काग तिहारको उपलक्षमा ‘आलु पार्टी’ हास्य व्यङ्यात्मक कार्यक्रम तयारी

काग तिहारको उपलक्षमा ‘आलु पार्टी’ हास्य व्यङ्यात्मक कार्यक्रम तयारी

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २६, २०७७

काठमाडौँ। साहित्य संचार नेपाल, नेपाल हाइकू केन्द्र, आध्यात्मिक पत्रकार समाजको सहकार्यमा  तिहारको अवसरमा नियमित आयोजना हुँदै आएको हाँस्य व्यंग्यात्मक कार्यक्रम ‘आलु पार्टी’ यो वर्ष अनलाइन मार्फत सञ्चालन हुने भएको छ। गएको ४ दशकदेखि निरन्तर आयोजना गरिँदै आएको कार्यक्रम कोभिड महामारीका कारण अनलाइन माध्यमबाट गरिने आयोजकले जानकारी दिएका छन् । 

विसं २०३४ सालदेखि तत्कालीन चर्चित हाँस्य व्यङ्गकार राम कुमार पाँडे, बाशुदेव लुइँटेल, टेकबहादुर मुखिया, दाताराम शर्मा, बाशुदेव रिमाल ‘यात्री’ लगायतका साहित्यकारहरूको अगुवाइमा सुरु गरिएको यस कार्यक्रमलाई पहिलोपटक अनलाइन माध्यमबाट गर्न लागिएको  बताइएकाे छ । 

आलुकै प्रतिमा बनाइ प्रतिकात्मक रुपमा विभिन्न उपमा दिइ आलुका परिकार सहित हाँस्य व्यङ्गात्मक प्रस्तुतीहरूका साथ प्रत्येक वर्ष काग तिहारका दिन जावलाखेल स्थित पाँडे प्याराडाइजमा मानाइँदै आइएको थियो। यस कार्यक्रमलाई यो वर्ष विभिन्न सामाजिक संजालबाट प्रत्यक्ष प्रशारण गरिने हुँदा संसारभर एकैसाथ हेर्न र सुन्न सकिने आयोजक संस्था हाँस्य ब्यङ्ग समाज नेपाल तथा नेपाल हाइकू केन्द्रका शिरोमणि दवाडीले जानकारी दिनु भएको छ । 

कार्यक्रमको प्रस्तुतकर्ता हाँस्य ब्यङ्ग समाज नेपाल रहेको छ भने साहित्य संचार नेपाल, नेपाल हाइकू केन्द्र, आध्यात्मिक पत्रकार समाज (आपस) ले सहकार्य गर्ने जनाएका छन् ।

यस कार्यक्रमका संस्थापक मध्येका एक वरिष्ठ हाँस्य ब्यङ्गकार राम कुमार पाँडेका अनुसार यस अघिका कार्यक्रममा प्रत्यक्ष उपस्थित हुने कलाकार र साहित्यकारको प्रस्तुती रहने गरेकोमा यस वर्ष अनलाइन (जुम) को माध्यमबाट संसारको कुनै पनि कुनाबाट सहभागी हुन इच्छुक प्रतिभाहरूले सहभागिता जनाउन सकिने बताइएकाे छ । विगतमा सहभागी हुँदै आएका कलाकारहरू शैलेन्द्र सिंखडा, दिपक राज गिरी, दिपाश्री निरौला, जितु नेपाल, दमन रुपाखेती, डम्बर घिमिरे, घनश्याम गौतम, टेक बहादुर कोइराला तथा साहित्यकारहरू प्रा. राम कुमार पाँडे, डा. बम बहादुर जिताली, हृदय प्रसाद मिश्र, बाशुदेव गुरागाइँ, मित्रबन्धु पौडेल तथा कार्टुनिष्ट अशोकमान, अमिन श्रेष्ठ लगायत अन्य परिचित तथा नव प्रतिभाहरूको पनि प्रस्तुती रहने बताइएको छ।

कार्यक्रमले खित्का छोडेर हसाँउने मात्र नभइ राजनीतिक तथा सामाजिक बेथिति माथि प्रतिकात्मक व्यङ्ग प्रहार गर्ने हुँदा यस ऐतिहासिक कार्यक्रमको गरिमा बढेको र यस वर्ष पनि अझ विशेष र पृथक रहने नेपाल हाइकु केन्द्रका उपाध्यक्ष मित्रबन्धु पौडेलले जानकारी दिनु भएको छ । कार्यक्रम कार्तिक २८ गते, कागतिहारका दिन दिउँसो ३ बजे हुन समेत जनाइएकाे छ।