जग्गा भाडामा लिएर सयपत्री फूलको खेती शुरु गर्नुभएको छ ।

विगतमा भन्दा यस वर्ष सयपत्री फूलको मालाको माग बढिरहेको उहाँले बताउनुभयो । 'विगतमा भारतीय माला पनि आउथ्यो । यस वर्ष एशोसिएसन अफ नेपाली एग्रीकल्चर जर्नलिस्टले कोभिड–१९ का कारण भारतीय माला नल्याउने निर्णयसँगै हाम्रो फूलको माग बढेको छ', उहाँले भन्नुभयो, 'तर माग धान्न गाह्रो छ ।'