बन्दको खेती

कथा

बन्दको खेती

सीताराम नेपाल  |  समाज  |  चैत्र २३, २०७५

‘मन लाग्या बेलाँ’ एक कप च्या खान नसक्ने मान्छे भैयो । परिश्रम नगर्‍या हैन, बनीबुतो नगा’ छैन । तै पनि एक कप च्याको लागि अरूको मुख ताक्नु पर्ने ? कपाल कन्या’र च्या ख्वान भाइ भन्नु पर्ने ?....राजतन्त्रले बाटो छेक्यो भन्ने सुनेर त्यसलाई किनारा लाइयो । तरै पनि यो गरिपको दिन आ’न गाँठे । गणतन्त्रमा समेत कल्ले छेकिरा’छ कुन्नि ?’ 

गरिपका मनमा गढेका कुरा ढुङ्गाभन्दा कडा हुन्छ भन्छन् । कुमार क्षेत्रीको मनमा त्यस्तै साह्रो कुराले घर गरेको हुनाले उसलाई साँच्चै चिया खान मन लाग्यो । ‘आ भट्टिनी कान्छीलाई कन्याउनु परो’ । ‘तै रिन, तै रिन, बुढी बाख्री किन’ भन्या जस्तो, रिनमाथि रिन पत्याइ भने स्पेसल च्या खानु परो । त्यो मोरी पनि कम्ताकी छैन भन्या, पैलेको उधारो नतिरी त मरे नि दिन्न भन्छे बा ! रिन माथि रिनै थपिने त हो नि के नापिन्छ र ! बरू एक रूप्पे बढी दे’र भा’नि मनाम्छु आज त ।’ 

कुमार ‘कुमारी चिया पसल’नामको भट्टी पसल भित्र छिर्‍यो । साहुनीलाई फकाएर चिया दिने पारेपछि ऊ मान्छेको पर्खाइमा रहेको कुर्सीमा थपक्क बस्यो । ‘यी डाम्नाहरू के विधि फैलिएका गाँठे’ भुतभुताउदै दायाँ हात हल्लाएर टेबुलमा बसेको झिङ्गा धपायो । अर्को टेबुलमा चार–पाँच जना पढालेखा जस्ता युवाहरू गफ गरिरहेका सुन्यो । 

गफ थोरै गर्ने, कसैको कुरा नकाट्ने, कसैको कुरामा ध्यान नदिने, कसैले केही भनीहाले पनि ‘काग कराउदै गर्छ, पिना सुक्दै गर्छ’ भनेर वास्ता नगर्ने स्वभाव भए पनि त्यसवेला भने कुमारको मनको खोला उल्टो बग्यो । चियाको सुर्कोसंग कुमारले खोयाबिर्केको पर्खाइमा रहेकाहरूको गफ ध्यान दिएर सुन्यो । 

‘यी ट्वाँटेका कुरामा दम छ है कुमारे, विचार गरेस् ।’ उसलाई गफबाट केही राहत भेट्टाए झैं लाग्यो ।  

‘भट्टिनी कान्छीलाई बढी दे’को एक रूप्पे खेर ग’न’ जस्तो छ ।’ कुमार खुसी भयो ।  

‘ट्वाँटेका कुराले यतिन्जेल घुच्चुकाँ’ लुकेको मेरो बुद्धि बल्ल अगाडि आयो गाँठे । अक्कल आउन ता अरूका कुरा सुन्नु पर्ने रै’छ क्यारे !’ दाहिने हातको चोर औँला हावामा घुमाउदै ऊ आफैसंग बातमार्न थाल्यो । र झिङ्गा धपाउदै चिया पिउदै भर्खर फुरेको नयाँ कुराको पछि लाग्नुपर्नाको पृष्ठभूमि खोतल्न थाल्यो । 

