निरक्षर पनि अभ्यस्त छन् फेसबुकमा : लाइक र कमेन्ट समेत एैँचोपैँचोमा !

निरक्षर पनि अभ्यस्त छन् फेसबुकमा : लाइक र कमेन्ट समेत एैँचोपैँचोमा !

निर्जला कक्षपति  |  दृष्टिकोण  |  कार्तिक २५, २०७७

हिजोआज सामाजिक सञ्जालदेखि टाढा रहने मानिस कमै होलान् ?, पढेलेखेकालाई त नजिक हुनुलाई स्वाभाविक मान्न सकिएला । तर अक्षर नचिन्नेले पनि यसपछि यो थिच्ने हो कि भन्दै फेसबुक चलाएको  देखिन्छु । एउटा प्रसङ्ग  छ।  एक जना घर प्लास्टर गर्ने २० वर्षका युवकका थिए । फेसबुकमा एकाउन्ट खोलेका रहेछन् । अङ्ग्रेजी अक्षर एवीसीडी जेड सम्म मात्र पनि जानेका रहेनछन् । नेपाली भने कनीकुथीसम्म पढ्दा रहेछन् । फेसबुकमा राम्री युवतिको फोटो देखेपछि उसले कमेन्ट गर्न खोजेछन्, जानेनन् । अनि मैले ब्यूटीफूल भन्नु भने । तर उनले लेख्न जानेनन् । अनि मैले राम्री भनेर लेख्नु भने त्यो पनि जानेनन् । अङ्ग्रेजी अक्षर नै नचिन्दा रहेछन् । नेपाली फन्ट डाउनलोड नै गरेका थिएनन् । अनि मैले राम्री भनेर लेख्न सिकाएपछि त्यही अक्षर याद गरेर जसको तस्बिरमा पनि त्यही लेख्न थालेका छन् ।

यो  उदाहरण प्रस्तुत गर्नुको पनि अर्थ  छ । नेपालमा फेसबुक अर्थात् सामाजिक सञ्जालमा जोडिनेको सङ्ख्या यति धेरै छ कि कत्तिले यसको महत्त्व र अर्थ दुबै बुझेर प्रयोग गरिरहेका छन् र फाइदा समेत लिइरहेका छन् । तर कत्तिले त फेसबुकमा केही कुरा पोस्ट गर्ने बित्तिकै एक मिनेटमै संसार भरका मानिसले हेर्छन् भनेर थाहा नपाउनेहरू पनि फेसबुक चलाइरहेका छन् र जे मन लाग्यो त्यही पोस्ट गर्ने  गरेका छन् ।

जानेर कुनै पनि कुराको प्रयोग गर्दा हामीले त्यसबाट धेरै फाइदा लिन सक्छौँ । हुन त कोही पनि मानिस आमाको पेटबाटै सिकेर आएको हुँदैनन् । गर्दै जाँदा नै सिकिने हो । यसमा कुनै विवाद छैन । सामाजिक सञ्जालको दुरुपयोग गरेको देख्दा, हरे ! के पोस्ट गरेको होला, जस्तो लाग्ने रहेछ ।

फेसबुकमा जे पायो त्यही पोस्ट गर्ने त छँदै छ त्यस बाहेक विशेष गरी नेपालीहरूले फेसबुक कसरी र केका लागि प्रयोग गरिरहेका छन् भन्ने कुरा चर्चा गर्नु उपयुक्त होला जस्तो लागि रहेको छ । यदि फेसबुकको सही उपयोग गरिएको छ भनेदेखि हामीले फेसबुकबाट नै नयाँ नयाँ सूचना, प्रचार प्रसार र अरु थप ज्ञान पर्याप्त लिन सक्छौ ।

फेसबुकमा व्यक्त भएका विचारले एउटा धारणा बनाउन मानिसलाई मद्दत नै पुग्ने हुन्छ । यद्यपि सबै फेसबुक प्रयोगकर्ताले यसको सही सदुपयोग गरेका भने छैनन् । धेरैको लागि त फेसबुक आफ्नो रिस र भँडा पोख्ने सार्वजनिक स्थल समेत बनिदिएको छ ।

एकथरि यस्ता फेसबुक प्रयोगकर्ताहरू छन्, जो अर्काको चियोचर्चो गर्न मात्र फेसबुक एकाउन्ट खोलिरहेका छन् । यस्ता प्रयोगकर्ताले न कहिल्यै लाइक ठोक्छन्, न त कुनै कमेन्ट नै गर्छन् । यस्ता प्रयोगकर्ताले अर्काको गतिविधि थाहा पाउन नै फेसबुक एकाउन्ट खोलका हुन्छन्  र साथीभाइ, नातागोता इष्टमित्र सबैका बारे जानकारी थाहा पाएर बसेका हुन्छन् ।

जे होस् फेसबुक प्रयोगकाबाट को मानिस कस्तो स्वभावको हो भन्ने सामान्य अवस्था झल्काउन मदत गर्छ । फरक फरक मानिस भएकाले उसको बानी र उसले फेसबुक प्रयोग गर्दा देखाउने व्यवहार फरक फरक हुने नै भए । तर मलाई भने, मानिसको पद, हैसियत, र उसको ठुला व्यक्तिसँगको सम्बन्ध हेरेर लाइक र कमेन्ट गर्नेहरू तथा पदमा पुगेका मानिसलाई कमेन्ट गर्दा फाइदा केही पुग्न सक्छ कि, अथवा आफूले केही फाइदा लिन सकिन्छ की भनेर फेसबुकमा लाइक र कमेन्ट गर्नेहरू देखेर दिक्क नै लाग्ने गर्छ ।

कोही भने सामाजिक सञ्जालको भरपुर उपयोग लिने खालका हुन्छन् ।  आफूले गरेका राम्रा कामहरू फेसबुकमा सार्वजनिक गरिहाल्ने, फेसबुकमा राखिएका सूचनाहरूको जानकारी लिने लगायतका कामहरू गर्ने गर्छन् । वास्तवमा सामाजिक सञ्जालको उपयोग भनेको पनि यही नै हो । यस्ता प्रयोगकर्ताहरू फेसबुकको भरपुर उपयोग गर्न जान्ने खालका हुन्छन् र आना काम र आफ्नो बारे सामाजिक सञ्जालमा उत्तिकै प्रचार प्रसार पनि गरिरहेका हुन्छन् । फेसबुकमा साथीहरूले राखेका विचारहरू प्रति आफ्नो प्रतिक्रिया दिइहाल्ने, अनि हरेक समय सक्रिय रहने खालका हुन्छन् ।

कोही फेसबुक प्रयोगकर्ताहरू भने जे देखे पनि लाइक गरिहाल्ने प्रवृत्तिका हुन्छन् । चिनेका नचिनेका प्राय सबैलाई लाइक गरिहाल्छन् । चिनेका व्यक्तिहरूले जे पोस्ट गरे पनि यस्ता प्रयोगकर्ताहरुले कमेन्ट पनि गरिहाल्छन् । सरसरती हेर्दा यस्ता प्रयोगकर्ताहरू एकदम सकारात्मक प्रवृत्तिका जस्ता लाग्छन् । नचिनेका व्यक्तिले पोस्ट गरेका सामग्रीहरू मन पर्‍यो भने कमेन्ट गरिहाल्न पछि पर्दैनन् । सामाजिक सञ्जाल नै एउटा यस्तो ठाउँ हो, चिने, नचिनेका सबै व्यक्ति साथी बनेका हुन्छन् ।

तीन दशक पहिले नचिनेको व्यक्तिलाई पनि पत्र लेखेर पत्र मित्रता गर्ने चलन थियो । पत्र मित्रताबाट सुरु भएको साथी कत्तिको त जीवनसाथीमा पनि परिणत हुने गर्थ्यो भने कत्तिका साथी साँच्चीकै असल मित्र हुने गथ्र्यो । सामाजिक सञ्जाल पनि मानिसलाई धेरै साथी बनाउने एउटा राम्रो प्लेटफर्म बनेको छ ।साथैसाथै साथीबाट सुरु भएको मित्रता शत्रुमा पनि परिणत भएको छ । साथी बाट सुरु भएको सम्बन्धले एकले अर्कालाई ब्लाकमेलींग गर्ने ठाउँ समेत बनेको छ । फेसबुकको सदस्य भएपछि कत्तिका समस्याहरू समाधान पनि हुने गरेका छन् । दुःख पाएका बेला सहयोग समेत पाउने गरेको छ । 

एकथरि फेसबुक प्रयोगकर्ताहरू लाइक गर्न पनि, जसरी पैँचो तिरिन्छ त्यसैसरि आफूले लाइक र कमेन्ट गरो भने गरिदिने, आफूले लाइक र कमेन्ट गरेन भने नगर्ने खालका हुन्छन् । नेपालमा यस्ता फेसबुक प्रयोगकर्ताहरू धेरै छन् जस्तो लाग्छ । गाउँघर तिर आफ्नो रोपाइँका बेला छिमेकीहरू काम गर्न आयो भने मेरो रोपाइँका बेला आएका थिए म पनि जानु पर्छ भनेर जानु पर्ने हुन्छ र जाने गर्छन् हो ठिक यसै गरी आफ्नोमा लाइक र कमेन्ट गरिदिए बल्ल अर्काको पनि गर्न अनिवार्य ठान्छन् । 

