आफै‌ंले ताेकेकाे लक्ष्य भन्दा कम राजस्व

आफै‌ंले ताेकेकाे लक्ष्य भन्दा कम राजस्व

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २५, २०७७

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कूल  एक अर्ब ६३ करोड ६८ लाख २५ हजार सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले  एक अर्ब ९४ करोड ५२ लाख एक हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यमा  ३० करोड ८३ लाख ७६ हजार कम सङ्कलन हुनुमा औद्योगिक उत्पादनमा गिरावट आउनु र मदिराजन्य पदार्थको कारोवारमा कमी आउनु कारण रहेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिनुभयो । तीन महिनाको अवधिमा कार्यालयले लक्ष्यमा ८४ प्रतिशत प्रगति हासिल गरेको छ ।

असोजसम्ममा आम्दानी करमा  १११ प्रतिशत र  मूल्यअभिवृद्धि करमा १३७ प्रतिशत प्रगति हासिल गरेको कार्यालयले अन्तःशुल्कमा ५० प्रतिशत मात्र प्रगति गरेको देखाएको छ । सङ्कलित राजस्वमा आम्दानी कर  ५४ करोड ८८ लाख, मूल्यअभिवृद्धि कर  ५७ करोड १५ लाख ४७ हजार र अन्तःशुल्क ५१ करोड ६४ लाख ७८ लाख असुली भएको छ ।
    
कार्यालयबाट प्राप्त जानकारीअनुसार असोजमा आम्दानी करमा १२३ प्रतिशत, मूल्यअभिवृद्धि करमा १७८ प्रतिशत र अन्तःशुल्कमा ६८ प्रतिशत प्रगति गरेको छ । सो महिनामा  ६५ करोड ३० लाख ३१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ६३ करोड २१ लाख ९१ हजार राजस्व सङ्कलन गरी लक्ष्यमा ९७ प्रतिशत प्रगति गरेको कार्यालय प्रमुख सापकोटाले बताउनुभयो ।