बेलैमा सडक निर्माण नहुँदा ॐउद्यानको काम प्रभावित

बेलैमा सडक निर्माण नहुँदा ॐउद्यानको काम प्रभावित

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक २५, २०७७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका –७ स्थित घुम्थाङमा निर्माण भइरहेको ॐउद्यान सडक असुविधाका कारण लामो समयदेखि निर्माण अवरुद्ध भएको छ । विभिन्न व्यवधानका कारण ठेकेदारले समयमा नै सडक निर्माणको काम पूरा गर्न नसकी उद्यान निर्माणका सामान ढुवानी गर्न कठिनाइ उत्पन्न भएपछि निर्माण  प्रभावित भएको हो ।

बाह्रबीसे नगरपालिका– ७ को थगामदेखि उद्यानसम्मको ८ किमी सडक निर्माणको ठेक्का बिरुवा–कवीन्द्र जेभी कम्पनीले पाएको थियो । विसं २०७१ मा तीन वर्षभित्र सम्पन्न गर्ने गरी आठ करोड रुपैयाँमा सडक विभागसँग ठेक्का सम्झौता भएको थियो । संघीयता लागू भएपछि सो सडक हाल वाग्मती प्रदेशको मातहतमा आएको छ । ठेकेदार कम्पनीले आफैँ काम नगरी सहायक ठेकेदारलाई जिम्मा दिई सडकको साधारणमार्ग खोलेर अन्य काम पूरा गर्न नसकी अलपत्र अवस्थामा छाडिएको हुँदा उद्यानको काम प्रभावित भएको हो ।

साधारण मार्ग खोलिएको आठ किलोमिटर सडकमध्ये चार किलोमिटर सडकको मर्मत सुधार तथा नाली निर्माणको काम सम्पन्न भइसकेका हुँदा सबै काम चार महिनाभित्र सम्पन्न गरिसक्ने ठेकेदार कम्पनीका यादव श्रेष्ठले बताउनुभयो ।

समुद्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा रहेको उक्त स्थानमा उद्यान निर्माणका लागि नेपाली कांग्रेसकी नेत्री एवं ॐउद्यान नेपालका अध्यक्ष लीला नेपालले ६ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो । हालसम्म खानेपानी, विद्युत्का पूर्वाधार तथा सिंचाइका लागि प्लाष्टिक पोखरीको निर्माण भइरहेको उहाँले बताउनुभयो । त्यसैगरी एनआइसी एशिया बैंकले भजन कक्ष निर्माण गरिदिएको र अरु काम महिला समूहले गर्दै आएको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

पाइलटबाबाले शिलान्यास गर्नुभएको उद्यानमा रहने ॐको प्रतीक तातोपानी निवासी समाजसेवी अमृत खड्काले आफ्नै खर्चमा निर्माण गरिदिने जिम्मा लिनुभएको छ ।