राजपाको केन्द्रीय समिति बैठक दुई वर्षमा एकपटक मात्रै

राजपाको  केन्द्रीय समिति बैठक दुई वर्षमा एकपटक मात्रै

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २४, २०७५

काठमाडाैं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को केन्द्रीय कार्यसमिति र पदाधिकारी बैठक दुई वर्षमा एकपटक मात्रै बसेको छ । मधेसकेन्द्रित ६ दल मिलेर ७ वैशाख ०७४ मा राजपा गठन भएको थियो । 

पार्टी गठन भएपछि स्थानीय तह निर्वाचनमा भाग लिने या नलिने भन्ने निर्णय गर्न ०७४ असोजमा पदाधिकारी र केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । त्यसपछि दुवै बैठक नबसेको महासचिव केशव झाले जानकारी दिए । ‘दुई वर्ष भयो, अहिलेसम्म न पदाधिकारी बैठक बसेको छ, न त केन्द्रीय समिति बैठक नै,’ झाले नयाँ पत्रिकासँग भने ।

पार्टी विधानमा निश्चित समयमा बस्नैपर्ने भनेर नतोकिएको तथा आवश्यकता र औचित्य पनि नदेखिएकाले बैठक नबसिएको अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले जानकारी दिए । ‘पार्टी विधानमा बैठकको निश्चित समय तोकिएको छैन । तत्काल पदाधिकारी बैठक बस्नुपर्ने आवश्यकता पनि देखिएको छैन,’ उनले भने, ‘०७४ असोजको पदाधिकारी र केन्द्रीय कार्यसमितिको बैठकले पार्टी महाधिवेशन गर्ने र त्यससम्बन्धी प्रक्रिया अगाडि बढाउन राजनीतिक समिति र अध्यक्षमण्डललाई म्यान्डेट दिएको थियो । त्यसैअनुरूप अध्यक्षमण्डलले सदस्यता वितरण र नवीकरणको काम गरिरहेको छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।