‘म जे पनि गर्न सक्छु, काम गर्न हरदम् तयार छु । काम पाउने भा’पो । कस्तो कामको अनिकाल लाग्या बाई ।  आजकाल त कामको यति अनिकाल परो कि बयान गरी साध्ये छैन । हाम्रा लागि जतासुकै काम बन्द, काम नपाए’सि माम बन्द, ए गाँठे ! खान नपा’र जीवन नै बन्द हुन्छ कि क्या हो ?’ चिया पिइसकेर एकछिन कुरासंग प्रेम गरेपछि बायाँ हातले टाउको कन्याएर चाया उडाउदै कुमार क्षेत्री पसलबाट बाहिरियो । 

‘कामको संकट भा’को वेलाँ’ रमितालाई किन ब्याउनु पर्‍या होला ?’ ऊ आलो सुत्केरी स्वास्नी रमितामाथि जाइलाग्यो । 

‘...मेरी आम्मै ! साँच्ची त दशैं पनि मुखैमा आ’छ के रे ।  काँ’को चिची पापा, काँ’को दै’च्युरा, पोरै नफेरेको लुगाफाटाको आयु कति लामो रै’छ हाम्रो त, ए रात्तै !’ जिउ तन्काउदा च्यातिएला जस्तो भएको आफ्नो सर्ट पैन्ट हेर्दै, चौवन्दीको प्वालबाट श्रीमतीको काखीमुनि देखिएको ‘जैरे’का टुसाहरू सम्झेर ऊ द्रवित भयो । 

‘गरिबी झाङ्गिएर आकाश भन्दा विशाल भए’सि वर्षमा दुई तीन जोर फेर्नुपर्ने कपडाको त यति लामो आयु हुँदो रै’छ । अभाव लमतन्न पसारो परेको पर्यै छ । कसरी जीवन धान्ने ख्वै ? कुमालेको चक्र यो सब हाम्रै थाप्लामा मात्र किन टास्सिएको होला ? ठूला भनाउदा यी चाडबाड पनि दुःखीलाई कोतर्न आ’का होलान् नि घरिघरि ।.....सुत्केरी उतार्न काढेको रिन तिर्‍या छैन । यसपालि साहुले पत्या’न भने बित्यासै पर्ने भो । यो दशैंले पनि पिरलो माथि पिरलो थपिद्यो गाँठे । दीनदुःखीलाई अभावमा नतड्पाइ हुनेखानेलाई रमाइलो नहुने भ’र हो कि ? नत्र त चाडबाडले यतिसाह्रो पन्पक्ष नगर्नु पर्ने हो ।’ 

‘जे पर्ला पर्ला, जसरी भा‘नि बन्दको आकर्षक खुराक चोटिला, मिठा नाराहरू चुन्नु परो र चारैतिर चैते हुरी जस्तै फैलने गरी हल्ला चलाउनु परो । यो जमाना हल्लाखोरहरूकै त रै’च । तर यो कसरी गर्ने ?’ कुमारले धेरै वेर सोचेपछि मुड्की कसिलो पारेर अठोट गर्‍यो । 

उसको परिवार –एक जोडी बाबुआमामा आफ्नो जोडीले छोराछोरीको जोडी थपेपछि आधा दर्जन पुगेको थियो । जिविकोपार्जनको जोहो भने माछो–माछो भ्यागुतो भइरहेको थियो । 

‘बाढी पनि यै गरिपलाई ताकेर आयो । मान्छेलाई केही नभा’भे नि अन्नपात, बस्तुभाउ, घरखेत सिरीखुरी पारेर लग्यो । दैव लागे’सि कस्को के लाग्दो रै’च र ! यसरी भैंसे दोभान ढुक्न लेख्या रै’च । ढुङ्गा नठटाए मुखमा माड नलाग्ने कर्म रै’च अनि के को हुन्थ्यो ? ओरालो लाग्या मृगलाई कुकुरको छाउराले नि खेद्च भन्थे त्यस्तै भो । न्वारान देखिको बल लगा’र, रकत् पसिना सुका’र, हातको ठेलाभित्र रकत् जमा’र गिट्टी तयार पा¥यो, ठेकेदार मोरालाई ठिक्क हुन्छ । पुर्पुरोमा हात राखेर ठेकेदारलाई उधारो नदिई सुख छैन । उधारो दिदा ठेकेदार पैसा नदिई फरार हुन्छन् । पुरानो भाग्छ, अनि नयाँ आउनेले त बैमान नगर्ला भन्यो जो पनि उस्तै छट्टु निक्लन्छ । गरिपको पसिनामा तर नमार्ने त ठेकेदारै हुदैन रै’च के रे । गरिपको पसिनाले ठग मोराहरूको उछित्तो काढोस् ।’ पेटका कीरा मर्ने गरी सम्झी–सम्झी ठग ठेकेदारहरूलाई सरापेपछि ऊ निराश भयो –‘थुक्क गरिपको जिन्दगी !’ 

‘खै, यस्तै हो भने ढुङ्गासंग खेल्न पनि के गै भो र ! प्राण धान्ने उपाए क्यै नभे’सि किन जाने खोला किनार ? खोलाको हावा खा’र मात्र बाँचिन्न के रे ! ढुङ्गा, बालुवा खान सकिन्न । अन्न खानै पर्छ । पोहोरसँगै हाम्रै लाममा सुकुम्वासी भै दोभान ढुक्ने त्यो बिर्खेले कसरी हेटौंडामा घडेरी किन्यो ? उसको पनि जहान परिवार पौने दर्जन त चन् ? त्यसै हल्लेर खाइरा’चन् । हल्लाको पछि नलागीकन भन्ने हो भने त्यल्ले काम ग¥या पनि देखिन्न । के गर्ने खै ? अरूको उन्नति प्रगति आफूलाई काम नलाग्ने रै’च । त्यो मात्र काँ’ हो र ? अरू पनि थुप्रै गरिपले राम्रो लगा’चन्, मीठो मसिनो खा’चन् । तर हाम्ले मात्र खान लाउन नपाम्ने, सरकारले पनि फोस्रो आश्वासनको लालिपप मात्र दिने...।’ 

‘जा स्साला ! यसै भ’न उसै भ’न साँच्चै ती ट्वाँटेहरुले भनेको जस्तै जुक्ति लगा’र बन्दको घोषणा गर्नु परो । कि काम दे, कि माम दे, भन्नु परो । सुकुम्बासीको ताकत देखा‘र देशलाई ठप्प पार्नु परो, चक्काजाम गर्नु परो । कानमा तेल हाली बसेको सरकारको कान खुल्च कि ?’ भर्खरसम्म निराशाले थिल्थिलिएको कुमारको मन भावनात्मक उत्साहको उचाइमा उड्न थाल्यो । 

‘बन्दको खेती सफल पार्न आकर्षक मागहरू के के हुनसक्छ यो गोब्रे दिमागले कसरी ठम्याउन सक्ला र खै ? ती ट्वाके ठिटाहरूलाई फेरि भेट्न पाए पनि सोध्नु हुन्थ्यो ।  कुन जुक्तिले राम्रो मसला बना’र प्रचार गर्नु ?’ अनुसन्धानकर्ताझैँ केही वेर ध्यानमग्न भएपछि ऊ फेरि कुरा खेलाउनमा नै रमायो । 

‘जे पर्ला पर्ला, जसरी भा‘नि बन्दको आकर्षक खुराक चोटिला, मिठा नाराहरू चुन्नु परो र चारैतिर चैते हुरी जस्तै फैलने गरी हल्ला चलाउनु परो । यो जमाना हल्लाखोरहरूकै त रै’च । तर यो कसरी गर्ने ?’ कुमारले धेरै वेर सोचेपछि मुड्की कसिलो पारेर अठोट गर्‍यो । 

‘कि हस्तिनापुरको राज, कि चपरीमुनिको बास !’ 

