कोदोको उत्पादन बढाउन किसानलाई प्रविधि र औजार

कोदोको उत्पादन बढाउन किसानलाई प्रविधि र औजार

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक २४, २०७७

बलेवा । जिल्लाको ढोरपाटन नगरपालिकाले रैथानेबाली उत्पादनमा प्रोत्साहन गर्न किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । 

ढोरपाटनमा उत्पादन हुने कोदो, उवा र जौलगायत रैथानेबालीको संरक्षण र प्रर्वद्वनका लागि नगरपालिकाले लगानी बढाएको हो । किसानले परम्परागत अन्नबाली कोदोको सट्टा अन्यबाली लगाउने गरेका कारण यसको उत्पादनमा कमी आउन थालेपछि नगरपालिकाले तीन वर्षअघिदेखि कोदोबाली संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 किसानलाई प्रविधि, उपकरण र बीउको प्रबन्ध गरेर कोदोबालीको प्रर्वद्धनका कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाका कृषि  शाखा  प्रमुख  महेन्द्र  अधिकारीले जानकारी दिनुभयो । 'स्थानीय जातको बीउ नै लगाएका किसानलाई लगाउने विधि सिकाइरहेका छौं, जसले उत्पादन बढाउँछ', उहाँले भन्नुभयो, 'कोदोको सबैभन्दा झण्झटिलो काम भनेको फसल लिने बेलको हो, हामीले किसानलाई सजिलोका लागि कोदो झार्ने मेसिन र सुकाउनका लागि त्रिपाल दिने गरेका छौं ।'

किसानको मागका आधारमा नगरपालिकाले प्रक्रिया पूरा गरेर सामग्री दिने गरेको छ । हालसम्म यहाँका एक सय जना किसानले कोदो सुकाउनका लागि त्रिपाल पाएका छन् भने समूहमा १५ वटा कोदो, जौ र उवा झर्ने मेसिन वितरण गरिएको छ । ‘हिजो गरिबका घरमा मात्रै पाक्छ भन्ने कोदो अहिले तारे होटलमा पाकिरहेको छ’ नगरप्रमुख देवकुमार नेपालीले भन्नुभयो, 'हाम्रो माटोमा फल्ने कोदो बजारका तारे होटलमा पु¥याउने लक्ष हो ।'

यहाँका किसानले उत्पादन गरेको कोदो, काठमाडाैँ, पोखरा, बुटवललगायतका शहरसम्म पुग्छ । पारिवारिक हिसाबले बजार पस्ने कोदो, जौ र उवालाई व्यावसायिक बनाउनेगरी नगरपालिकाले उत्पादनमा सघाउन थालेको नगरप्रमुख नपालीको भनाइ छ । नगरपालिकाले गत वर्ष  १५ लाख वजेट विनियोजन गरेर कोदो, जौ र उवाको संरक्षण तथा प्रर्वद्धन थालेको थियो ।

तीन वर्षदेखि कार्यक्रम निरन्तर छ ।'यहाँको कोदोको पिठो ब्राण्ड बनाएर प्याकिङ गरी बजारसम्म पठाउने योजना छ', कृषि प्राविधिक अधिकारीले भन्नुभयो, 'रैथाने बालीको व्यावसायिक उत्पादन गर्न सकिन्छ भनेर किसानलाई उत्प्रेरित गरिरहेका छौं ।'