कोरोना विरुद्धको खोप : अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा एकै पटक परीक्षण !

कोरोना विरुद्धको खोप : अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा एकै पटक परीक्षण !

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २६, २०७७

अमेरिकी राष्ट्रपतिको चुनाव सम्पन्न भएसँगै कोरोना भाइरस विरूद्धको खोप उत्पादन र परीक्षण सफल भएका समाचारले गर्मागर्मी स्थान पाउन थालेकाे छ । कोरोना भाइरसको महामारीका कारण विश्वमा ५ करोडभन्दा बढी संक्रमित भइसकेका छन् भने करिब १३ लाखको मृत्यु भइसकेको छ । नेपालमा हालसम्म २ लाख मानिस संक्रमित भएका छन् भने १ हजार ४४८ जनाको मृत्यु भइसकेको छ । 

कोरोना भाइरस महामारीका रुपमा फैलिएपछि विश्वभरी खोप निर्माणका लागि धेरै देशमा प्रयास भइरहेको छ । करिब २ महिनाअघि नै रुसले खोप निर्माण गरेर प्रयोगमा ल्याउनका लागि अनुमति दिएको थियो । तर सो खोपको साइड इफेक्ट देखिएपछि खोपको प्रभावकारितालाई लिएर प्रश्न उठेको थियो ।

कोरोना भाइरस विरूद्धको खोप निर्माणर्क क्रममा पहिलो प्रभावकारी खोप लगाएका मध्ये ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएपछि विश्वभर खुसी छाएको छ । 

औषधी निर्माता कम्पनीहरु जर्मनीको फाइजर र अमेरिकाको बायोएनटेकले तेस्रो चरणको परीक्षण गरेको खोप ९० प्रतिशत सफल भएको खबरलगत्तै संसारभरि नै उत्साहमात्रै छाएको छैन कोरोनाका कारण संकटमा परेको शेयर बजारले मंगलबार गति लिएको छ । 

अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएका परीक्षणहरूमा सो खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरू मध्ये ९० प्रतिशतलाई कोरोना भाइरस संक्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो ।

फाइजर र बायोएनटेकले खोपको प्रभावकारी नतिजा प्राप्त भएपछि विज्ञान र मानवताका लागि एक महान दिन भएको बताएका छन् । विभिन्न ६ देशका ४३ हजार ५ सय मानिसमा खोप परीक्षण गरिएको थियो । यो खोप परीक्षणका क्रममासुरक्षा सम्बन्धी कुनै पनि समस्याहरु देखा परेनन् । 

परीक्षणमा राम्रो नतिजा आएपछि यी कम्पनीहरूले यसै महिनाको अन्त्यसम्ममा खोपको प्रयोगका लागि आवश्यक अनुमति आपतकालीन रूपमा प्राप्त गर्न आवेदन दिने योजना बनाएका छन् । तर यो खोप प्रयोगका लागि साँच्चै सुरक्षित छ या छैन भन्ने जाँचका लागि अझै केही समय लाग्ने भन्दै केही विज्ञहरुले भने तत्काल उत्साहित हुनु अपरिपक्व कदम हुनसक्ने चेतावनी दिएका छन् । 

नयाँ खोपका चुनौती 

खोप परीक्षणमा सफल भएपनि अझै चुनौतीहरु बाँकी नै छन् । कतिपय वैज्ञानिकहरुले भने खोपको परीक्षण सफल भएकोमा स्वागत गरेका छन् । यदि यो खोपले प्रभावकारी काम गरेमा आगामी वर्षभरीमा कोरोना भाइरसको महामारीका कारण त्रसित बनेको जनजीवन सामान्य बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । खोप र राम्रो उपचारको व्यवस्था आम मानिसहरूको जनजीवनमा उथलपुथल ल्याउने गरी कोरोना भाइरसको महामारीका कारण लागु विभिन्न प्रतिबन्धहरूबाट पार पाउने उत्तम उपाय भएको बताइएको छ । 

करिब एक दर्जन खोपहरू तेस्रो चरणको परीक्षणको अन्तिम चरणमा छन् । यो खोपका साथै अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको तथा एस्ट्राजेनेकाले निर्माण गरिरहेको खोप, अमेरिकाको मोडेर्ना ल्याबको खोप, चीनका ३ वटा खोप ( सिनोफाम, कान्सिनो, सिनोभ्याक) पनि अन्तिम चरणमा पुगेका छन् । रुसको ग्यामेलिया इन्स्टिच्युट र भेक्टर इन्स्टिच्युटले तेस्रो चरणको परीक्षण गरिरहेका छन्  । तेस्रो चरणको परिणाम आइनसके पनि चीन र रुसले सीमित संख्यालाई खोप दिइरहेका छन् ।