‘यिनेर्ले भने जस्तै नाराको तारो सरकारतिर तेस्र्याउनु पर्च बाबै ! ‘आरिसे मरिजा देखासिकी गरिजा’ नगरी भ’न, अब ।’ एकछिन सम्झेपछि कुमार बन्द गर्न झन् रौसियो ।

उसले आफ्नो नयाँ जुक्ति एकमहिने छोरालाई दूध चुसाइरहेकी स्वास्नी रमितालाई सुनायो । रमिताले अर्कापट्टि फर्केर ‘खुट्टी देख्दै चालपाइयो’ भन्ने भावमा ओेठ लेब्य्राई । त्यतिले नपुगेर श्रीमतीको मलिनु तर रिसालु अनुहारमा दुई आँखाको तिर आफूमाथि हान्निएको देखी –‘कलिली सुत्केरी छे, यो बैगुनी ! भोकले रन्थन्ने’र होला मेरो कुरा नखा’की’ भन्ठानेर बाबुको आड लाग्न गयो । बाबुले पनि ‘फिस्टेले टेकेर बाँस नुहिदैन । कस्ता–कस्ता काँ’गए, मुसाका बच्चा दर्वार पसे’ भन्या यै हो’ भनी उसको कुरा खाएन । निन्याउरो मुखपारी स्वास्नी र बाबुले समर्थन नगरेको समेत कुरा आमालाई लगायो । काखमा दुईबर्षकी उसैकी छोरी जुनुलाई लाम्टो चुसाइरहेकी आमाले ‘तेरा नयाँ कुरा काँच्चै चन् । पाक्न दे । पाक्न केही समय लाग्च, त्यतिन्जेल अरू पनि केही जुक्ति निस्कन्च कि हामी सबैले सोचम्’ भनी । आमाको आश्वासनले अलिकति राहत मिल्यो उसलाई । सबैले आ–आफ्नै ढंगले सोचविचार गरे, ओल्टाइ पल्टाइ तर्क बितर्क गरे, तर कसैलाई केही सुझेन । अन्ततः सबैको मतो मिल्यो । जतासुकै सजिल्यै मौलाएको बन्दको खेती गर्ने भए तिनले पनि । 

‘भो’भो’ धेरै नखोक ! बाढी पीडित, सुकुम्बासीलाई मल्हमपट्टिको ‘प्याकेज’ले’र धेरै आए । जिलेबी भन्दा गुलियो आश्वासन दे’र गए । कोही फर्केर आ’नन् । हाम्रो बिजोगमाथि डलर खेती गरे अरे ।’  खरो सवाल–जवाफको साथै बाढीले बिगारेको जमिन निरीक्षण गरी सकेर दुबै जना थकाइ मेट्न अग्लो ढिस्कोमा गएर बसे । तर कुमारको उत्सुकताले थकाइ मार्न चाहेन । गफ अघि बढ्यो । ‘उसो भे’ पोरसालको बाढीमा पटक–पटक हेलिकोप्टर निरीक्षण गरी फर्केका सरकारी अधिकारीले के हेरेका हुन् त ? नमक हरामहरू ! त्यति कुरा तिनलाई था’ थे’न र !?’

‘क्यै छैन, हरेक नयाँ काममा थोरै मान्छे लाग्चन् । जोखिम मोल्न नचाहने, हम्मेसी नयाँ काममा हात नहाल्ने, मान्छेको जातै हो । जसरी पानी ओरालोमा सलल बग्च, त्यसै गरी अधिकांश मान्छे चलिआएको सजिलो काममा बग्न रूचाउच । विस्तारी–विस्तारी प्रचार प्रसार भे’सी मान्छे हाम्ले थालेको नयाँ काममा हाम्फालेर आउचन्, हाम्रो पछि लाग्चन् । यो नयाँ खेती पनि थोरैबाट प्रारम्भ गर्नु परो । जति पछि भो’ त्यति मौलाएर जाने त हो नयाँ खेतीपाती । धर्तीले जस्तो जेठको प्रचण्ड गर्मी, पुष, माघको ठण्डी, बर्षाको मुसलधारे बर्षा र उर्लदो बाढी पहिरो, चैते हुरी, सुनामी जस्ता समुद्री आँधी खप्न सक्नु पर्च । नआत्तिकन दुःख, कष्ठ सहेर बस्न सक्नु पर्च, हेर्दा हेर्दै केही दिनमै बन्दको खेती हलक्क बढ्च ।’ हेटौँडामा भएको जनआन्दोलान–२ को कोणसभामा पटक–पटक देखिएको पातलो उपस्थितिलाई सम्झेर कुमारले मान्छे कसरी जम्मा पार्ने भनी पिरिएका रमिता र बाबुलाई आश्वासन दियो । 