हैन भने फलानोले मेरोमा लाइक गर्दैन म त्यसलाई किन गर्ने,भन्ने फेसबुक प्रयोगकर्ताहरू धेरै छन् । कोही फेसबुक प्रयोगकर्ताहरू भने फेसबुकमै एउटा जमात तयार पार्छन् अनि आफ्नो बारे राम्रा राम्रा कुरा लेख्न लगाएर कमेन्ट गर्न लगाउँछन् । फेसबुकमा समेत गुटबन्दी देख्न पाइन्छ । विपरीत विचार धारा अथवा गुणगान गर्ने व्यक्ति परिएन भने सुन्न र हेर्न नसकिने गाली गलौच एकैसाथ बर्सिने गर्दछ । मानौँ ठुलै अपराध गरिए जस्तो गरी व्यक्ति नङ्ग्याउन लागिन्छ । 

अर्कासरि फेसबुक प्रयोग कर्ताहरू मानिसको पद र हैसियत हेरिहेरी लाइक र कमेन्ट गर्नेहरू हुन्छन् । ठुला पदमा पुगेका व्यक्ति छन् भने नचिनेको भए पनि लाइक गरिहाल्ने, अनि जति नै नराम्रो भए पनि हाउ स्वीट, हाउ व्यूटीफूल, भनेर चाकड गर्ने प्रवृत्तिका हुन्छन् । 

यस्ता खाले फेसबुक प्रयोगकर्ताहरू जन्मदिनमा होस् यो कुनै अवसरमा नजिकको सम्बन्ध नभए पनि सार्वजनिक कार्यक्रममा सँगै बसेर लिइएका फोटोहरू फेसबुकमा सार्वजनिक गरेर फलानोको फलानोसँग सम्बन्ध रहेछ नि भन्ने भ्रम समाजमा फैलाउन  चाहन्छन् ।  यति मात्र कहाँ हो र पदमा पुगेका मानिसको सामाजिक सञ्जालमा दुई शब्द खर्चेर केही लेखिदियो भने त्यस्ता व्यक्ति बाट केही लाभको काम लिन सकिन्छ की भन्ने आस पनि त्यत्तिकै हुन्छ । त्यसैले पद पुगेका मानिसको चाकडी गर्न मानिस पछि पर्दैनन् । त्यसैले यस्ता व्यक्तिहरू लाइक र कमेन्ट पनि मानिसको पद, प्रतिष्ठा र हैसियत हेरि हेरि गर्ने गर्छन् ।

कोही व्यक्ति भने फेसबुकमा धेरै लाइक र कमेन्ट आएको देख्यो भने मात्र आफूले लाइक र कमेन्ट गर्ने खालका हुन्छन् । यस्ता खाले मानिसहरू आफ्नो मनले चाहेर भन्दा पनि अरूले गरेको लाइक र कमेन्ट  देखेर गर्ने गर्छन् । कोही भने व्यक्तिको जीवनस्तर हेर्ने अनि लाइक र कमेन्ट गर्ने खालका हुन्छन् । आफ्नो भन्दा अर्काको जीवनस्तर राम्रो देख्यो भने इश्र्या र आरिस गरेर लाइक समेत नगर्ने व्यक्तिहरू पनि यही समाजमा छन् ।

कोही मानिसहरू यस्ता हुन्छन्, अनलाइनमा देख्ने बित्तिकै मेसेन्जरमा लेखेर कुरा गरी हाल्ने । कत्तिले त फोन गरेर हैरान पार्छन् । फोन गर्नु अगाडि फ्री हो कि होइन भन्ने समेत सोध्न जरुरी ठान्दैनन् । आफू काममा भएका बेला फोनको घण्टी बजाएर दिक्क पार्ने देखेर पनि हैरान हुने गरिन्छ । मानिस कस्तो प्रवृत्तिको हो, फोन गरेको मन पर्ने हो कि होइन भन्ने समेत ख्याल नगरी फोन गर्ने देखेर हैरान नै लाग्ने गर्दछ । 

फेसबुकमा फोटो हाल्न पाइन्छ भनेर फेसबुक चलाउनेको जमात पनि बाक्लो छ । यस्ता व्यक्तिहरूलाई कुनै कुराको चासो हुँदैन खाली आफू पनि फोटो मात्र हाल्छन् र अर्काकोमा पनि फोटोमा मात्र लाइक गर्छन् अरु जति नै महत्त्वपूर्ण कुरा लेखे पनि यिनीहरू मतलब नै राख्दैनन् । 

जे होस् फेसबुक प्रयोगकाबाट को मानिस कस्तो स्वभावको हो भन्ने सामान्य अवस्था झल्काउन मदत गर्छ । फरक फरक मानिस भएकाले उसको बानी र उसले फेसबुक प्रयोग गर्दा देखाउने व्यवहार फरक फरक हुने नै भए । तर मलाई भने, मानिसको पद, हैसियत, र उसको ठुला व्यक्तिसँगको सम्बन्ध हेरेर लाइक र कमेन्ट गर्नेहरू तथा पदमा पुगेका मानिसलाई कमेन्ट गर्दा फाइदा केही पुग्न सक्छ कि, अथवा आफूले केही फाइदा लिन सकिन्छ की भनेर फेसबुकमा लाइक र कमेन्ट गर्नेहरू देखेर दिक्क नै लाग्ने गर्छ ।