भक्तपुरका आइसोलेसन केन्द्र रित्तो, सङ्क्रमित सबै घरमा

भक्तपुरका आइसोलेसन केन्द्र रित्तो, सङ्क्रमित सबै घरमा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  कार्तिक २६, २०७७

भक्तपुर । भक्तपुरमा सोमबार १२८ कोरोना सङ्क्रमित थपिए । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार ११८ नयाँ सङ्क्रमित थपिएका थिए । दिनको १०० भन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिए पनि कोरोना सङ्क्रमितको उपचारका लागि खोलिएका भक्तपुरका आइसोलेसन केन्द्र भने रित्तिन थालेका छन् ।
    
कोरोना सङ्क्रमितले होम आइसोलेसन रोज्ने क्रम बढेसँगै सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढे पनि आइसोलेसेन केन्द्र भने रित्तिन थालेका हुन् । भक्तपुरका विभिन्न आइसोलेसन केन्द्रमा ८७१ श्यया छन् तर मङ्गलबार दिउँसोसम्म ती केन्द्रमा जम्मा ५९ जना उपचाररत छन् ।
    
भक्तपुर अस्पतालमा १५, भक्तपुर क्यान्सर अस्पतालमा छ, सैनिक आवासीय महाविद्यालयमा १५०, डा इवामुरा अस्पतालमा चार, सिद्धि स्मृति अस्पतालमा एक, जनस्वास्थ्य च्याम्हसिंहमा दुई, ब्रह्मायणी आइसोलेसन केन्द्रमा ७५, केएमसी अस्पताल दुवाकोटमा १५०, सैनिक अन्तर्राष्ट्रिय शिक्षालय खरिपाटीमा १३०, खानेपानी तालीम केन्द्र तेलकोटमा २३, विद्युत् प्राधिकरण तालीम केन्द्र खरिपाटीमा २०० श्ययाको आइसोलेसन केन्द्र छ ।
    
त्यसैगरी समिट अस्पतालमा १०, बिपी आँखा अस्पतालमा एक, आरोग्य अस्पतालमा चार, नागरिक सामुदायिक अस्पतालमा तीन, मध्यपुर अस्पतालमा १३, नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा नौ, कृषि विकास बैंकको तालीम केन्द्र बोडेमा ५० र वीर दल गण सूर्यविनायकमा ७५ श्ययाको आइसोलेसन केन्द्र रहेको छ ।
    
तीमध्ये भक्तपुर अस्पतालमा पाँच पुरुष र एक महिला गरी छ, सैनिक महाविद्यालयमा १२ पुरुष र एक महिला गरी १३, ब्रह्मायणीमा पाँच पुरुष र तीन महिला गरी आठ, केएमसी अस्पतालमा तीन पुरुष र तीन महिला गरी छ, सैनिक अन्तर्राष्ट्रिय शिक्षालयमा एक पुरुष तथा विद्युत् प्राधिकरण तालीम केन्द्रमा एक पुरुष सङ्क्रमित उपचाररत छन् ।

त्यसैगरी नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा तीन पुरुष र चार महिला गरी सात, मध्यपुर अस्पतालमा चार पुरुष र एक महिला गरी पाँच तथा कृषि विकास बैंकको तालीम केन्द्र बोडेमा सात पुरुष र पाँच महिला गरी १२ सङ्क्रमित छन् । आइसोलेसन केन्द्रका बाँकी श्यया खाली छन् ।
    
सरकारले कोरोना सङ्क्रमण बढेसँगै होम आइसोलेसनमा बस्न सक्ने निर्देशिका जारी गरेपछि अधिकांश सङ्क्रमितको पहिलो रोजाइ होम आइसोलेसन हुने गरेको छ ।

शुरुमा सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गरेकाले पनि सङ्क्रमित होम आइसोलेसनमा बस्न थालेको सरोकारवाला बताउँछन् । दशैँ तिहारजस्ता ठूला चाडपर्वका कारण पनि सङ्क्रमितले होम आइसोलेसन राजेको हुनसक्ने स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताउनुभयो ।