खहरेखोलामाथि पक्की पुल निर्माण शुरुः स्थानीयवासी उत्साहित

खहरेखोलामाथि पक्की पुल निर्माण शुरुः स्थानीयवासी उत्साहित

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक २५, २०७७

पाेखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानको खहरेखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । 

गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय पूर्वाधार विकास कार्यालय कास्कीको पाँच करोड ९८ लाख ३० हजार ६८२ रुपैयाँ लागतमा रिभानको खहरेखोलामाथि पक्की पुल निर्माण शुरु भएको हो ।

तीन वर्षअघि पहिराले खहरेखोलामा कजवे बगाउँदा वर्खायाममा सडक सम्पर्कबाट बिच्छेद माछापुच्छ्रे गाउँपालिका–५ रिभानका स्थानीयवासी पुल बन्ने भएपछि उत्साहित भएका छन् । विसं २०७४ साउन २४ राति पहिराले खहरेखोलामा पुलसहित त्यस क्षेत्रका केही घर बगाएपछि स्थानीयवासी यातायात सम्पर्कबाट टाढा भएका थिए । 

हिउँदयाममा खोलाबाटै सवारीसाधन सञ्चालन भएपनि बर्खामा नदी बढ्दा यातायात सम्पर्कबाट विमुख रहनुपर्ने बाध्यता रहँदै आएकामा गण्डकी प्रदेश सरकारले पक्की पुल निर्माण शुरु गरेपछि स्थानीयवासी उत्साहित भएको वडाध्यक्ष जुमबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, 'वर्खायाममा हाम्रो पूरै वडासहित वडा नं ९ का बासिन्दा समेत सास्ती पाउँदै आएका थियौं । बालबालिका विद्यालय जान/आउन र बिरामीलाई समेत अस्पताल लैजान नसक्दा सबै चिन्तित थियौँ । पक्की मोटर हिँडने पुल बन्न शुरु भएपछि अब दुःखका दिन गए जस्तो लागेको छ । ' 

पुल निर्माण भएपछि वडा नं ५ को रिभानसहित छिमेकी वडाका कुईबाङ, मोहरा, तर्को, सैँतीघट्ट, सिदिङसम्मका पाँच हजार जनसङ्ख्या यसबाट लाभान्वित हुने बताइएको छ । 

उक्त पुलको भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आज शिलान्यास गर्नुहुँदै पुल, सडक, खानेपानी तथा सिँचाईका माध्यमबाट प्रदेश सरकार जनताको घरघरमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, 'जनतालाई आधारभूत सेवा सुविधा उपलव्ध गराउन प्रदेश सरकार लागिपरेको छ । हजारौंको बलिदान र क्रान्तिले ल्याएको गणतन्त्र र सङ्घीयता र त्यसैका आधारमा बनेको सरकार जनताको पीरमर्का र बुझेर काम गर्छ ।'

मन्त्री बस्नेतले प्रदेश सरकारले यसै वर्ष यो प्रदेशलाई उज्यालो प्रदेश घोषणा गरिने र काठे पोल विस्थापन गरी फलाम र स्टील पोल राखिने पनि बताउनुभयो । 
प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले प्रदेश सरकार गठन भएपछि ग्रामीण भेगमा समेत विकासका पूर्वाधार निर्माणले तीव्रता पाएको बताउँदै माछापुच्छ्रे गाउँपालिका वडा नं २ र ३ जोड्ने गरी सेती नदीमा पुल नहुँदा स्थानीयवासीलाई आफ्नै गाउँपालिकामा आउन समेत पोखरा पुगेर आउनुपर्ने बाध्यता रहेकाले यसैवर्षमा पुल निर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले पुल समयमै सम्पन्न गर्नका लागि पालिकाकोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताउनुभयो । 

विसं २०७८ असोज ६ गतेसम्म सो पुलको निर्माण सम्पन्न गर्ने गरी इन्द्रेणी निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख डिभिजनल इञ्जिनीयर दिनेश घिमिरेले जानकारी दिनुभयो ।