तर अहिले घोषणा गरिएको खोप प्रभावकारी लक्षण देखाउन सफल पहिलो हो । यसले सम्पूर्ण रूपमा प्रयोगात्मक प्रकृया अपनाएको छ जुन प्रक्रियामा मानव शरीरको रोग प्रतिरोधी क्षमतालाई कोरोना भाइरस विरूद्ध लड्न अभ्यस्त तुल्याउन सो भाइरसको जेनेटिक कोडको एक भागलाई सुई मार्फत शरीरमा प्रवेश गराउने विधि संलग्न छ ।

पहिलेका परीक्षणहरूले सो खोपले शरीरलाई कोरोनभाइरससँग लड्न सो भाइरस विरोधी एन्टिबडी निर्माण गर्न र टि–सेल भनिने शरीरको रोग प्रतिरोधी क्षमताको अर्को भाग तयार पार्न अभ्यस्त तुल्याउने देखाएका थिए । तीन साताको अन्तरालमा यो खोपको दुई मात्रा आवश्यक पर्दछ ।

अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएका परीक्षणहरूमा सो खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरू मध्ये ९० प्रतिशतलाई कोरोना भाइरस संक्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो ।

औषधी निर्माण कम्पनी फाइजरले यो वर्षको अन्त्यसम्ममा पाँच करोड मात्रा खोप आपूर्ति गर्न सक्नेछ भने सन् २०२१ को अन्त्य सम्ममा १ अर्ब तीस करोड मात्रा आपूर्ति गर्न सक्ने बताएको छ । एक जनालाई दुई मात्रा दिनुपर्ने भएकाले यो वर्ष २ करोड ५० लाख मानिसले मात्रै खोप पाउनेछन् । बेलायतले यो वर्षको अन्त्यसम्ममा खोपको एक करोड मात्रा प्राप्त गर्न सक्नेछ भने थप तीन करोड मात्राको लागि खरिद आदेश दिइसकिएको छ ।

फाइजर कम्पनी र बायोएनटेक कम्पनीले अमेरिकी सरकारबाट १ अर्ब ९५ करोड डलर बराबरको खोपको माग लिइसकेको छ । जसअनुुसार आगामी वर्षको सुरुवाततिर अमेरिकालाई १० करोड खोप आपूर्ति गर्नुपर्नेछ । यसका साथै युरोपियन युनियन, बेलायत, क्यानडा र जापानले समेत खोपको आपूर्ति लिइसकेका कारण उनीहरुलाई पनि सो अनुसार खोप उपलब्ध गराउनुपर्ने अवस्था छ । 

खोपको सुरक्षा संवेदनशीलता

यो खोप सुरक्षाका हिसाबले पनि निकै संवेदनशील देखिएको छ । यो खोपलाई माइनस ८० डिग्री सेल्सियसको अति चिसो तापक्रममा सुरक्षित राख्नु पर्नेछ । त्यसैले यसको व्यवस्थापनमा निकै ठूलो चुनौति हुनेछ । फाइजरका अध्यक्ष डा.अल्बर्ट बूर्लाले भनेका छन्, ‘यो विश्वव्यापी महामारीलाई अन्त्य गर्नका लागि संसारभरीका मानिसहरूलाई अत्यावश्यक उपाय प्रदान गर्ने दिशामा हामी उल्लेखनीय कदमले नजिक पुगेका छौं ।’

बायोएनटेकका संस्थापक प्राध्यापक उगुर साहिनले यो नतिजालाई ‘कोशेढुङ्गा’ का रुपमा व्याख्या गरेका छन् । यद्यपि हाल प्रस्तुत गरिएको तथ्यांक अन्तिम विश्लेषण भने होइन । यो प्रथम ९४ जना स्वयंसेवकहरूबाट प्राप्त नतिजामा आधारित छ । यो खोपको खास प्रभावकारीता यो परीक्षणको पूर्ण नतिजाहरूको विश्लेषण गरेपछि यो भन्दा केहि परिवर्तित पनि हुन सक्नेछ । खोपहरु धमाधम परीक्षणमा रहेर राम्रो नतिजा प्राप्त भइरहेपनि नेपालजस्ता देशले सीमित मात्रामा खोप पाउन भने अझै केही समय पर्खिनुपर्नेछ ।