सबैले रातभर गन्थन् गरेर नाराहरू तयार पारे । 

‘बाढी पीडित सुकुम्बासीलाई गाँस दे ! बास दे ! रोजगारी दे !’ 

पहिलो दिनको रातिको छलफलबाट यति नारा बनाएर तिनीहरू सुते । 

‘सुकुम्बासी मारा गिट्टी ठेकेदारलाई कार्वाही गर !’ 

‘निकम्मा सरकार चाइदैन ! चाइदैन ! सुकुम्बासी मार्न पाइदैन ! पाइदैन !!’ 

सुकुम्बासी पनि जनतै हुन्– राहत दे ! राहत दे !!’

भेलिपल्ट पल्लो टोले ठूले घर्तीको  तर्फबाट यो माग थपियो ।

‘भूमिपुत्र सुकुम्बासीलाई नागरिकता दे ! नागरिकता दे !!’

‘अकर्मण्य सरकार मुर्दावाद !’ 

पर्सिपल्टको बैठकमा जम्मा भएका तल्लो टोले, माथ्लो टोले सुकुम्बासी प्रतिनिधिहरूले मागमा माग थपे ।

‘देशभरिका बाढी पीडित सुकुम्बासीहरु –एक हम् ! एक हम् !!’

‘सुकुम्बासी एकता जिन्दावाद !’

यसरी जति मान्छे थपिदै गए उति नाराहरू मागहरू बढ्दै गए ।

बन्दको तयारी जोडतोडका साथ भइरहेको थियो । एक दिन कुमारको वालसखा केशब शर्मा त्यो सुकुम्बासी टोलमा टुप्लुक्क देखा पर्‍यो । ‘अहो सहरबासी मित्र आज ह्याँ’ यो दुःखी वस्तीमा अकस्मात कसरी बाटो बिरायौ ?’ आश्चर्यचकित हुँदै आफ्नो आँत मिल्ने साथीलाई कुमारले भैँसेका सबै सुकुम्बासीको हालखबर वेली विस्तार लगायो । उसले आफ्नो नेतृत्वमा हुन लागेको बन्दको खेतीको वारेमा बतायो । ध्यान दिएर कुमारको कुरा सुनेपछि केशबले बाढी पसेर विमाख पारेको कुमारको सामरी किनारको खेतबारी, भैँसेको बगर सबै हेर्न खोज्यो ।

‘हैन तिम्लाई हाम्रो सत्यानास् भा’को त्यो अलच्छिना ठाँम् किन हेर्नु परो ?’ 

‘तिमेर्को उर्बर माटो, चारैतिर पहाडका टुप्पाहरू माथि फराकिलो आकाश देखिने त्यो रमाइलो ठाम् कस्तो भएछ हेर्न मन लाग्यो नि ! कैलेकाही कल्पनासम्म नभा’को, कैल्यै नदेखेको प्रकृतिको विभत्स छटा हेरू–हेरू लाग्छ ।’ 

‘यऽ उसो भे’ हाम्रो विमाखमा तिमेरू सहरियालाई मजा लाग्ने रै’च, हैन त !’ यस्तै ख्यालठट्टा र छेडखानका कुराकानी गर्दै तिनीहरू घुमे । 

‘तिम्ले पोर बर्षामा भङ्गालो पसेर गाऊँ सप्पै सखाप पा¥यो भनेको ऊऽ त्यो खोलाको छेउमा सबै गाऊँले मिलेर तारजालीको तटबन्ध बनायो भने बगर पल्टेको खेतमा बाढी नपस्ने रै’च । त्यहाँ बाली लगाम्न नि सकिन्छ, बुझ्यौ, कुमार ।’

