आइएयूको एशोसियट सदस्यमा पहिलो नेपालीको मनोनयन

आइएयूको एशोसियट सदस्यमा पहिलो नेपालीको मनोनयन

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  कार्तिक २६, २०७७

काठमाडौँ । अन्तर्राष्ट्रिय एष्ट्रोनोमिकल युनियन (आइएयु) मा पहिलोपटक नेपालीको प्रवेश भएको छ। आइएयु खगोल विज्ञानमा काम गर्ने वैज्ञानिकहरुको संस्था हाे । 

डेढ दशकअघिदेखि नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) स्थापना गरी नेपालमा खगोल विज्ञानको अध्ययन अनुसन्धानमा काम गर्दै आएका संस्थापक अध्यक्ष सुरेश भट्टराईलाई आइएयुले एशोसियट सदस्य पदमा मनोनयन हुनु भएको हो । भट्टराई यसअघि सन् २०१८ देखि नै आइएयुको नेपाल प्रतिनिधिका रुपमा काम गर्दै आउनु भएको थियाे ।

भट्टराईलाई आइएयु अफिस फर एष्ट्रोनोमी आउटरिच जापान कार्यालयको सिफारिसमा युनियनको मुख्यालय पेरिसले एशोसिएट सदस्य पदमा मनोनयन हनु भएको हो । भट्टराई विसं २०७३ देखि त्रिचन्द्र क्याम्पस घण्टाघरमा भौतिक विज्ञान विषयको आंशिक उपप्राध्यापकका रुपमा समेत कार्यरत छन्।

आइएयु सदस्य नियुक्त भएपछि उनले नेपालमा खगोल विज्ञानको शिक्षा, जनसम्पर्क, सम्पदा तथा संस्कृतिको क्षेत्रमा पनि काम गर्ने कार्ययोजना रहेको जानकारी दिनु भएको छ । 

वेदको एक अङ्गका रुपमा रहेको ज्योतिषले समेत केही खगोलका विषयमा अध्ययन गर्ने परम्परा ऋषिमुनिको पालादेखि चल्दै आए पनि त्यसको समन्वयात्मक अनुसन्धान हुन सकेको छैन । यस सम्बन्धमा समेत काम गर्ने भट्टराईको योजना छ।

युनियनमा १०० देशका १३ हजार ५०० भन्दा बढी खगोलविद् सदस्य छन् । सन् १९१९ स्थापना भएको युनियनको प्रधान कार्यालय फ्रान्सको पेरिसमा रहेको छ । खगोल विज्ञानको क्षेत्रमा काम गरेका व्यक्तिलाई युनियनको एशोसिएट सदस्यमा मनोनयन गर्ने व्यवस्था छ । युनियनमा हाल १०२ एशोसिएट सदस्य छन् ।

खगोल विज्ञानमा विद्यावारिधि गरेकालाई युनियको कनिष्ठ सदस्यता दिने गरिएको छ । हाल ७१७ जना युनियनका कनिष्ठ सदस्यका रुपमा कार्यरत छन् । नासोलाई युनियनको राष्ट्रिय सदस्यता प्राप्त गर्ने गरी मानवीय स्रोत तयार पार्ने काम भइरहेको सोसाइटीले जनाएको छ।