कोरानाका कारण समस्यामा 'घरबास' कार्यक्रम

कोरानाका कारण समस्यामा 'घरबास' कार्यक्रम

लोकसंवाद संवाददाता  |  पर्यटन  |  कार्तिक २५, २०७७

बागलुङ । पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय घरबास कार्यक्रम निकै प्रभावकारी देखिएको छ । कोरोना भाइरसले महामारीको रूप नलिएको भए अहिले घरबास भरिभराउ हुने सिजन हो । दशैँ तिहारको समयमा त झनै आन्तरिक पर्यटकको घरबासमा लर्को नै लाग्ने गर्दथ्यो । यस वर्ष कोरोनाका कारण घरबासहरु समस्यामा परेका छन् । 

गत चैतमा बन्दाबन्दी भएयता जिल्लाका घरबास अपवाद बाहेक सुनसान बनेका छन् । जिल्लाको पहिलो तथा चर्चित घरबासको रूपमा रहेको बागलुङ नगरपालिका–१० भकुण्डेको अतिथि सत्कार घरबास कोरोनाका कारण सुनसान छ । 

कोरोना सङ्क्रमणको जोखिमले फोन सम्पर्क गरेर आउन खोज्नेलाई पनि पाहुना नराख्ने जानकारी दिन बाध्य भएको घरबासका सञ्चालक खिमबहादुर थापा बताउनुहुन्छ ।'कोरोना कहरका बीच पनि यहाँ आउन खोज्नेहरुले त सम्पर्क गरिरहेका छन्', उहाँले भन्नुभयो 'हामीले नै सङ्क्रमण जोखिमको डरले नआउन भनेका छौँ, पाहुनाहरुले चित्त दुखाउनु भयो कि भन्ने लागेको छ तर के गर्नु अहिले अवस्था नै यस्तो छ ।'

कोरोना महामारी शुरु भएपछि अहिलेसम्म घरबासमा एक जना पनि पाहुना नआएको सिग्दी सामुदायिक होमस्टेका अध्यक्ष हिराबहादुर पुनले बताउनुभयो । बन्दाबन्दीको अवधि घरबासमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने सिजन थियो । कोरोनाले गर्दा घरबास व्यवसाय पूर्णरूपमा प्रभावित भएको छ ।'पर्यटक आउने समयमा बन्दाबन्दी भयो, बन्दाबन्दी भएदेखि एक जना पनि पाहुना आउनु भएन, यस्तो बेला राख्ने कुरा पनि भएन, अहिले झनै सङ्क्रमणको जोखिम छ', अध्यक्ष पुनले भन्नुभयो 'अझै केही समय पाहुना राख्ने अवस्था सिर्जना होला जस्तो छैन, यसले गर्दा धेरै ठूलो नोक्सान बेहोर्नु पर्ने बाध्यात्मक अवस्था छ ।'

विगतमा चैतदेखि असोज÷कात्तिकसम्म धेरै पाहुना घरबासमा आउने गरेको र आम्दानी पनि राम्रो हुने गरेको थियो । गत वर्ष घरबासमा पाहुनाहरुको बाक्लो उपस्थितिले स्थानीयस्तरमा उत्पादन भएका सामग्रीले  पनि राम्रो बजार पाएको घरबास सञ्चालकहरु बताउँछन् । यस वर्ष उत्पादनलाई बढाएको तर बिक्री नहुँदा समस्या परेको स्थानीयवासीको गुनासो छ ।'

'पोहोर साल धेरै पाहुना आउनुभयो, हामीले गाउँमा उत्पादन गरेको ‘लोकल’ कुखुरा, खसी, बोका, कोदोलगायतका चिजहरु अन्य ठाउँबाट मगाउनु परेको थियो, त्यही अवस्था आउँछ भनेर हामीले नै कुखुरा लगायतका सामग्री गाउँमै उत्पादन गर्यौँ', पुनले भन्नुभयो, 'के गर्ने यस्तो अवस्था आयो, उत्पादन भएका सामग्री बिक्री हुन सकेनन्, नोक्सान भयो ।'

बरेङ गाउँपालिका–२ सिग्दी गाउँमा मगर समुदायका केही व्यक्तिले मिलेर पाँच घरमा गत वर्षदेखि सामुदायिक घरबास सञ्चालन गरेका थिए । सञ्चालन गरेको केही समयमै सो घरबासले धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सफल भएको थियो ।