‘के कुरा गर्‍या होला यो केशबले । यो सुकुम्बासीलाई नउडाउन त्यसरी । उसै त गरिप त्यसमाथि बाढीले सुकुम्बासी बनाइसक्यो । केले बनाम्ने तटबन्ध ? गफका भराँ’ बन्दैन के रे ! सुकुम्बासीसंग हात–पाउ र परिश्रम बाहेक क्यै छैन, सरकारले हेर्दैन । जनताको सरकार भे’ पो हेथ्र्यो । दलको, अझ गुटको सरकार भन्छन् । कौडी न सौडी त्यसै दौडी गरेर हुने भा’त भैहाल्थ्यो नि । पानी समेत नअडिने बन्जड बगराँ’ पनि कहीँ खेती हुन्छ ? ‘आकाशको फल आँखा तरी मर’ भन्या जस्तो । कुमारले जमेर केशबको कुरा काट्यो ।

‘हुन्छ मात्र हैन मित्र, रामरी हुन्छ ! तिम्रो विपत्ति, मेरो पनि विपत्ति हाे हैन भने के को साथी, यार ? तिमेर्को विपतमा मल्हमपट्टि गर्न सकिन्छ कि भनेर भन्या हुँ । तिमी मेरो कुरा पत्याउन्नौ भन्ने पनि मलाई था’छ । तिमेर्कालागि ढीलै भए’नि राम्रो होस भनेर मैले नयाँ बाटो देखाउन खोज्या हुँ । यसलाई मजाकमा उडा’को नठान न यार ।’ 

‘भो’भो’ धेरै नखोक ! बाढी पीडित, सुकुम्बासीलाई मल्हमपट्टिको ‘प्याकेज’ले’र धेरै आए । जिलेबी भन्दा गुलियो आश्वासन दे’र गए । कोही फर्केर आ’नन् । हाम्रो बिजोगमाथि डलर खेती गरे अरे ।’ 
खरो सवाल–जवाफको साथै बाढीले बिगारेको जमिन निरीक्षण गरी सकेर दुबै जना थकाइ मेट्न अग्लो ढिस्कोमा गएर बसे । तर कुमारको उत्सुकताले थकाइ मार्न चाहेन । गफ अघि बढ्यो ।
‘उसो भे’ पोरसालको बाढीमा पटक–पटक हेलिकोप्टर निरीक्षण गरी फर्केका सरकारी अधिकारीले के हेरेका हुन् त ? नमक हरामहरू ! त्यति कुरा तिनलाई था’ थे’न र !?’

‘सरकारको काम कैले जाला घाम’ कर्मचारीहरूको यो पुरानो बानी हो । हेर्न आउने अधिकारी घूसको चास्नीमा डुब्न सोखिन पर्‍या होला । उसको लालची स्वाभावले ढीलासुस्तीलाई नै मलजल पुर्‍यायो । .....अर्कोतिर सब बाढी पीडितहरू मिलेर सरकारलाई घच्घच्याउन पुगेन कि ! वा सब कुरा सरकारले गर्नुपर्छ भनेर गाउँलेले गर्न सकिने, गर्न हुने, साना–तिना, झिना–मसिना काम कुरा पनि नगरी सरकारको मात्र मुख ताकेर बस्यौ कि ! आपत विपत पर्‍या बेलाँ’ सद्बुद्धि आउदैन भन्छन् ।’

‘आऽ कस्तो दुइजिब्रे कुरा गर्‍या होला ?’

‘विश्वास गर न मित्र, कैलेकाही नपत्याउने खोलाले बगौँ’छ के !

भै गो यो अलच्छिना च्याना त हामी मरे नि फर्कन्नौँ । धन्न मान्छे बाचेम् गाँठे ! अकालाँ’ मर्नु च र त्याँ’ फर्केर !’

