आयातमा सुधार पछी भन्सार असूली एक अरब

आयातमा सुधार पछी भन्सार असूली एक अरब

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २६, २०७७

रसुवागढी । नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने सामग्रीको परिमाण बढेसंँगै भन्सार  असूलीमा क्रमिक सुधार आउन थालेको छ । कोभिड– १९ का कारण बन्द  अन्तरराष्ट्रिय रसुवागढी नाका गत असारदेखि पुनः सञ्चालनमा आएपछि चीनबाट आयात हुने मालसामग्रीको परिमाण केही मात्रामा बढ्न थालेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

आयातिन सामानको परिमाण बढेसँंगै   चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म भन्सार शुल्कवापत करिब   एक अरब  राजश्व संकलन भएको  प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । आयात भएका सामग्रीमा जुत्ता, चप्पल, तयारी पोशाक, शिशुका खेलौना, विद्युत्का उपकरणलगायत छन् ।

चिनियाँ व्यवसायीले दैनिक पाँच ठूलो ट्रेलरमार्फत  मितेरी पुलसम्म मालसामग्री ल्याउने गरेको जनाइएको छ । दैनिक स्वास्थ्य परीक्षण एवं सामाजिक दूरीको पालना गराई नेपाली कन्टेनरमा सामान लाद्न र रसुवागढीदेखि टिमुरेमा रहेको भन्सार हातासम्म कन्टेनर ल्याउन मजदूर  तथा चालकको व्यवस्था गरिएको भन्सार कार्यालयले जनाएको छ । सामान लाद्नका लागि ३३ मजदूर एवं कन्टेनर सञ्चालन गर्न १७  चालकको व्यवस्था मिलाइएको छ ।

केरूङदेखि रसुवागढीसम्म सामान ढुवानी गर्ने चिनियाँ भन्सार प्रतिनिधिले चर्को भाडा असुल्ने गरेका कारण व्यवसायी मर्कामा परेको  गुनासो बढेको छ । रसुवागढी नाका पुनःसञ्चालनमा आएसंँगै चिनियाँ ढुवानीकर्ताले कायम गरेको केरूङदेखि रसुवागढीसम्मको भाडादर पछिल्लो समयमा भारी मात्राले वृद्धि गरेको हुँदा पुनरवलोकनका लागि पहल गरिदिन सम्बन्धित  निकायसमक्ष आग्रह गरिएको स्थानीयवासी सुनामवाङ्दी तामाङले बताउनुभयो ।