‘ए रात्तै तिमेर्’लाई जानी जानी मर्न जाओ भनुम्ला त मैले ? कस्तो कुरा नबुझ्या, जे भा’नि त्यो तिमेर्को पैत्रिक थलो हो नि यार ।’

कुरैकुरामा केशबले कुमारलाई बन्दको खेती हैन बगरमा तर्बुजाको खेती गर्न सल्लाह दियो, सम्झायो पनि । तर अर्काको कुरा सुनेर एकोरिएको कुमार मान्दै मानेन । 

‘यो मोरो त सरकारी जासुस रै’च कि क्या हो ? यसले बल्ल–बल्ल हुन लागेको बन्दको खेती भाँड्ने छाँट ल्यायो ।’ कुमारको मनमा केशबप्रति आशङ्का उब्ज्यो । मुखले प्याच्च नभने पनि कुमार भित्रभित्रै केशबसंग तर्सियो । 

भोलिपल्ट साँझमा केशबले कुमारका परिवार– रमिता, आमा, बुवालाई बन्द र चक्काजामले हुने हानी नोक्सानी र खोलो पसेर बिगारेको आफ्नो जमिनमा वा खोला किनारमा गर्न सकिने तर्बुजा वा वेमौसमी हिउँदे तरकारी खेतीको वारेमा सविस्तार बताएको कुमारले सुनिरह्यो ।

‘यो असत्ती भँडुवाले बल्ल–बल्ल मनाएको मेरो परिवारको बुद्धि भुटिरा’च ।’ केशब सुत्न गएपछि राति अबेरसम्म कुमारले परिवारका सदस्यहरूको प्रतिक्रिया सुन्यो । त्यो छिप्पिएको रात, अरू सुते । तर कुमारलाई पटक्क निन्द्रा लागेन । लाटोकोसेरोझैँ जाग्राम भएर उसले मनमा कुरा खेलाउदै रात छर्लङ्ग काट्यो । भोलिपल्ट विहान कुमार चिया खादै परिवारसंग कुरा गर्न अग्रसर भयो ।

‘के रे, फेरि भन त ! धेरै सुकुम्बासी मिलेर समुदाय बनायो भने बीउबिजन, मल, आदिका लागि त्यै बगर–जमिन धितो राखेर रिन लिन सकिन्च रे नि । हाम्ले गरेको उत्पादनलाई बजार पुर्‍याउने जिम्मा मेरो भो’ पनि भन्च, यो केशबे । तिमेर्ले सबै काम नसम्हालुन्जेल म तिमेर्को घर आगनमै हुन्चु भन्च ।’ 

‘ठिकै त भन्दैछ तेरो साथीले । यो कलियुगमा यस्तो गुनिलो र असल मान्छे काँ’ पाइन्च र बाबु ! नयाँ खेतीले बिगार्‍यो भने त्यै बगर त जाने हो नि ! हाम्रो के जान्चर ! सुकुम्बासीको अरू के हुन्छ र, बिग्रनलाई । लौ भयो अब, अब त चित्त बुझ्यो ?’ कुमारकी आमाले कुमारलाई बीचैमा रोकिन् । अन्ततः ‘वादे–वादे जायते तत्व बोध’ भनेझैँ कुमार केशबको लाइनमा आयो ।

आफ्नो कुरामा कुमारहरू विश्वस्त भएको देखेर केशब पनि दङ्ग पर्‍यो । त्यसपछि बगरमा खेती गर्ने प्याकेज प्रोग्राम जिल्ला कृषि कार्यालयमा पेश गरियो । कुमारको नेतृत्वमा जाँगरिला, सोझा, इमान्दार, सुकुम्बासीलाई समुदायमा संगठित गर्ने र तर्बुजा, भिन्डी, पर्वर, चुच्चे करेला आदिको खेती गर्ने योजना बन्यो । कुमार क्षेत्रीहरूले गर्न आँटेको तर सुरू नै नभएको बन्दको खेती नगर्ने भए ।

याे पनि  

वरिष्ट फिजिसियनले पुर्‍याउन नसकेकाे सेवा

फाँटवालाको दैनिकी

जनता जगाउने काइदा